रकम नभएको चेक दिएको भन्दै शिक्षक विरुद्ध मुद्धा

मातृभूमी संवादाता । २० माघ दैलेख
चिनेजानेका शिक्षकले सापटी भनी लिएको रकम फिर्ता नगरेपछि सापटी दिएकी एक महिलाले असुलीका लागि अदालतलाई गुहार मागेकी छिन् । नौमूले गाउँपालिका–२ गोरुजुरे बालुवाटारकी २६ वर्षीया एकल महिला तुलसीकुमारी मल्ल शाहीले अदालतसंग गुहार मागेकी हुन् ।
ती महिलाबाट २०७४ भदौ ११ गते बैंक चेकबाट सापटी लिने व्यक्ति ठाँटीकाँध गाउँपालिका–१ लकान्द्रका जीवराज रेग्मी हुन् । उनी पेशाले शिक्षक हुन् । जग्गाको काम प¥यो, २–३ महिनामै फिर्ता गर्छु भनी लिएको ५० हजार रुपैंयाँ असुल उपर गरी पाऊँ भन्दै ती महिलाले माघ १० गते दैलेख जिल्ला अदालतमा उजूरी गरेकी हुन् ।
सामान्य उजूरी मात्र नभई उनले चेक अनादर गरेको समेत उल्लेख गरेकी छिन् । लामो समयसम्म रकम फिर्ता माग्ने प्रयास असफल भएपछि तुलसीले सामुदायिक सेवा केन्द्र दैलेखमा निवेदन दिएकोमा रकम नभएको बैंक खाताको ५० हजार रुपैंयाँको चेक दिएको भन्दै चेक अनादर र आफ्नो रकम असुलीको विषयमा उक्त उजूरी गरेकी हुन् ।
राष्ट्रिय बाणिज्य बैंक दैलेख शाखामा जीवराज रेग्मीको आफ्नै नाममा रहेको बैंक खाताको चेक तुलसीले नै पाउने गरी गएको पुस ४ गते चेक जारी गरिएको त्यो खातामा सो रकम भुक्तानी गर्न सकिने बराबरको रकम नभएको भन्ने व्यहोरा बैंकले प्रमाणित गरी दिएपछि पीडित महिलाले त्यस्तो उजूरी गर्न सजिलो परेको हो ।
कुनै व्यक्तिले दिएको चेक बराबरको रकम खातामा नभएको कारण साट्न नसकिएको अवस्थामा बैंकले हप्ता–हप्ताको समयान्तरमा तीन पटकसम्म पनि रकम नभएको भनी चेकको पछिल्तिर लेखी प्रमाणित गरेको आधारमा चेक अनादरको मुद्दा चल्न सक्छ । कसैले दिएको चेक तीन पटक भन्दा बढी समयसम्म साट्न नसकिएमा बैंक आफैले पनि प्रतिवेदन तयार गरी चेक अनादरको मुद्दा चलाउन सक्छ ।
दैलेखमा चेक अनादरको यो दोश्रो मुद्दा हो । व्यक्तिले आपसी सहमतीमा कारोबार गर्ने र पछि असुली हुन नसकेपछि मात्र अदालत आउने भएको कारण यसलाई दुनियावादी मुद्दाको रुपमा लिइन्छ ।
आरोपित रेग्मीले आफू एपिडाइटिसको अपरेशन गरेर बेड रेष्टमा भएको कारण भेट्न नसकेको तर उजूरी परेको अवस्थामा पनि रकम फिर्ता खोज्दा तुलसीको मोवाइलमा सम्पर्क हुन नसकेको र मध्यस्त नातेदार मार्फत भेट्ने प्रयास गरिरहेको बताए । तुलसीले जानेर वा नजानेर आफ्नो मोवाइल नम्वर ब्लक–लिष्टमा राखेकोले सोझै टेलिफोन सम्पर्क हुन नसकेको सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *