वैकल्पिक राजनीतिको जग

विश्वदिप पाण्डे

नेपालमा विद्यमान परम्परागत राजनीतिक शक्तिहरूले बोकेको परम्परागत विचारधारा, ती दलहरूको नेतृत्वको आर्थिक अपारदर्शीता र भद्रगोल संगठनात्मक कार्यशैलीले अबको नेपाली राजनीतिको नयाँ गोरेटो कोर्न सक्दैन । समृद्घ नेपालको नेतृत्व गर्न पनि सक्दैन भन्ने स्पष्ट बुझाइका साथ नयाँ शक्ति पार्टीको घोषणा भएको हो । यद्यपि, यस पार्टीका संयोजक डा. बाबुराम भट्टराईलगायतले नेपालमा नयाँ शक्तिको खाँचो छ भनेर पाँच वर्षदेखि नै बहस चलाउँदै आउनु भएको थियो ।

नयाँ शक्ति स्थापना गर्नुभन्दाअघि सोचेको र अहिलेसम्मको अनुभवको आधारमा भन्नुपर्ने हुन्छ, नयाँ राजनीतिको बाटो सहज र बनिबनाउ हुँदैन । फल लागिसकेको वृक्षबाट फल टिप्नु र नयाँ बीउ रोपेर हुर्काउनुमा आकाश जमिनको फरक छ । यतिखेर नयाँ विचारसहितको नयाँ राजनीतिको बीउ रोपेर हुर्काउन नयाँ शक्ति अहिले मध्य पहाडका गाउँहरूको एकमहिने यात्रामा निस्केको छ । जसलाई हामीले ‘जनसंवाद यात्रा’ को नाम दिएको छौं । मध्यपहाडी÷पुष्पलाल लोकमार्गको पूर्वी सिमाना पाँचथरको चिवाभञ्ज्याङबाट माघ १५ मा सुरु भएको यो यात्रा फागुन १५ मा पश्चिम सिमानाको बैतडीको झुलाघाटसम्म पुगेर समापन हुनेछ ।

असल राजनीति

आधुनिक नेपाली इतिहासमा भएका धेरैजसो राजनीतिक आन्दोलनहरू पूर्वाद्धमा असल नियतकै साथ सुरु भए पनि आन्दोलनका उपलब्धि संस्थागत गर्ने र आमनागरिकको जीवनस्तर सुधार गर्नुपर्ने चरणमा असफल भएका छन् । त्यसको मुख्य कारण यसका प्रमुख पात्रहरूको भ्रष्टीकरण हो । पछिल्लो कालमा माओवादीले सञ्चालन गरेको सशस्त्र संर्घषको उद्देश्य नेपाली समाजमा व्याप्त असमानता हटाई, सामाजिक न्यायसहितको समुन्नत समाज निर्माण गर्नु थियो । तर, अहिलेसम्म आइपुग्दा नेपालमा उथलपुथल ल्याउने त्यो आन्दोलन सकिएको छ ।

यसका मुख्य सञ्चालकहरू विभाजित भइसकेका छन् । यसको एउटा हिस्सा यथास्थितिको सत्तामा रमाएर त्यसको चास्नीमा डुबुल्की मारिरहेको छ । त्यसका मुख्य नेतृत्वलाई वर्तमान राजनीतिले लाभ दिइरहेको छ । तर, जुन उद्देश्य र नियतका साथ आन्दोलन उठेको थियो त्यो प्राप्त हुन सकेको छैन । त्यसैले देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि जनताको जीवनमा त्यसले खासै परिवर्तन ल्याउन सकेन ।

यथास्थितिको सत्तामा रमाएर आफ्नो नाफाको हिस्सा सुरक्षित गर्न पल्केको नेतृत्वबाट अब त्यो सम्भव पनि छैन । त्यसका लागि असल राजनीति चाहिन्छ । आफूलाई सकारात्मक हिसाबले बदल्न सक्नुपर्छ । त्यो माओवादी आन्दोलनका शीर्ष केही नेताहरूबाट सम्भव नदेखेपछि हामीले केही पुरानै राजनीतिक आन्दोलनका पात्रहरू र केही विल्कुल नयाँ पात्रहरू मिलेर नयाँ र असल राजनीतिको जग बसाल्न वैकल्पिक राजनीतिक अभियान चलाएका हौं ।

नेपालको सन्र्दभमा दुईखाले राजनीति भइरहेको छ । पुराना दलहरूको बुझाइमा राजनीति भनेको अहिले भइरहेको जस्तो पक्ष–विपक्षमा विभाजित हुनु, चुनाव लड्नु, बल र शक्ति हुनेले अनेक तिकडम लगाएर चुनाव जित्नु अनि चुनाव जितेपछि आफ्ना बाचा भुल्नु, आफू, परिवार, नातागोता, कार्यकर्ता पोस्नु रहेछ ।

जुन खराब राजनिति हो । तर, हाम्रो बुझाइमा राजनीति भनेको समग्र आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणका लागि गरिने कर्म हो । राजनीति त समस्याहरूको पहिचान र प्राथमिकता चयन गर्नु, त्यसको समाधान गर्नु, सबै जनतालाई समस्याको चंगुलबाट मुक्त गराएर जनतालाई खुसीयाली दिनु हो । विडम्बना नेपालमा राजनीतिको नक्कली संस्करण मात्रै सधैं हावी छ ।

आमरूपमा मानिसमा भ्रम छ, राजनीति भनेको फोहोरी खेल हो । किनभने उनीहरूले सफा खेल हेर्ने मौका नै पाएका छैनन् । हामीले यात्राको क्रममा पाएको महत्वपूर्ण शिक्षा नै त्यही हो । धेरैलाई अहिले चलिआएको राजनीतिको चित्र दिमागमा आइरहेको छ । विडम्बना, असल राजनीति विकास गर्न हामीले सकेका रहेनछौं । जनतालाई हामीले भनेको असल राजनीतिलाई बुझ्न अप्ठेरो भइरहेको छ । जनताको बुझाइमा हामीले भनेको असल राजनीति पनि पात्र बदल्ने मात्रै त हो नि भन्ने छ । तर, असल राजनीतिले पात्र मात्रै होइन प्रवृत्तिमै फेरबदल ल्याउँछ भन्ने बुझाउन आवश्यक छ । आम रूपमा गढेर बसेको पुरानो खराब राजनीतिप्रतिको आशक्तिलाई फेर्न हामीले आफूलाई अझै रुपान्तरित गर्दै लैजानुपर्ने रहेछ ।

समावेशी विकास

संविधान जारी भएपश्चात् नेपाली राजनीतिको एउटा युग अन्त्य भएर अर्को युगमा प्रवेश गरेको अवस्था छ । अब नेपाली राजनीतिको भाग २ सुरु भएको छ । अब समावेशी विकासले मात्रै नेपालको समस्या हल गर्छ भन्ने हाम्रो बुझाइ हो । हामीले पार्टी स्थापना घोषणा गर्दा नारा तय गरेका थियौं– अबको निकास, आर्थिक विकास । पछि हामीले आफ्नो नारामा थोरै परिमार्जन गर्‍यौं– अबको निकास, समावेशी विकास । समावेशी विकास भनेको सबै वर्ग, समुदाय, क्षेत्र, उमेर, लिंग भाषाभाषी सबै अल्पसंख्यक समुदायका लागि समान किसिमको विकास हो ।

आर्थिक विकासले खाली आर्थिक वृद्धिदर र उदारवादी अर्थतन्त्रले भन्ने आर्थिक विकासलाई मात्रै बुझाउँछ । यसले धनी र गरिबको दुई समूह निर्माण गर्दा उत्पन्न भएको विकराल समस्या यसको अभ्यास गर्ने देशहरूमा हामीले देखिसकेका छौं । सबैको समान ढंगले विकास हुनुपर्छ भनेरै समावेशी विकास भनेका हौं । यस्तो विकासले मात्रै लोकतन्त्रलाई जगैदेखि बलियो बनाउँछ । जनसंवाद यात्राको क्रममा हामीले देखेको नेपालको असमान क्षेत्रगत, जातिगत र जन्मगत आर्थिक असमानतालाई हल गर्न समावेशी विकास नै चाहिन्छ ।

पात्रहरूप्रतिको आशंका

धेरैमा नयाँ शक्ति पार्टीमा लाग्ने केही पुराना राजनीतिक पात्रलाई लिएर आशंका जन्मिएको पायौं । यो आशंका पनि अहिलेको राजनीतिको गलत संस्करणको मञ्चनले गर्दा नै जन्माएको हो । पहिले एउटै पात्रले फरक फरक राजनीतिक दलमा लागेर धेरैपटक व्यक्तिगत लाभ लिएको सन्दर्भ हामीसँग भएकाले गर्दा आम मानिसमा यस्तो आशंका हुनु स्वाभाविक हो । तर, नयाँ शक्ति पार्टीमा संलग्न पात्रहरू गलत उद्देश्यबाट प्रेरित होइनन् । जसरी एउटा फिल्मका सबै कलाकारहरू अर्को फिल्ममा हुँदैनन् ।

पुराना फिल्मका केही पात्रहरू दोहोरिए पनि अर्को फिल्ममा कथा, कलाकारको भूमिका फरक हुन्छ । नयाँ शक्तिले पनि त्यस्तै केही पुराना पात्रलाई पनि नयाँ वैकल्पिक असल राजनीतिको विकासका लागि छानेको मात्रै हो । मुख्य कुरा फिल्मको कथा भएजस्तै राजनीतिको सोच, विचार र व्यवहार हो । हामीले हाम्रो यात्राका क्रममा केही आंशका र प्रश्नहरू पायौं तर फेरि केही पुराना पात्रहरूप्रति जनताको अगाध विश्वास र माया पनि प्रत्यक्ष देख्यौं ।

शक्तिशाली जनता

लोकतन्त्रमा जनता नै शक्तिशाली हुन्छन् र हुनुपर्छ । अहिलेको गलत र भ्रष्ट राजनीतिले भने जनतालाई वास्तविक रूपमा शक्तिशाली मानेकै छैन । सत्ता, शक्ति र अर्थ हुनेको वरिपरि झुम्मिरहने स्वार्थ समूहले आफ्नो स्वार्थलाई तिलान्जली दिएर पारदर्शी र जनउत्तरदायी शासन प्रणाली सुनिश्चित गर्दै जनतालाई बलियो बनाउने आशा राख्न सकिन्न ।

राजनीतिको विडम्बन्ना, व्यवस्थामा फेरबदल आए पनि यस्ता स्वार्थी समूहले आफ्नो स्थान अझै मजबुत पारिरहेका हुन्छन् । स्वार्थ समूहबाट घेरिएको पुरानो भनिएका राजनीतिक पार्टीहरूले जनतालाई सधैं निरीह ठानेका छन् । हामी यो गलत अभ्यासलाई तोड्न चाहन्छौं । जनतालाई सर्वशक्तिशाली बनाउन चाहन्छौं । जनताको असल लोकतन्त्रको विकास गर्न चाहन्छौं ।

हाम्रो जनसंवाद त्यसैका लागि हो । जनताबाट सिक्ने सिकाउने । त्यसका लागि हामीले फरक–फरक समयमा फरक–फरक ठाउँ चयन गरेका छौं । कहिले पूर्वपश्चिम राजमार्गलाई चयन गरेका छौं, कहिले हुलाकी राजमार्र्ग चयन गरेका छौं त कहिले कुनै खास क्षेत्रको चयन गरेका छौं ।

यसपटक एक महिनासम्म मध्यपहाडी लोकमार्गको यात्राको कार्यक्रम बनाएका हौं । आम मानिसमा नयाँ शक्तिप्रति रहेको आशंका हटाउनु र नयाँ असल राजनीतिको बीउ रोप्नु मात्रै यो यात्राको उद्देश्य होइन । उनीहरूसँग साक्षात्कार गरेर उनीहरूको अपेक्षा बुझ्नु र उनीहरूसँग भएको शक्तिलाई जगाउनु यात्राको उद्देश्य हो ।

यो यात्रालाई हामीले जनताको बीचमा जाने, जनतालाई नै सर्वोपरि ठान्ने अभ्यासको निरन्तरताको रूपमा नै सञ्चालन गरेका छौं । यात्रा सञ्चालन गरेर जनतालाई थप भार बोकाएका छैनौं । यात्रामा हुने खर्चका लागि केही पार्टीभित्रकै अभियन्ताहरूबाटै सहयोग संकलन गरेका छौं । यात्रामा सहभागी रहेका पार्टीकै केन्द्रीय नेताहरूबाट पैसा÷सहयोग उठाएका छौं । अभियानको सबै आय व्यय हामी अभियान सकिएपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक पनि गर्ने छौं ।

सकेसम्म जनताकै घरमा बास बसेका छौं तर जनतालाई हामीलाई राख्दा भार नहोस् भन्नेमा सचेत छौं । जनतालाई सहज हुने गरी जनताकै माझमा रहेर जनतासँग संवाद गर्दै अघि बढिरहेको छ हाम्रो जनसंवाद यात्रा । नयाँ शक्ति पार्टीले यस्तो अभ्यासलाई निरन्तरता दिइरहनेछ । साँच्चै नै नयाँ वैकल्पिक असल राजनीतिको विकास नयाँ शक्तिले गर्नेछ, राजनीतिको गलत संस्करण विस्थापित हुनेछ । हामीले त भविष्यको त्यस्तो दृश्य प्रष्टसँग देखिरहेका छौं ।

हामीलाई विश्वास छ, नयाँ राजनीतिको बीउ छर्ने र रोप्ने यस जनसंवाद यात्राबाट हामीलाई आगामी यात्राका लागि सही मार्गनिर्देश गर्नेछ । नेपाली राजनीति २.० अब वैकल्पिक राजनीतिकै जग र अगुवाइमा अगाडि बढ्ने छ । अब यसको नेतृत्व नयाँ शक्ति पार्टीले गर्नेछ ।

पाण्डे नयाँ शक्ति पार्टी नेपालका प्रचार विभाग प्रमुख हुन् । अन्नपुर्णपाेष्टवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *