अब एक वर्षभित्रमा देशैभर फोरजी सेवा

मातृभूमी संवादाता । २४ माघ काठमाण्डाै

नेपाल टेलिकमको फोरजी/एलटिइ सेवा विस्तारका लागि आइतबार सम्झौता भएको छ । संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरीद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यससम्बन्धी छुट्टाछुट्टै सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटिइ तथा सिसिएसआइका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको हो । फोरजी–एलटिइ सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क(र्‍यान)का लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता भएको हो ।

सेवा विस्तार भए पश्चात् टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरलीका रुपमा सञ्चालन गरी ग्राहकलाई आ–आफ्नो रुचि र आवश्यकताअनुसारका सेवा छनोट गर्ने अवसर प्राप्त हुनेछ । नेपालभर ६५ लाख क्षमताको फोरजी–एलटिइ विस्तारका लागि एउटा कोर नेटवर्क र दुई र्‍यान नेटवर्क तयार गरिने छ । मुख्य कोर नेटवर्क काठमाडौँ र बुटवलमा रहने विज्ञप्तिमा उल्लेख छ ।

“र्‍यान नेटवर्क अन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ ।  सम्झौतापश्चात् एक वर्षभित्रमा परियोजना सम्पन्न हुनेछ”, विज्ञप्तिमा भनिएको छ । टेलिकमले देशमै पहिलो पटक २०७३ साल पुस १७ गते काठमाण्डाै उपत्यका र पोखरामा फोरजी/एलटिइ सेवा सञ्चालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *