संकटमा मातृभाषा

डा. दुवि नन्द ढकाल

आज फेब्रुअरी २१। अन्तर्राष्ट्रिय मातृभाषा दिवस। यो दिवस सन् २००० देखि भाषिक र सांस्कृतिक विविधता एवं बहुभाषिकता प्रवद्र्धन गर्ने हेतुले मनाउने गरिन्छ। भाषाले सञ्चार, पहिचान र विकासका लागि दीर्घकालीन महत्त्व बोकेको हुन्छ। भाषा लोप हुँदा यसको सांस्कृतिक र बौद्धिक धरोहरको समेत अवशान हुन्छ। भाषाको मृत्युसँगै त्यस भाषामा अन्तर्निहित ज्ञान, संस्कार, संस्मरण सांस्कृतिक र भाषिक विविधता लोप हुन्छ। भाषिक विविधताले नवीन सोचाइ र यसले संसारलाई हेर्ने नवीन दृष्टिकोणसमेत बोकेको हुन्छ। भाषिक विविधता आफैंमा वैज्ञानिक खोज–अनुसन्धानको विषय हो।

स्तुकनाभ जस्ता भाषाशास्त्रीले कुनै भाषाको संरक्षण गर्नु भाषिक मानव अधिकार नै हो भनेर पनि भन्छन्। डेभिड क्रिस्टलले ल्याङ्वेज डेथ भन्ने हो पुस्तकमा भाषाहरू संरक्षण गर्नुका यस्ता केही आधारभूत कारण उल्लेख गरेका छन्। माथि उल्लिखित बुँदाका अतिरिक्त भाषा पहिचानको पर्याय हुने, भाषा इतिहासको भण्डार भएको, भाषाले मानव ज्ञानमा पु¥याउने योगदान आदिका बारेमा चर्चा गरेका छन्। पहिचानको राजनीति हावी भएको हाम्रो मुलुकमा विगत दुई दशकमा भाषाका सम्बन्धमा धेरै बहस भएका छन्। आजसम्म आइपुग्दा भाषा सम्बन्धमा महŒवपूर्ण संवैधानिक र कानुनी व्यवस्था भइसकेको छ। अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउँदै गर्दा प्रस्तुत लेखमा संकटमा रहेका मातृभाषाका विविध विषयमा चर्चा गर्ने कोसिस गरिएको छ।

संकटापन्न भाषा

संसारमा लगभग सात हजार भाषा बोलिन्छ। भाषा प्रयोगको स्थिति हेर्दा कम्तीमा यिनीहरूमध्येमा आधा भाषा त्यस समुदायका बच्चाले मातृभाषाका रूपमा बोल्दैनन्। नयाँ पुस्ताका बालबालिकाले नबोल्ने। यस्ता भाषाहरू एकदुई पुस्तामा संकटापन्न अवस्थामा पुग्न सक्छन्। यिनै भाषालाई संकटापन्न भाषा मानिन्छ। विविध कारणको संयोगबाट भाषा लोप हुन्छन्। भाषाका वक्ताहरूको कमी मूलतः प्राकृतिक प्रकोपबाट पनि हुन सक्छ। भाषाका वक्ताको अन्य भाषासँगको सम्पर्कले गर्दा हुने भाषिक सम्मि श्रण भाषाको सशक्ततामा ह्रास हुनुको अर्को मुख्य कारण हो। संसारमा बोलिने लगभग सात हजार भाषामध्ये करिब ४३ प्रतिशत भाषाहरू संकटापन्न अवस्थामा छन्। यसमध्येमा थोरै भाषालाई शिक्षा, प्रशासन तथा अन्य यस्तै सार्वजनिक स्थानमा प्रयोगका लागि स्थान दिइएको छ। र यीमध्ये केही भाषा (लगभग एक सय) मात्र प्रविधिमैत्री भएका छन्।

सन् १९९२ मा लिंग्विस्टिक सोसाइटी अफ अमेरिकाले लोपोन्मुख भाषा सम्बन्धमा यसको आफ्नो व्यावसायिक जर्नल ल्याङ्वेजको एउटा विशेषांक प्रकाशन ग¥यो। यसमा माइकल क्राउसको मूल लेख समाविष्ट छ। उनले सो लेखमा यस शताब्दीमा संसारभर बोलिने ९० प्रतिशत भाषाहरू लोप हुने निराशावादी अनुमान गरेका थिए। यही अनुमानलाई आधार मानेर हामीले भाषा प्रयोगको वर्तमान अवस्था हेर्दा संसारमा बोलिने अधिकांश भाषाहरू संकटापन्न अवस्थामा छन् भन्ना गाह्रो छैन। उनले संयुक्त राज्य अमेरिका र क्यानडामा बोलिने कूल १८७ भाषामध्ये १४९ भाषाहरू बालबालिकाले बोल्दैनन् नबोल्ने तथ्यसमेत औंल्याएका छन्। त्यसैगरी डेभिड क्रिस्टलको ल्याङवेज डेथ शीर्षकको पुस्तकमा एक्काइसौं शताब्दीमा पचास प्रतिशत भाषाहरूको लोप हुने अनुमान पेस गरेका छन्। क्राउसका तुलनामा डेभिड क्रिस्टलको अनुमान आशावादी छ। यसलाई आधार मान्दा पनि प्रत्येक दुई हप्तामा एउटा भाषाले मृत्युवरण गर्दै जान्छन्। क्रिस्टलको अनुमानलाई आधार मान्दा पनि संसारमा करिब ५० प्रतिशत भाषा निकै संकटमा रहेका छन्। बालबालिकाले आफ्नाा मातृभाषा नसिकेर ठूला भाषा बोल्दा कम वक्ता भएका भाषाहरू स्वतः संकटमा पर्दै जान्छन्। युनेस्कोले आफ्नो वेबसाइटमा नेपालमा ७१ तथा भारतमा १९७ संकटापन्न भाषाहरू सूचीकृत गरेको छ।

ठूला र साना भाषा

संसारभरि बोलिने भाषाका वक्ताको वितरण समान किसिमको छैन। संसारमा बोलिने भाषाहरूमध्ये अंग्रेजी, चाइनिज, हिन्दी, स्पेनिसजस्ता प्रत्येक भाषाका वक्ता पाँच करोडभन्दा बढी वक्ता छन् र यिनले समग्रमा संसारका बोलिने भाषाको ५० प्रतिशत जति संख्या ओगट्छन्। अर्कोतिर साना भाषाका वक्ताहरू हजार र यसभन्दा पनि सानो संख्यामा सीमित रहेका छन्। नेपालको विगतको जनगणनाको तथ्यांक हेर्दा ठूला १५ भाषाले करिब ९५ प्रतिशत जनसंख्या ओगट्छन् र बाँकी भाषाले मात्र पाँच प्रतिशत ओगट्छन्। सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक तत्वहरू कुनै भाषाका वक्ताको संख्यामा ह्रास आउने वा वृद्धि बनाउन कारक बन्छन्। फलस्वरूप साना भाषाका वक्ताहरूले परिस्थितिअनुसार ठूला भाषामा सम्मीलन हुँदै जान्छन्। यस प्रक्रिया अन्त्यमा भाषाको मृत्यु भएर टुंगिने गर्दछ।

भूमण्डलीकरण र भाषा

वर्तमान भूमण्डलीकरणको युगमा कम वक्ताहरूले बोल्ने भाषाहरूको प्रयोग खुम्चिँदै र साँघुरिँदै जान्छ। भाषाहरूको अभिलेखीकरण हुन नपाउँदै साना भाषाहरू लोप हुने स्थितिमा पुग्छन्। हाम्रै सन्दर्भमा पनि यसलाई महसुस गर्न सकिन्छ। भाषा सिक्नु अथवा कुनै भाषालाई शिक्षामा प्रयोग गर्नु त्यस समुदायका भाषाका वक्ताको पेसागत तथा जीविकोपार्जनसँग जोडेर हेर्ने गरिन्छ। हाम्रो बुझाइ के छ भने कुनै भाषा (जस्तै अंग्रेजी) पढ्दा वा सिक्दा यसले पेसागत अवसर दिन्छ र यसबाट हामीले अन्य व्यक्ति वा समुदायसँग सम्पर्क बढाउन र सम्बन्ध स्थापित गर्न सक्छौं। अन्तर्राष्ट्रिय भाषा प्रयोग गर्दा हामीले अन्तर्राष्ट्रिय आर्थिक एकीकरण र विश्वव्यापीकरण खोजिरहेका हुन्छौं। यसले भाषालाई बजारको वस्तुजस्तो बन्न पुग्छ।

यहाँनेर भाषा संरक्षणमा लाग्ने भाषाका अभियन्ता र कम भाषा बोल्ने समुदायका व्यक्तिको भाषा प्रयोग सम्बन्धमा धारणा बाझिने गर्छ। भाषिक अभियन्ताहरू आफ्नो मातृभाषा प्रयोगमा वृद्धि गर्नुपर्छ भन्छन्। उनीहरू आफ्ना बालबालिकालाई मातृभाषामा शिक्षा दिनुपर्छ भन्छन्। अर्कोतिर अभिभावकचाहिँ आफ्नो मातृभाषाले प्रदान गर्न सक्ने अवसरका बारेमा चिन्तित हुन्छन्। उनीहरूलाई आफ्ना बालबालिकालाई मातृभाषामा पढाउन पाउँदा बालबालिकाले प्रभावकारी किसिमले सिक्ने कुराको महŒव त्यति महŒवपूर्ण लाग्दैन। त्यसको सट्टा आम सम्पर्कको भाषा अथवा अंग्रेजी भाषामा पढ्दा आफ्ना छोराछोरीलाई विभिन्न अवसर मिल्छ भन्ने कुरा उनीहरूलाई लाग्छ। आफ्ना सन्ततिलाई आर्थिक र व्यावसायिक अवसरलाई प्राथमिकतामा राख्ने कि आफ्नो पुख्र्यौली भाषा बोल्ने ? यसबारेमा उनीहरूलाई दुविधा रहिरहन्छ।

भाषा अभिलेखीकरण

कम वक्ता भएका भाषाहरूको क्षयीकरणमा तीव्रता आउने र यी भाषाको पर्याप्त भाषिक विशेषताहरूको संरक्षण गर्न नपाउँदै यी भाषा लोप हुने खतरा भइरहेको अवस्थामा यिनीहरूको संरक्षणका लागि भाषाको अभिलेखीकरण गरिनुपर्छ। प्रविधिको बढ्दो प्रयोगसँगै भाषा ’अभिलेखीकरण’ ले क्रमशः सैद्धान्तिक आकार ग्रहण गर्दैछ। व्यापक अर्थमा भाषा अभिलेखीकरण भन्नाले कुनै भाषाका सामग्रीहरू (व्याकरण, शब्दकोश, पाठहरू) को संकलन र विश्लोषण भन्ने अर्थ हुन्छ। हालका केही वर्षमा गरिएका अभ्यासले भाषा अभिलेखीकरण भन्नाले कुनै भाषाका यथेष्ट श्रव्यदृश्य सामग्रीको संकलन, ती सामग्रीको विश्लेषण र तिनीहरूको लामो समयसम्म प्रयोग गर्न सकिने गरी अभिलेखालयमा गरिने संकलन भन्‍ने अर्थ हुन्छ। केही अन्तर्राष्ट्रिय दाता संस्थाहरूले श्रव्यदृश्य सामग्रीको संकलनमा प्रयोग गरिने उपकरण, ती उपकरणको समग्र विशेषता नै तोकेका हुन्छन्। नेपालका करिब २५ भन्दा बढी भाषाका यस्ता सामग्री विभिन्न विदेशी डिजिटल अभिलेखालय (आर्काइभ) मा संगृ्रहित छन्।

राष्ट्रिय स्तरका गोष्ठी तथा नीति निर्माण छलफल हुँदा यस्ता डिजिटल अभिलेखालय नेपालमा पनि स्थापित हुनुपर्ने, तिनीहरूले नेपालका भाषाका सामग्री उपलब्ध भएमा संकलन गर्न सहज हुने र ती सामग्रीमा हाम्रो पहुँच पुग्ने विषयमा चर्चा सुरु भएको छ। आफ्नो मातृभाषा संरक्षण गर्न धेरै समुदायको तत्परताले नेपालका धेरै भाषाका शब्दकोश निर्माण, व्याकरण लेखन, लेखन पद्धतिको प्रस्ताव तथा अभ्यास तथा त्यस भाषाका विभिन्न प्रकारका पाठहरूको संकलन तथा विश्लेषण गर्ने कार्यले गति लिएको छ। भाषा संरक्षणमा यस्ता कदम निकै सकारात्मक, प्रभावकारी र उत्साहप्रद हुन्छन्। तर अन्तर्राष्ट्रिय अभ्यासअनुसार हामीले भाषा अभिलेखीकरण गरेर त्यसलाई हाम्रै अभिलेखालयमा सञ्चित गर्न भने सफल भएका छैनौं।

भाषा पुनर्जीवीकरण

संसारका केही भाषाका वक्ता नै नहुने स्थिति भयो भने यस्ता भाषालाई संरक्षण गर्न केही गर्ने केकस्ता उपाय हुन्छन् त ? कुनै भाषाका वक्ता तथा बालबालिका अथवा भाषामा भाषिक अपसरण (सिफ्ट) हुने स्थितिमा यस स्थितिलाई रोकी आफ्नै भाषा बोल्ने उत्प्रेरित गर्ने प्रक्रिया भाषा पुनर्जीवीकरण हो। यस्ता कार्यक्रमले भाषिक अपसरण भएको स्थितिबाट आफ्नो मातृभाषा प्रयोग गर्न उत्प्रेरित गर्छ। नेपालमा यस्ता कार्यक्रमको प्रभावकारी नभएको भए पनि विभिन्न मुलुकमा भाषा पुनर्जीवीकरण गर्ने सफल कार्यक्रम भएको पाइन्छ। हामीले गर्ने भाषा अभिलेखीकरणका कार्यक्रमलाई भाषा पुनर्जीवीकरणका कार्यक्रमसम्म समेत जोड्नुपर्नेछ।

अन्त्यमा

नेपालमा बोलिने मूल मातृभाषाहरूको पहिचान संकटापन्न भाषाहरूको अभिलेखीकरण गर्दा र बिर्सनै लागेका केही अति संकटको स्थितिमा पुगेका भाषाहरूका हकमा भाषा पुनर्जीवीकरणका कार्यक्रम गर्न सकियो भने अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाएको बढी सार्थक हुने कुरा निश्चित छ।

ढकाल भाषाविज्ञान केन्द्रीय विभागका सहप्राध्यापक हुन्। अन्नपुर्णपाेष्टवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *