रोल्पाको थवाङवाट ठगिदै दैलेखका कृषक

मातृभूमी संवादाता । १३ माघ, दैलेख
यहाँका विभिन्न गाउँपालिका तथा नगरपालिकाका कृषकहरुलाई चर्को मूल्यमा फलफुलका विरुवा विक्रि गरी रोल्पाको एक कम्पनीले ठगी गर्ने गरेको पाइएको छ । रोल्पाको थवाङ कृषि कम्पनीले दैलेखको नौमूले गाउँपालिकाका कृषकहरुलाई उन्नत जातको फलफुलका विरुवा भन्दै चर्को मुल्य असुल्ने गरेको पाइएको हो ।
नौमूले गाउँपालिका ३ द्धारीका कृषकहरुले उन्नत जातको फलफुल भनी खरिद गरेको र अन्य निकायमा दररेटको वारेमा बुझ्दा आफुहरु ठगिएको स्थानीय कृषक कालो रावतले वताए । कम्पनीले माटो परिक्षण नगरी फलफुल विक्रि गरेको र लगाउने विधि समेत नसिकाएको कृषक रावतले गुनासो गरे ।
उक्त कम्पनीले वाहिरवाट विरुवाहरु ल्याएको भन्दै स्थानीय नर्सरीवाट सस्तो दरमा फलफुलका विरुवा खरिद गरी कृषकहरुलाई विक्रि समेत गरेको खुल्न आएको छ । सो कम्पनीको दररेट अनुसार केरा प्रतिवोट रु. २ सय, मौसमी प्रतिवोट रु. १ सय ८५, कागती प्रतिवोट रु. १ सय ८५, अलैंची प्रतिवोट रु. ८७ रुपैया, ओखर प्रतिवोट रु. २ सय ८५ र टिमुर प्रतिवोट रु. २ सय रुपैया रहेको छ ।
कृषि मन्त्रालयको सरकारी दररेट अनुसार नर्सरीवाट उपलब्ध हुने दर केरा प्रतिवोट रु १५, मौसमी प्रतिवोट रु ३५, कागती प्रतिवोट रु ३५, अलैंची प्रतिवोट रु ५ देपखि ७ रुपैया, ओखर प्रतिवोट रु ५० रहेको जिल्ला कृषि ज्ञान केन्द्र दैलेखका प्रमुख शिवप्रसाद आचार्यले वताए । प्रमुख आचार्यका अनुसार सरकारी दररेटमा नर्सरीमै खरिद गर्न सकिने र विक्रि वितरण गर्ने स्थलसम्म ढुवानी जोडेर २० प्रतिशत भन्दा वढि नाफा लिन पाइदैन ।
नौमूले गाउँपालिका ३ द्धारीका वडा अध्यक्ष गगनबहादुर रोकाले कम्पनीले वडामा कुनै पनि सहकार्य र जानकारी विना काम गरी कृषकलाई ठगेकाले यसको विषयमा अफुले छानविन गर्ने वताए । यस्तै नौमूले गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले सरकारी दररेट भन्दा वढि रकम असुली गर्ने कम्पनीलाई गाउँपालिकामा काम गर्न नदिने चेतावनी दिए ।
सरकारी दररेटमा लागत मुल्य जोडेर २० प्रतिशत भन्दा वढि नाफा लिन नमिल्लने प्रावधान रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद वास्कोटा वताउँछन् ।
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले सरकारी दररेट भन्दा वाहिर गए यसको नियमन गर्ने र यस्ता विषयमा प्रावधान अनुसार नियमन गर्ने वताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *