भेरी–बबई डाइभर्सन आयोजना एक महिनामै सुरुङको काम सकिदै

सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण लक्ष्य अगावै सम्पन्न हुने भएको छ । नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको टनेल बोरिङ मेशिन (टिबिएम) ले भेरी बबईको ११.१ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरेको छ । भेरीको पानीलाई १२ किमी लामो सुरुङमार्फत बबईमा खसालेर विद्युत उत्पादन गर्ने र बाँके–बर्दियामा सिंचाइ सुविधा पु¥याउने उद्देश्यले सरकारले राष्ट्रिय गौरवका रुपमा यो आयोजना अघि बढाएको हो ।

आयोजनाले अबको एक महिनामा बाँकी नौसय मिटर सुरुङ निर्माण गरिसक्ने जनाएको छ । कुनै प्रतिकूल परिस्थिति सिर्जना नभए फागुन अन्तिमसम्म सुरुङ निर्माण पूरा हुने भेरी–बबई डाइभर्सन आयोजनाका इन्जिनियर हरी खनालले जानकारी दिए । टिबिएमले रिस्क जोनसमेत पार गरिसकेपछि सुरुङ निर्माणमा सहज भएको खनालले बताए । गतिले काम अघि बढे सम्झौता अवधिभन्दा एक वर्ष अगावै सुरुङ निर्माण भइसक्ने खनाल बताउँछन् । सरकारले सन् २०२० मार्चसम्म सुरुङ निर्माण गर्ने लक्ष्य लिएको छ ।

अमेरिकी कम्पनी रोबिन्सले उत्पादन गरेको टिबिएम चालकरहित अत्याधुनिक प्रविधिको मेशिन हो । गत वर्ष कात्तिक मसान्तदेखि मेशिनले सुरुङ खन्न थालेको हो । चाइना ओभरसिज इञ्जिनीयरिङ गु्रप लिमिटेड (कोभेक) ले सुरुङ निर्माण गरिरहेको छ । आयोजना बाँध र विद्युतगृह निर्माणको पूर्वतयारीमा जुटेको छ । हाल सिंचाइ विभागले बाँध र विद्युतगृह निर्माणसम्बन्धी प्रतिवेदनलाई अन्तिम रुप दिएर टेण्डर आह्वानको प्रक्रियामा गइएको आयोजनाले जनाएको छ । दुई ठूला संरचना निर्माण हुने भएकाले विभागले विस्तृतमा अध्ययन गर्नमा केही समय लागेको आयोजनाको भनाई छ ।

दैनिक औसत ४० मिटर खनिरहेको टिबिएमले रिक्स जोन क्षेत्र तोली खोलामा दैनिक १०–११ मिटर मात्रै खनेको थियो । ‘रिस्क जोन पार गरेपछि दु्रत गतिमा बाँकी काम पनि अघि बढाएका छौं,’ इञ्जिनीयर हरी खनालले भने, ‘ड्याम र पावरहाउसको काम अघि बढ्ने प्रक्रिया छ ।’ छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत पर्ने चिप्लेमा बाँधस्थल बन्नेछ । चिप्लेस्थित मेसिनको हेड निस्कने स्थलमा निर्माणको काम जारी छ । पहिलो चरणमा सुरुङ निर्माण, दोस्रो चरणमा विद्युत् उत्पादन र तेस्रो चरणमा बाँके–बर्दियामा सिंचाइ योजना विस्तार गरिनेछ । चिप्लेबाट १५ मिटर अग्लो बाँध बनाई प्रतिसेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिनेछ । त्यहीँ पानीबाट बबई किनारमा ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ । बबईमा खसालिएको पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिंचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य छ ।

स्वदेशी लगानीमा निर्माण हुने लागेको आयोजनाको कूल लागत र साढे १६ अर्ब लाग्ने अनुमान छ । बाह्रै महीना सिंचाइ उपलब्धताबाट कृषि उत्पादन बढ्न गई आयोजनाबाट वार्षिक रु ३ दशमलव १ अर्ब अप्रत्यक्ष तथा विद्युतबाट रु दुई दशमलव १ अर्ब प्रत्यक्ष आम्दानी हुने अनुमान छ ।

साभार ः वुलवुले अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *