तरकारी खेतीले बढायो दोब्बर आम्दानी

सुर्खेतको मालारानीमा स्थानीय किसानको बारीमा फलेको टमाटर खेती। फोटोः अन्नपूर्ण

सुर्खेत : धेरै जग्गा भए पनि उत्पादन थोरै हुने। दुःख गरेर लगाइएको अन्नबालीले वर्षभरी खान नपुग्ने। न रोजगारी, न त आम्दानीको अर्को कुनै उपाय। कुनैबेला सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित मालारानीका किसानलाई एउटै समस्याले पिरोल्थ्यो, वर्षभरीको छाक कसरी टार्ने ?

तर हिजोआज यहाँका किसानले भाग्य बदलेका छन्। जब स्थानीयले परम्परागत अन्नबाली छाडेर त्यही जग्गामा तरकारी खेती सुरु गरे, तब उनीहरूको आम्दानी दोब्बर भयो। धान र गहुँको खेती छाडेर व्यवसायिक रुपमा तरकारी उत्पादनमा लागेपछि यहाँका बासिन्दाको आयआर्जन वृद्धि भएको हो।

विगतमा वर्षभरी खान नपुग्ने र पेट भर्नकै लागि भारतमा मजदुरीका लागि जान बाध्य भएकाहरुले हिजोआज तरकारी बेचेरै बैंक र सहकारीमा बचत गर्न थालेका हुन्। तरकारी खेतीबाट आम्दानी दोब्बर हुन थालेपछि यहाँका किसानको दिनचर्या पनि फेरिएको छ।

गुर्भाकोट नगरपालिका–२ मालारानीस्थित विमला कँडेलको परिवारले अन्नबाली छाडेर अहिले पाँच रोपनी जग्गामा व्यवसायिक तरकारी खेती सुरु गरेको छ। विगतमा त्यही जग्गामा अन्नबाली लगाउँदा वर्षभरी यो परिवारलाई खाद्यन्न किन्नुपर्ने बाध्यता थियो। तर अहिले त्यो समस्या हटेको छ।

‘दिनभरी बारीमै विताएर खेती गर्दा पनि पर्याप्त उत्पादन हुदैन्थ्यो’ विमला भन्छिन्, ‘अन्नबालीमा खेती गर्दा धेरै दुख भयो, तर त्यसले परिवारलाई छाक टार्न कहिल्यै पुगेन। अहिले अन्नबाली लगाउँने पुरै जग्गामा टमाटर, काउली, बन्दा र सिमीलगायतका मौसमी तथा बेमौसमी तरकारी खेती गर्न थालेका छौं, यसबाट दोब्बर आम्दानी भइरहेको छ।’

निर्वाहमुखी खेती गर्दा आम्दानी नहुने र अभावमा बाच्नुपर्ने बाध्यता थियो। तर डेढ वर्ष यता व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेपछि उनको परिवारमा आम्दानी बढेको हो। वर्षमा एक लाख ५० हजार रुपैयाँ मुनाफा हुन्छ। तरकारी खेतीबाटै परिवारले घर खर्च चलाएको छ। आठ जनाको परिवारका लागि भरपर्दो आम्दानीको स्रोत बनेको छ, यही तरकारी खेती।

‘छोराछोरी पढाउने र दैनिक घरखर्च चलाउनेलगायतको खर्च तरकारीबाटको आम्दानीले गर्छौँ’ उनले भनिन्,‘सम्पूर्ण खर्च गर्दा पनि केही रकम बचत गरेका छौं।’ घर खर्चबाट बचेको पैसा बैंक तथा सहकारी र विभिन्न समूहमा मासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक रुपमा बचत समेत गर्ने गरेको उनले सुनाइन्।

अन्नबाली लगाउने जग्गामा तरकारी खेती सुरु गरेपछि स्थानीय सीता भण्डारीले पनि मासिक रुपमा रकम बचत गर्न थालेकी छन्। तीन रोपनी जग्गामा उनको व्यवसायिक तरकारी खेती छ। ‘व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेदेखि पैसाको अभाव भोग्नु परेको छैन’ उनी भन्छिन्,‘छोराछोरीलाई स्कुलको पोसाक किन्दासमेत ऋण खोज्नुपर्ने अवस्थाबाट हामीले मुक्ति पाएका छौं।’

विमला र सीताको परिवार मात्र होइन्, पछिल्लो समयमा यहाँका अधिकांश किसान व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन्। छोटो समयमा राम्रो आम्दानी हुन थालेपछि विगतका वर्षमा निर्वाहमुखी खेती गर्दै आएका किसान व्यवसायिक तरकारी खेती गर्न थालेका हुन्। समूहमार्फत उनीहरूले तरकारी खेती गरिरहेका छन्।

आफ्नै बारीमा रोजगारी हुने र आर्थिक सहायता हुने भएकाले अन्नबाली त्यागेर स्थानीयले तरकारी खेती थालेका छन्।

गाउँमा तरकारी उत्पादन बढेपछि विक्रीका लागि मिलिजुली तरकारी बजार व्यवस्थापन समिति नै गठन गरिएको छ। समितिमार्फत नै किसानले उत्पादन गरेको तरकारी विक्री हुन्छ। स्थानीय किसान राम वलीले भने, ‘तरकारी उत्पादन बढेको छ, अब हामीलाई बजार चाहिएको छ।’ तरकारी उत्पादन बढेपछि किसानको सहजताका लागि सुन्दर नेपाल संस्थाले अनुकुलन परियोजना अन्तर्गत गाउँमै संकलन केन्द्र स्थापना गरिदिएको छ।

अहिले संकलन केन्द्रले नै किसानबाट तरकारी खरिद गरिदिन थालेको संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र कँडेलले बताए। साताको सोमबार र बुधबार किसानबाट तरकारी खरिद गर्ने गरिन्छ। यो संकलन केन्द्रमा तीन सय ६० जना व्यवसायिक तरकारी खेती गर्दै आएका किसानहरु आवद्ध छन्। यहाँबाट उत्पादन हुने तरकारी बोटेचौर, मेहेलकुना र छिन्चुसम्म पुग्ने गरेको छ।

अन्नपुर्णपाेष्टवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!