दैलेखमा वालिक आमाको स्थीति भयावह
भिम वहादुर सिजापति । २९ माघ दैलेख
दैलेखमा झण्डै ५१ प्रतिशत आमाहरु २० वर्षमुनीका रहेको एक तथ्यांकले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय दैलेखका जनस्वास्थ्य निरिक्षक नन्दालाल जैसीका अनुसार दैलेखमा ५१ प्रतिशत आमाहरु २० वर्ष मुनीका रहेको पाइएको हो । दैलेखमा कलिलै उमेरमा आमा हुनेको संख्या झन् भयावह रहेको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ ।
यस्तै पश्चिम आठविस नगरपालिकाको पिपलकोटमा बच्चा जन्माउन नसक्दा १५ वर्षीया कृष्ण कसेराले सुत्केरी हुन नसकेर ज्यान गुमाउनुप¥यो । नवजात शिशुको समेत मृत्यु भयो । उनले १३ वर्षमा विवाह गरेकी थिइन् ।
यसैगरी केहि महिनाअघि जिल्ला अस्पतालमा नारायण नगरपालिका ९ की १५ वर्षीया दीपा शाहीको शल्यक्रिया मार्फत प्रसूति गराईयो । उनीहरू मात्र होइन, २० वर्षमुनिका अधिकांश गर्भवतीलाई बचाउन शल्यक्रिया मार्फत प्रसूति गराउने गरिएको छ । जिल्ला स्वास्थ्यको पछिल्लो तथ्यांक हेर्ने हो भने बालविवाहको अवस्था भयानक देखिन्छ । आमा बन्ने उमेर २० वर्षमाथि भए पनि ५१ प्रतिशत भन्दा बढी कलिला उमेरका किशोरी आमा हुने गरेको देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दैलेखका अनुसार चालु आर्थिक वर्षको हाल सम्मको तथ्यांकमा १३ वर्षमाथि र २० वर्षमुनिका ४० प्रतिशत आमा बनेका छन् । जिल्ला स्वास्थ्य प्रमुख डा. निरञ्जन पन्तका अनुसार उनीहरूमध्ये अधिकांशको अप्रेसनबाट प्रसूति गराइएको छ । डा. पन्तका अनुसार कलिलै उमेरमा आमा बन्न तयार भए पनि जन्माउन नसक्दा आमा र शिशुको ज्यान बचाउन अप्रेसन गर्नुपर्ने अवस्था रहेको छ ।
‘आफ्नै स्याहारसुसारमा ध्यान दिन नसक्ने कलिला बालिका र किशोरी आमा बन्न तयार त हुन्छन्,’ उनले भने, ‘तर जन्माउन नसक्दा आमा र बच्चा दुवैको ज्यान जोगाउन अप्रेसन गर्नुपर्ने हुन्छ ।’ केहीलाई गर्भवती अवस्थामा कतिपटक जाँच गर्ने भन्ने समेत थाहा नहुने उनले बताए । यही कारण मातृ मृत्युदर बढ्ने गरेको छ । अस्पतालमा आएका कतिपय गर्भवती आमा गर्भावस्थामा खानपान र स्याहार सुसारमा ध्यान नदिने अवस्थाका हुन्छन् जसले शिशुको स्वास्थ्यमा समेत असर पारिरहेको छ । दैलेखमा अहिले ६८ प्रतिशत २० वर्षमुनिका बालबालिकाले बिहे गरेको तथ्यांक सार्वजनिक भएको छ ।
गैरसरकारी संस्थाहरु र नेपाल प्रहरीको सहकार्यमा गत वर्षमा मात्र एक हजार ९३ बालविवाह रोकिएको थियो । अधिकारकर्मी राधा मल्लका अनुसार अपरिपक्व उमेरमा विवाह गरेकाले बढ्दो उमेरसँगै केटा वा केटीले बहुविवाह गर्ने क्रम बढ्दै गएको छ ।
घरपरिवारको नियमित रेखदेख र शिक्षा स्वास्थ्यजस्ता कुरामा ध्यान दिनसके बालविवाह कम हुने र कलिलै उमेरमा आमा बन्ने संख्यामा कमी आउने नारायण नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख माधुरी न्यौपानेले बताउछन् । समाजको पुरातन सोचमा परिर्वतन ल्याए मात्र बालविवाहको घटनामा कमी आउने वुद्धिजीवीहरुको भनाई रहेको छ । यसरी कलिलै उमेरमा विवाह गरी आमा वन्दा घरेलु हिंसा वढ्नु, वेरोजगार हुनु, गरिवी वढ्नु, सम्वन्ध विच्छेद जस्ता घटनाहरु वढ्दै जानु वालविवाह र वालिक आमाको कारण भएको वताउँछन् ।