एउटा गीतले देशै हल्लायो

काठमाण्डाै

लुट्न सके लुट् कान्छा लुट्न सके लुट्
अरू देशमा पाइँदैन नेपालमै हो छुट

लोकगायक पशुपति शर्माको शब्द, संगीत र स्वरमा यो गीत सार्वजनिक हुनेबित्तिकै धेरै स्रोता-दर्शकले सामाजिक सञ्जालमा ‘गीतले देशको वास्तविकता उतारेको’ प्रतिक्रिया दिइरहेका थिए।गीतको तरंग बालुवाटारसम्म पुग्यो।

दुई तिहाईको शक्तिसहित सत्ता चलाइरहेको दल नेकपाले ‘लुट्न सके लुट्’ गीतले ‘योजनाबद्ध हिसाबले कम्युनिस्ट पार्टीलाई खुइल्याइएको’ अर्थ लगायो।नेकपाको भातृ संगठन युवा संघ नेपालले ‘पशुपति शर्माका कार्यक्रमहरू ठाउँ–ठाउँमा बहिष्कार गर्न’ कार्यकर्तालाई आह्वानसहित धम्कीको शैलीमा विज्ञप्ति जारी गर्दै भन्यो– ‘समयमै आफ्ना ज्ञात–अज्ञात गम्भीर त्रुटि सच्याउन अनुरोध गर्छु अन्यथा यो असह्य प्रस्तुतिका कारण एक चर्चित कलाकारको करिअरमा असर पर्न सक्ने कदमका लागि हामी बाध्य हुनु नपरोस्।’

गीत सार्वजनिक भएको भोलिपल्टै फोन र विज्ञप्तिमार्फत यस्ता चेतावनी आएपछि शर्माले फेसबुकमा ‘मेरो नियत कसैको चित्त दुखाउने नभई विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो’ भन्दै स्ट्याटस लेखे।गीतका केही शब्दलाई लिएर असन्तुष्टि आएकाले पछि शब्द परिमार्जन गरेर पुनः गीत सार्वजनिक गर्ने वाचा गर्दै युट्युबबाट गीत हटाए।

युट्युबबाट गीत हटाइएपछि स्रष्टाको ‘अभिव्यक्ति स्वतन्त्रताको हनन्’ भएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा–परिचर्चा भयो।यो राष्ट्रिय बहसको विषय बन्यो।

यो विषयमा धेरैजसोले पशुपतिले देशमा भएकै कुरा गीतमार्फत उठाएकाले विरोध गर्नुको कुनै अर्थ नरहेको बताएका छन् भने केहीले गीत, साहित्य भनेको सोझै नभनेर घुमाउरो पारामा भनिनुपर्नेमा गाईजात्रा जसरी सीधै भनिएकाले समस्या आएको बताएका छन्।पुराना लोकगायक कुमार बस्नेत गीत गाएकै भरमा कला र गलालाई बन्द गर्नु खोज्नु गलत भएको तर्क गर्छन्।भन्छन्, ‘कलाकारले समाजमा देखे, भोगेका कुरा गाउने हुन्, तिनलाई रोक्न खोज्नु गलत हो।’

गीतको भिडियोमा एउटा युवाले डिग्री पास गरेर पनि परिवारका लागि केही गर्न नसकेको, देशमै केही गर्न खोज्दा पार नलागेको संवादसहितका दृश्य छन्।भिडियोमा गीत सुरु हुनुअघि सर्जक तथा कलाकार पशुपति शर्माले भनेका छन्ः

पञ्चायत सुनेँ, बहुदल र गणतन्त्र भोगेँ।तर, अहँ, देश र जनताको निःस्वार्थ रूपले माया गर्ने न त कुनै नेता भेटेँ न त अरू कोही।त्यसैले त भन्न मन लाग्यो–

लुट्न सके लुट कान्छा लुट्न सके लुट।
अरु देशमा पाइँदैन नेपालमै हो छुट।

सडकदेखि सदनसम्म गीतको चर्चा

गीतको चर्चा कलाकारबीचमा मात्र सीमित रहेन।युट्युबबाट गीत हटाइएपछि माइतीघर मण्डलामा त्यही गीत घन्काउँदै नारा लाग्यो, ‘गीत बन्द होइन, भ्रष्टाचार बन्द गर।’

सामाजिक सञ्जालबाट सडकमा पुगेको यो गीतको बहसलाई राजनीतिक दलले पनि बहसको विषय बनाए।विवेकशील साझा पार्टीको युवा संगठनले गीत हटाउन बाध्य पारेर कलाकारको अपमान गरिएको भन्दै विज्ञप्ति जारी गर्‍यो।उसले नेपालको संविधानको धारा १७को उपधारा २ (क)को विचार र अभिव्यक्तिको हक, धारा १९को उपधारा १ को सञ्चारको हकको प्रतिकूल कलाकारको अपमान भएको विज्ञप्तिमा उल्लेख गरेको थियो।

नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेरै नेकपाको युवा संघको कार्य गलत भएको दाबी गर्‍यो।पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘दुई तिहाईको सरकार एउटा गीतले थरर कामेको’ बताए।

सडकबाट राजनीतिक दल हुँदै यो गीत संसद्सम्म पुग्यो।कांग्रेस सांसद अमरेशकुमार सिंहले संसद्मा फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ सम्मानस्वरूप पुरस्कार दिने घोषणा नै गरे।

नेकपा सांसद झपटबहादुर रावलले त्यसको ठाडै प्रतिकार गरे।पशुपतिले सुशील कोइरालाको पालामा ‘अमेरिका नि यही’ गीत गाएको तर अहिलेको सरकारलाई राक्षस, यमराज, कुकुरको संज्ञा दिएर देश लुट्न प्रेरित गरेर गाएको आरोप लगाए।‘यसमा उनको अज्ञानता वा नियत भन्ने ठानेको थिएँ।एक जना प्रतिपक्षका सांसदले पुरस्कार दिने घोषणा गरेपछि रहस्य बाहिर आएको छ,’ उनले व्यंग्य शैलीमा भने, ‘पुरस्कार घोषणा गर्ने सांसदलाई यही गीत गाउनुभयो भने म एक महिनाको पारिश्रमिक उहाँलाई दिने घोषणा गर्छु।’

एउटा गीतको विषयलाई लिएर सडकदेखि सदनसम्म यति ठूलो बहस भएको नेपालमा सम्भवतः पहिलो पटक हो।
शासकका गलत काम र विकृतिका विषयमा सबैभन्दा धेरै गीत कम्युनिस्टहरूले नै रचेका, गाएका छन्।संगीतमार्फत सांस्कृतिक सचेतना फैलाउन भन्दै कम्युनिस्टहरूले संघर्षको एउटा मोर्चाका रूपमा कलाकारहरूको समूह नै बनाउने गरेका छन्।तर, नेपालमा दुईतिहाइको कम्युनिस्ट सरकार रहेकै बेला गीतको विषयमा विवाद उत्पन्न भएपछि स्वाभाविक रूपमा राष्ट्रिय बहसको विषय बन्न पुग्यो।

यही गीतको विषयलाई लिएर मिडियामा पनि विभिन्न धारणा आए।कसैले अभिव्यक्ति स्वतन्त्रताको कुरा उठाए भने कसैले पशुपतिले कलाको नाममा राजनीति गर्न खोजेको आरोप लगाए।

गीत हटाइएको विषयलाई लिएर एपीवान टेलिभिजनले विशेष कार्यक्रम नै प्रसारण गर्‍यो।जसमा पशुपतिलाई धम्कीको शैलीमा विज्ञप्ति निकाल्ने युवा संघका अध्यक्ष रमेश पौडेल, संगीत विश्लेषक प्रकाश सायमी र नेपालका कम्युनिस्ट इतिहासको विषयमा पीएचडी गरेका राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी निम्त्याइएका थिए।

कार्यक्रममा बोल्दै रमेश पौडलले गीतको सन्दर्भलाई लिएर ‘यो देश असफल बनाउन केही मान्छेहरू लागि परेको’ आरोप लगाए।

संगीत विश्लेषक सायमीले युवा संघको विज्ञप्ति ‘तालिवानको फतवा’ जस्तै भएको भन्दै भने, ‘गीतमा हेलिकप्टर, यमराज र कुकुरको कुरामा आपत्ति हो तर व्यंग्यमा काव्यात्मकको त्यति मज्जा आउँदैन।ठाडैभन्दा मज्जा हुन्छ।’

डा. सुरेन्द्र केसीले यो गीत आफूलाई नेपाली संगीत जगत्मा एकदम सुन्नलायक गीत लागेको तर्क गर्दै पौडेलसँग प्रश्न गरे, ‘लोकतन्त्रमा धम्क्याउने ? समय सन्दर्भमा सम्झाउनु अलग कुरा, तर विज्ञप्ति नै निकाल्ने त ?’

पशुपतिमा किन आयो फ्रस्ट्रेसन ?

पशुपतिको ‘मलाई अमेरिका यही’ गीतको देशविदेशमा खूब चर्चा भयो।त्यो बेला युवा संघले नै पशुपतिलाई कार्यक्रममा बोलाएर सम्मान गरेको युवा संघका अध्यक्ष पौडेल बताउँछन्।तर, तिनै पशुपतिले अहिले देशको अवस्थाबारे गाउँदा युवा संघ उनलाई बहिष्कार गर्न तम्सियो।

पशुपतिले एउटा अन्तरवार्तामा भने अनुसार ‘अमेरिका यही’ गीत सुनेपछि धेरै युवा देशमा फर्किएर स्वरोजगारमा लागे।तर, उनीहरूले उत्पादन गरेका कृषिजन्य वस्तु अवैध रूपमा भारतबाट भित्रिने वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेर बिक्री भएनन्।त्यसपछि उनले यस्तो गीत गाए।गायक शर्माले एभीन्युज टेलिभिजनमा अन्तरवार्ता दिँदै भनेका छन्, ‘नेपालमा आएर केही गर्ने युवाहरू हुनुहुन्छ।उहाँहरूलाई नेपालमै केही गर्ने वातावरण बनाउनुपर्छ भन्ने व्यंग्य पनि हो।’

भिडियोमा यमराजको शासनका विषयमा झण्डा देखिएको नियतवश नभएको र आफूले भ्रष्टाचार रोकिनुपर्छ, स्वर्गजस्तो ठाउँमा स्वर्गजस्तै शासन हुनुपर्छ भन्न खोजेको उनको भनाइ छ।शर्माले यसलाई ‘अमेरिका यही भाग २’ भन्दा पनि हुने बताएका छन्।‘मेरा आमाबुबा, गरिब जनतासँग कुरा गर्छु, उहाँहरूले भनेका कुरा १०, १२ वर्षबाट जे–जे सुनेको छु, त्यो जस्ताको तस्तै प्रस्तुत गरेको मात्र हुँ,’ उनले भनेका छन्, ‘यो गीतमा जुन भाव, व्यंग्य गरेको छु, यसमा ठूलो पाप गरेँ जस्तो लाग्दैन।म कुनै पार्टीसँग आबद्ध छैन।’

गीतको विषयमा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको भन्दै पुनः अपलोड गर्न शर्मालाई आग्रह गरेको छ।प्रतिष्ठानको बैठकले संगीत विकास बोर्ड अथवा संगीत सेन्सर बोर्ड गठन गर्न सरकारलाई पहिलादेखि आग्रह गर्दै आएको हो।यसपटक फेरि यो माग दोहोर्‍याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!