‘के भुल भयाे र प्रिया…’

काठमाडौं : 

‘के भूल भयो प्रिया मसँग बोल्दिनौ

उज्यालो जुन उघार्दै पर्दा रातको खोल्दिनौ…’

गायक नरेन्द्र प्यासी आफ्नो एकल साँझमा दर्शक भुलाउँदै थिए। चलचित्र निर्देशक यादव खरेलको आतिथ्यमा सुरु भएको एकल साँझमा प्यासीले आफ्ना १४ गीत प्रस्तुत गरे। कार्यक्रममा उनले एकपछि अर्को गर्दै आफ्ना हिट गीत सुनाए। करिब दुई घण्टाको बसाइमा दर्शकले यी गायकका लोकप्रिय गीतमा रम्दै निरन्तर तालीले साथ दिए।

उनले दोस्रो गीत तिमीले दिने माया…गाए। यो गीतमा उनलाई महिला स्वरमा शिला विष्टले साथ दिइन्। एकपछि अर्को गर्दै गायक प्यासीले तिमी बिनाको जीवन, तिम्रो दिलमा चोट लाग्दा, म त तिम्रो मान्छे बन्न सकिन जस्ता गीत सुनाए।

प्यासीले एउटा परदेशी आयो, मनलाई, माया ओ माया, जाम क्यारे उडेर गीत गाए। आफ्ना प्रथम संगीत गुरु अम्बर गुरुङसहित अग्रज कलाकारप्रति साँझलाई समर्पण गर्दै गायक प्यासीले एकलसाँझ सुरु गरेका थिए। ‘नरेन्द्र प्यासी एकल सांगीतिक साँझ– २०७५’ मा गायक प्यासीलाई प्रत्यक्ष वाद्यवादनमा दिनेशराज रेग्मी, दीपक थापा, सुरज प्रधान, अनुप दास, कुमार महाराज, भरत बुढाथोकी, सुधीर चौधरी, रविन कार्की, रूपेश सिंह, रत्न विक र भुवन गन्धर्वले साथ दिएका थिए।

विगत ६ वर्षदेखि अमेरिका बस्दै आएका गायक प्यासी यही एकल साँझका लागि काठमाडौं आएका हुन्। सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले आयोजना गरेको सो कार्यक्रममा संस्थानका तर्फबाट गायक प्यासीलाई सम्मानित गरिएको थियो। नेपाली गायन क्षेत्रमा विगत चार दशकभन्दा लामो समयदेखि सुगम संगीतबाट योगदान पुर्‍याएको भन्दै एकल साँझको आयोजनासहित प्यासीलाई सम्मानित गरिएको संस्थानका महाप्रबन्धक राजेश थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *