सडकमा वर्षेनी करोडौँ खर्च, हालत उस्तै

दैलेख सदरमुकामकाे सरस्वती वृदा अाश्रम नजिक केहि समय अगाडी गरिएकाे कालाेपत्रे सडक केहि समयमै उप्किएकाे । -तस्विर : मातृभूमी

मातृभूमी संवादाता । ८ फागुन दैलेख
सियाकोटदेखि दैलेख बजारसम्म सडक स्तरोन्नति गर्न गत वर्ष सडक डिभिजन कार्यालयबाट १ करोड ८० हजार रुपैयाँ विनियोजन भयो ।
निर्माण कम्पनीलाई स्तारोन्नति सहित नाली र कालोपत्रेको जिम्मा दिइयो । सत्यवती निर्माण सेवाले गरेको कालोपत्रे एक सातामै उप्कियो । अहिले खाल्डाखुल्डी मात्रै छन् ।
चुप्रा–कोटिला–मुल्की दुल्लु जाने सडकमा सडक मर्मत र स्तरोन्नतिका लागि गत वर्ष ५० लाख खर्च भयो । तर, देखिने काम केही नभएको स्थानीय बताउँछन् । सडक विभागको फितलो अनुगमन संयन्त्रका कारण मर्मतका नाममा आएको रकम सदुपयोग हुन सकेको छैन । जिल्लामा आफ्नै कार्यालय नहुनु, ठेकेदार र प्राविधिकको मिलामतो, गुणस्तरहीन सामग्रीको प्रयोगलगायत कारणले मर्मतको काम प्रभावकारी हुुन सकेको छैन ।
आव २०७३÷०७४ मा सडक डिभिजन कार्यलय सुर्खेतले सुर्खेत–दैलेख सडकमा ५ करोड ३१ लाख र सुर्खेत–जुम्ला सडकमा १७ करोड २८ लाख रुपैयाँ छुटयाएको थियो । यो रकमले ठेकेदारले सडकमा झारा टार्ने काम गरेका छन् । ‘सडक मर्मतका नाममा बर्सेनि करोडौं खर्च हुन्छ,’ स्थानीयले भने, ‘रकम सदुपयोग नहुँदा सडक सधैं हिलाम्मे र धूलाम्मे हुन्छ ।’ स्थानीयका अनुसार आर्थिक वर्षको अन्त्यमा गुणस्तरहीन काम हुँदा सडकको अवस्था नसुध्रिएको हो ।
सुर्खेत–दैलेख खण्डमा सडक साँघुरो हुँदा दुर्घटना पनि बढेको प्रहरीको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुर्खेतका अनुसार ६ महिनाको अवधिमा सुर्खेत–दैलेख खण्डमा २५ जनाले दुर्घटनामा ज्यान गुमाइसकेका छन् । यो अवधिमा १ सय १२ जना घाइते भएको तथ्यांक छ ।
स्थानीय तहद्वारा ३५ करोड खर्च
गत आवमा जिल्लाका ११ स्थानीय तहले सडकमा ३५ करोड रुपैयाँ खर्च गरेका छन् । ३५ करोड खर्चेका अधिकांश सडकमा गाडी सञ्चालन हुन सकेको छैन ।
सडकमा ४ करोड विनियोजन गरेको गुराँस गाउँपालिकाका अधिकांश गाउँमा अझै गाडी पुग्न सकेका छैनन् । चामुन्डा विन्द्रासैनी नगरपालिकाले पनि गत वर्ष ४ करोड ७६ लाख, दुल्लुले ४ करोड ५० लाख, नारायणले ५ करोड र आठबिस नगरपालिकाले २ करोड ३३ लाख खर्च गरेका थिए । त्यस्तै भगवतीमाईले ४ करोड ८३ लाख, नौमुलेले ३ करोड, डुंगेश्वर गाउँपालिकाले ४ करोड ७९ लाख रुपैयाँ सडकमा सकेका थिए ।
हरेक स्थानीय तहमा ४ जनासम्म प्राविधिक छन् । तर डोजर चालकले भनेअनुसार सडक खनिने भएकाले ती सडक कामविहीन बनेको स्थानीयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *