सांस्कृतिक विविधताले नेपालीलाई एक सूत्रमा बाँध्न महत्वपूर्ण योगदान ः प्रधानमन्त्री ओली

मातृभूमी संवादाता । २२ माघ काठमाण्डाै
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक विविधताले नेपालीलाई एक सूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको बताए । तामाङ जातिले मनाउने सोनाम ल्होछार पर्वका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले विविध सांस्कृतिक परम्परा र संस्कृतिले नेपाललाई विश्वमा अलग पहिचान दिएको बताए । प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा “नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो । यहाँ हरेक जातजातिका आआफ्नै परम्परा, चाडपर्व, वेशभूषा रहेका छन् । मुलुकमा बसोबास गर्ने सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सद्भाव र सम्मान छ ।”
वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य राखेर अघि बढेको स्पष्ट पार्दै उनले यस यात्रामा देशका सबै जातजाति, धर्म र सम्प्रदायको योगदान अपेक्षित रहेको बताए । प्रधानमन्त्रीले भने “हाम्रा सांस्कृतिक पर्व, भेषभूषा मार्फत पनि समृद्धिको अभियानमा टेवा पु¥याउन सकिन्छ । यस्ता सम्पदालाई पर्यटक आकर्षण गर्ने माध्यमका रुपमा समेत विकास गर्न सकियो भने हाम्रो संस्कृति पनि जीवित रहन्छ । यस्ता सम्पदाको अवलोकनका लागि स्थानीयस्तरमा पुग्ने पर्यटक मार्फत आयआर्जन गर्न पनि सकिन्छ ।” प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकाना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *