हाफ म्याराथनमा कान्छीमायाको ह्याट्रिक

काठमाडौं : पिंकाथन काठमाडौंअन्तर्गत तेस्रो संस्करणको उपाधि एपीएफ क्लबकी कान्छीमाया कोजूले जितेकी छन्।

यस पटक पनि मुख्य प्रतिस्पर्धा हाफ म्याराथनमा कोजू विजयी हुँदै लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गरेकी हुन्। यसअघिका दुई संस्करणमा पनि कान्छीमायाले नै उपाधि जितेकी थिइन्।

कान्छीमायाले निर्धारित दूरी एक घण्टा २१ मिनेट ४४ सेकेन्डमा सकाइन्। नेपाल पुलिसकी राजपुरा पछाई दोस्रो भइन्। एपीएफकी पुष्पा भण्डारी तेस्रो भइन्।

हाफ म्याराथनमा प्रथम हुनेले ५१ हजार नगद पुरस्कार जित्दा दोस्रो हुनेले ३१ हजार तथा तेस्रो हुनेले २१ हजार नगद पुरस्कार हात पारे। यसैगरी १० किलोमिटरतर्फ एपीएफकी सन्तोषी श्रेष्ठ पहिलो, चन्द्रा राउत दोस्रो र सरस्वती कडायत तेस्रो भए।

यो स्पर्धाका विजेताले ३१ हजार, दोस्रो हुनेले २१ हजार तथा तेस्रो हुनेले ११ हजार रुपैयाँ हात पारे। पाँच किलोमिटरतर्फ सामना कार्कीले प्रथम हुँदै ११ हजार नगद पुरस्कार जितिन्।

यसैगरी फूलमती राना दोस्रो भइन् भने काजल विष्ट तेस्रो भइन्। यसपटक २५ सय महिला सहभागी भएको आयोजक संस्था लेजर पोर्ट नेपालका प्रबन्ध निर्देशक नमराज जोशीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!