पछि परेको बार्सिलोनालाई मेसीको ह्याट्रिकले बचायो

एजेन्सी : स्पेनिस ला लिगाको शनिबार रातिको खेलमा बार्सिलोनाले रोमाञ्चक जित निकालेको छ । सेभिल्लालाई उसकै घरेलु मैदानमा ४–२ ले पराजित गर्ने क्रममा कप्तान लियोनल मेसी नायक बने ।

पहिलो हाफमा २–१ ले पछि परेको अवस्थामा खेल उल्ट्याउँदै सानदार जित दिलाउन मेसी सफल भए । खेलको २२ औं मिनेटमा जेसुस नाभासको गोलबाट सेभिल्लाले खेलमा अग्रता बनाएको थियो ।  तर चार मिनेटपछि २६ मिनेटमा नै बार्सिलोनाका लागि मेसीले गोल गरी खेललाई बराबरीमा पुर्‍याए । तर ४२ औं मिनेटमा अर्जेन्टिनी खेलाडी गाबरियल मार्काडोले गोल गरेपछि सेभिल्लाले बार्सिलोनालाई पुन २–१ ले पछि  पार्‍यो ।

दोस्रो हाफमा खेलमा फर्कनका लागि निरन्तर प्रयासरत बार्सिलोनाका लागि मेसीले ६७ औं मिनेटमा दोस्रो गोल गरी खेल बराबरी गरे । त्यसपछि ८५ औं मिनेटमा मेसीले ह्रयाट्रिक गोल गर्दा बार्सिलोना ३–२ ले अघि बढ्यो । ९० मिनेट पछिको अतिरिक्त समयमा सुवारेजले गोल गरी टोलीका लागि ४–२ को जित पक्का गरे ।

यस खेलमा गरेको ह्याट्रिक मेसीको जीवनको ५० औं ह्याट्रिक हो । मेसीले ला लिगाको यस सिजनमा मात्रै २५ गोल गरिसकेका छन् ।  जित पछि शीर्ष स्थानमा रहेको बार्सिलोनाको २५ खेलबाट ५७ अंक पुगेको छ । एक खेल कम खेलेका एथ्लेटिको मड्रिडको ४७ र रियल मड्रिडको ४५ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *