भेनेजुएलाका विषयमा आफ्नो वक्तव्यमा अडिग छु, अरु कुनै कुराको अर्थ छैन : अध्यक्ष दाहाल

मातृभूमी संवादाता । २४ माघ चितवन

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुएलाका विषयमा आफूले जारी गरेको विज्ञप्तिमा अडिग रहेको बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यो वक्तव्य एउटा राजनीतिक वक्तव्य भएको स्पष्ट पारे । एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्देश्यले विज्ञप्ति जारी गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले थपे  ‘परराष्ट्र मन्त्रालयबाट जुन स्टेटमेन्ट जारी भयो त्यो पनि मूलतः त्यही स्प्रिटमा नै आयो ।’

मंगलबार प्रधानमन्त्री समेतको उपस्थितिमा सचिवालयको बैठक बसेर पनि हस्तक्षेपको विरोधमा नै विज्ञप्ति जारी भएकाले अब अरू कुराको अर्थ केही नलाग्ने उनले बताए । पार्टी र परराष्ट्र मन्त्रालयबाट पनि स्पष्ट पारिसकेको उनले उल्लेख गरे । आफूले विज्ञप्ति जारी गरिसकेपछि केही मिडियामा फसाइयो भनेर आएपछि पुनः स्पष्टसमेत पारिएको उनले बताए ।

प्रधानमन्त्री ओलीले बुधबार राति टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ मा दाहालको भेनेजुएलासम्बन्धी वक्तव्यमा ‘अलिअलि चिप्लिएको’ भन्दै असन्तुष्टि जनाएका थिए । जवाफमा अध्यक्ष दाहालले प्रधानमन्त्रीले कुन अर्थमा त्याे कुरा भन्नु भएको हो आफूलाई थाहा नभएको उल्लेख गर्दै त्यस सम्बन्धमा पार्टीको सचिवालय बैठकबाट पनि भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोध गर्ने वक्तव्य आइसकेकाले त्यसमा व्यक्तिले के भन्छ भन्ने कुराको कुनै अर्थ नरहने पनि स्पष्ट पारे ।

अर्को एक सन्दर्भमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री देशबाहिर भएका बेला विभिन्न देशका राजदूतहरुले शान्ति प्रक्रियाका विषयमा जारी गरेको विज्ञप्तिलाई नेपालको मामिलामाथिको अनावश्यक चासोको अभिव्यक्ति भएको दाहालले टिप्पणी गरे । दाहालले सरकारले नागरिकको पक्षमा नयाँ–नयाँ काम गरिरहेको बताए । उनले भने  ‘सरकारले लगातार गति पक्रन थालेको छ । तपाईं हेर्दै जानुस् केही समयपछि अझै तीव्रता पाउँछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *