गाउँपालिकालाई समृद्ध वनाउन हरप्रयास

कर्णाली प्रदेशअन्तर्गत दैलेख जिल्लाका चार नगरपालिका र सात गाउँपालिकामध्ये ठाँटीकाँध गाउँपालिका दैलेख जिल्ला निर्वाचन क्षेत्र नंं. २ मा पर्दछ । पूर्वमा चामुण्डाविन्द्रासैनी नगरपालिका, उत्तरमा कालीकोट जिल्लाको कालिका गाउँपालिका, पश्चिममा दैलेखको आठबीस नगरपालिका र दक्षिणमा चामुण्डा विन्द्रासैनी नगरपालिका र आठबीस नगरपालिकाको वीचमा अवस्थित ठाँटीकाँध गाउँपालिका प्राकृतिक सम्पदा, साधन स्रोतमा सम्पन्न भएर पनि आर्थिक रूपले कमजोर रहेको छ । नेपाल सरकारले गरेको वर्गीकरणमा अति दुर्गम गाउँपालिका हो ठाँटिकाँध । यस गाउँपालिकाको जम्मा क्षेत्रफल ९०.७५ वर्ग किलोमिटर छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस गाउँपालिकाको जम्मा जनसंख्या १८ हजार ८ सय ९६ रहेको छ । जल, जमिन, जंगल, जडिबुटी, जंगली जनावर, एवं उर्वर भूमि रहेको यो गाउँपालिका पूर्व, पश्चिम, उत्तर, दक्षिण गोलाकार भू–धरातल भएकोे गाउँपालिका हो । यस गाउँपालिकाको उत्तरी क्षेत्रमा रहेको वन जंगलका कारण पानीका प्रशस्त स्रोतहरू, जडिबुटी, जंगली जनावर पाइनुका साथै स्याउ खेती र अलैँची, खेतीको संभावना समेत रहेको छ । लेकाली क्षेत्रमा पाइने नीलम ढुंगा र जौचौरमा भएको तामाखानी एवं तिरुवा टोलको फलाम खानीको उत्खनन् गर्न सकेमा ठाँटीकाँध गाउँपालिका मात्र होइन, समग्र दैलेख जिल्ला र सिंगो प्रदेश अनि नेपालकै आर्थिक अवस्था सुधारमा टेवा पुग्ने संभावना बोकेको गाउँपालिका हो ठाँटीकाँध । प्रस्तुत छ मातृभूमीकर्मी सँग गरिएको कुराकानी ।
तपाँईले स्थानीय तहको निर्वाचन हुँदै गर्दै आम मतदाताकावीच गरेका प्रतिवद्धता कति कार्यान्वयन भए ?
गाउँपालिका आर्थिक र भौतिक रुपले सम्पन्नशाली गाउँपालिका वनाउने लक्ष्य हामीले लिएका छौँ र त्यसै अनुरुप काम पनि गरिरहेका छौँ । वडा तहमा पर्याप्त सडकहरू छैनन्, ती बाटाहरू जोडेर ६ वटा वडाहरूमा हामी पाँच वर्षभित्र जनताका कामहरू गर्न सहज बनाउनेछौँ । सडकको विकास एउटा आधार भएको हुनाले हामीले यसलाई पहिलो प्राथमिकतामा राखेका छौँ । कृषि, पशु, शिक्षा, स्वास्थ्य, खानेपानीमा पनि उत्तिकै ध्यान दिएका छौँ । प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रको स्तरोन्नति गरेर २५ शैयाको बनाउने लक्ष्य लिएका छौँ । यस विषयमा निर्णय पनि गरिसकेका छौँ । गाउँपालिका र वडा तह लागेर विद्यालयलाई व्यस्थित बनाउन र विद्यालय शिक्षामा सुधारका लागि हामीले योजना बनाइरहेका छौँ । कृषिमा एक घर एक करेसाबारी तरकारी खेती गर्ने गरी बिउको व्यवस्था मिलाएका छौँ । कर्मचारी अभावका कारण हामीले वडाहरुमा विभिन्न समूह गठन गरेका छौँ । कृषि र पशुलाई माथि उठाउन सकियो भने आर्थिक अवस्थामा सुधार हुन्छ । खानपानमा पनि सुधार हुन्छ भन्ने हाम्रो सोचाइ छ । ठाँटीकाँध गाउँपालिकामा सबैभन्दा ठूलो समस्या खानेपानीको छ । खानेपानीको समस्या समाधान गर्नका लागी हरप्रयास गरेका छौँ ।
आगामी दिनमा गाउँपालिकालाई समृद्ध वनाउनका लागी यहाँहरुले कस्ता खालका योजनाहरु वनाउनु भएको छ ?
ठाँटिकाँध गाउँपालिकालाई समृद्ध वनाउनका लागी यहाँ बहुमूल्य सिलेट खानी छ । वन, जंगल पर्याप्त मात्रामा छ । गाउँपालिकाभित्र फलफूल खेतीको त्यतिकै संभावना छ । पर्यटकका लागि त्यतिकै मात्रामा उल्लेखनीय ठाउँ छन् । सुन्दर भू–भागहरू छन् । विशेष गरेर कृषि क्षेत्रलाई नै अगाडि बढाउने सोचिरहेका छौँ । यहाँका संभावनाको खोजी र तिनको पहिचान गरेर अगाडि बढिहेका छौँ । यसरी हाम्रो गाउँपालिका समृद्धिको योजना वनाईरहेका छौँ ।
ठाँटिकाँध गाउँपालिकाका मुख्य चुनौतिहरु के के हुन् ?
सामाजिक हिसाबले शिक्षाको क्षेत्रमा त्यति ठूलो फड्को मारेको अवस्था छैन तर पनि हामी जसरी लागिरहेका छौँ, यसले केही सुधार गर्छ । मुख्य कुरा बालबालिकाको क्षेत्रमा समस्या छन् । महिलाका समस्या छन् । छाउपडी प्रथा भएका कारण गाउँपालिकाले त्यससम्बन्धी जानकारी गर्न र स्थानीय धामी झाँक्रीलाई समेत प्रशिक्षण दिएर त्यस प्रथाको न्यूनीकरणका लागि आवश्यक बजेट विनियोजन गरी कार्यान्वयनको चरणमा छौँ । पछिल्लो समयमा बालविवाह बढ्दो क्रममा छ । त्यसका लागि हामीले विद्यालयस्तरमा सचेतनाका कार्यक्रमहरू अगाडि बढाइरहेका छौँ । सामाजिक समस्याको रूपमा मुख्य कुरा त घरेलु मदिरा उत्पादन हो । पहिलो गाउँसभाबाटै व्यवस्थित गरी नियन्त्रित गर्ने र त्यसलाई जथाभावी प्रयोग गर्न दिने किसिमले हामी लागेका छौँ ।
निर्वाचनको बेला बाँडेका आश्वासन र जनअपेक्षा अनुसार काम गर्न सक्नु भएन भन्ने आरोप छ नि ?
हामी निर्वाचित भएको भर्खर पुगनपुग दुई वर्ष हुन लागेको छ । एक÷दुई वर्षभित्र कुनै जादूको छडी छैन । हामीले परिवर्तन गर्न एक वर्षमा कानुन निर्माण लगायतका कुरामा समय खर्च भयो । गाउँपालिकामा कर्मचारीको अभाव छ, प्रदेश तथा संघसँग बाझिने कानुनको टुंगो लागेको छैन । यस्तो अवस्थामा हामीले विकासका खाका ल्याएकै छौँ । कामको सुरुवात गरेकै छौँ । यस वर्षबाट विकासका लागि खर्च भएका कुराहरूको महसुस जनताले गर्नेछन् । यो समयमा सबै पूरा नभएता पनि सुधारात्मक कामहरू र चुनावमा गरेका प्रतिबद्धताहरूकै जगमा टेकेर काम सुरु गरेका छौँ । कार्यकाल सकिने बेलासम्म धेरै कुराको परिवर्तन हुन्छ ।

ठाँटिकाँध गाउँपालिकाका अध्यक्ष धिरवहादुर शाही

यस गाउँपालिकामा रहेका पर्यटकिय क्षेत्रको प्रचार प्रसारका लागी यहाँहरुले के कस्ता योजनाहरु वनाउनु भएको छ ?
यस गाउँपालिकामा रहेका पर्यटकिय क्षेत्रको प्रचार प्रसारका लागी हामीले गाउँपालिका भित्रिने नाकाहरु लगाएत मुख्य–मुख्य ठाउँमा पर्यटकिय क्षेत्रका नाम लेखीएका होर्डिङ्ग वोर्ड राखिसकेका छौँ । अझ हामीले यी क्षेत्रको प्रचारप्रसारका लागी प्रचार पम्पलेट छाप्ने, व्रोसरहरु छाप्ने र विभिन्न सञ्चार माध्यामवाट प्रचारप्रसार गर्ने योजना वनाएका छौँ । साथै हामीले गाउँपालिकाको डकुमेन्ट्रि निर्माण गर्न लागेका छौँ । यसवाट पनि प्रचारप्रसारमा सहयोग पुग्ने आशा लिएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *