क्रिकेट टोलीको स्वागतमा विशिष्ट पदाधिकारी विमानस्थल जाने ।।

मातृभूमी संवादाता । २१ माघ काठमाण्डौ
यूएई विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्कंदै छ । दुईवटा श्रृंखला जितेर फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागतको तयारी भइरहेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष पिताम्बर तिमिल्सेनाका अनुसार क्रिकेट टोलीको स्वागतका लागि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष तिमिल्सेना लगायतका पदाधिकारी त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम रहेको छ ।
यसैबीच नेपाली युवा बलर सन्दीप लामिछाने भने राष्ट्रिय टोलीका साथ आज नेपाल नफर्कने भएका छन् । घरेलु टोली यूएईविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र तीन खेलकै टी–२० शृङ्खला समान २–१ ले जितेको थियो । दुवै शृङ्खलाको सुरुवाती खेल गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई शृङ्खला आफ्नो पक्षमा पारेको थियो ।
नेपाली टोलीका लागि दुवै शृङ्खला ऐतिहासिक शृङ्खलासमेत रहेको थियो । नेपालले पहिलो पटक एकदिवसीय र टी–२० शृङ्खला जितेको हो । यो प्रतियोगितामा नेपालका दुई खेलाडीले विश्व कीर्तिमान समेत बनाएका छन् । रोहितकुमार पौडेल एकदिवसीयमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बनेका छन् । उनले भारतका पूर्व ब्याट्सम्यान सचिन तेन्दुलकर र पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको रेकर्ड तोडेका थिए । यस्तै सन्दीप जोरा टी–२० मा अर्धशतक बनाउने कान्छो खेलाडी बने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *