माओवादीले पुरानो सत्ता ढाल्यो तर नयाँ बनाउन सक्दैन भनेर छोडें : भट्टराई

मातृभूमी संवादाता । १० फागुन दैलेख
पूर्वप्रधानमन्त्री नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले माओवादी बिद्रोहबाट राजा फालेर गणतन्त्र ल्याउन सकिन्छ भनेर मात्र आफू त्यतिबेला माओवादी पार्टीमा लागेको बताएका हुन् ।
असल राजनीति र समावेशी विकासका लागि जनसम्वाद नाम दिएर थालिएको एक महिने अभियानको क्रममा शुक्रवार दैलेख सदरमुकाममा भएको सुशासन र सदाचार अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा खुलाएका हुन् ।
भट्टराईले भने ‘सानैदेखि नै देश विकासको चिन्ता थियो, आर्किटेक्चर इञ्जिनियर पढेर पनि राजनीति सुधार्न राजा हटाउन माओवादीमा लागें अहिले लक्ष्य पूरा भयो त्यो पार्टी छोडें ।’
उनले भने ‘त्यही बिचारबा राजा ढाल्न सकिन्छ भनेर माओवादी भएँ, संघीय लोकतान्त्रिक संविधान घोषणा गर्ने बेलासम्म सहभागी भएँ । त्यो युग सिद्धियो, ती बिचारले पुरानो भत्काउन सक्यो तर नयाँ बनाउन बिचार, शैली र शैलीबाट अघि बढ्न खाजेको हो ।’
राजनीतिक परिवर्तन पछिका केही कार्यशैलीगत कमजोरीका कारण सोचेजस्तो विकास हुन नसकेको उनको टिप्पणी छ । ‘हामीले पहिलो आफैलाई रुपान्तरण गर्न सकेनौं, दोश्रो लोकतान्त्रिक संस्कृति बन्न सकेन, तेश्रो बिधिको शासन हुन सकेन र चौथो कुरा केही संस्थागत सुधार गर्न जरुरी छ । अख्तियार आयोगकै जस्तै संस्थागत सुधार गर्न नसके सुशासन र सदाचार हुन सक्दैन’ पूर्वप्रधानमन्त्री भट्टराईले भने ।
बेलैमा ध्यान नदिए ५० वर्षसम्म पनि देश विकासको स्थिति यस्तै रहनसक्ने खतरा औंल्याउदै विज्ञान र प्रबृद्धिले हाम्रा पुरातन बिश्वासहरु भत्काएको कारण आशा जगाएको व्याख्या गर्दै उनले भने ‘त्यसका लागि हामी आफै रुपान्तर हुनपर्छ भनेर आफैलाई बुझ्ने र आफैलाई बदल्न यो अभियानमा हिंडेका हौं ।’
१० वर्ष अघि आफू अर्थ मन्त्री भएको बेला भट्टराईले बजेट बिनियोजन गरेको पुष्पलाल राजमार्गको पूर्वको पाँचथर चिवा भञ्ज्याङ्गदेखि बैतडीको झुलाघाटकै रुटमा पर्ने २९ जिल्लाहरुमा मात्रै पुग्ने गरी तय गरिएको एक महिने अभियानको क्रममा दैलेख २५ औं जिल्ला हो ।
मध्यपहाडी क्षेत्रबाट सहरी सुविधाका लागि तराईमा बस्ती सर्ने क्रम बढेपछि मध्यपहाडी क्षेत्रमा सहरी बिकास र सहजताका लागि बन्न लागेको पुष्पलाल राजमार्गबाट नै यात्रा गर्दा यसको विकास अवस्था बुझ्न र काम हेरे सन्तुष्टी लिन यो रुटको यात्रा गरिएको उनले प्रष्ट्याए ।
त्यसबखत स्थानीय राजनीतिक दल, शिक्षक, बुद्धिजिबी, नागरिक समाज र सर्वसाधारण सबैले सशस्त्र युद्धकालमा भएको मानवीय तथा भौतिक क्षतिको दोषबाट नयाँशक्ति उम्कन हुने, पीडितको न्याय र परिपूरणका लागि दायित्व लिनुपर्ने, सामाजिक तथा साँस्कृतिक समस्याका विषयलाई समेत जनसम्वादको विषय बस्तु समेट्न खुला छलफलको क्रममा सुझाव आएका थिए ।
२०४८ मा प्रतिनिधिसभा साँसद हुदा, २०६५ मा अर्थ मन्त्री हुँदा र २०६८ मा प्रमुख कार्यकारी पद देशको प्रधानमन्त्री भएको बेला समेत कहिल्यै दौरा–सुरुवाल नलगाएका पूर्व प्रधानमन्त्री डा. भट्टराईले खस राज्यमा आएर बिहीवार जाजरकोटमा पहिलो पटक खस पहिरेको दौरा–सुरुवाल दैलेखको कार्यक्रममा पनि त्यही पहिरनमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *