बम विस्फोटप्रति दुवै विवेकशीलको आपत्ति

मातृभूमी संवादाता । ११ फागुन काठमाडौं

राजधानीसहित देशका विभिन्न ठाउँमा भएका हिंसात्मक विस्फोटप्रति विवेकशील साझा र विवेकशील नेपाली दलले आपत्ति जनाएका छन्। विवेकशील साझाका प्रवक्ता डा. सूर्यराज आचार्य र विवेकशील नेपालीका प्रवक्ता मिलन पाण्डेले विज्ञप्ति सार्वजनिक गर्दै एनसेलको टावरमा भएका विस्फोटप्रति भत्सर्ना गरेका हुन्।

‘द्वन्द्वबाट गुज्रिएको मुलुकमा फेरि यस्ता हिंसात्मक घटना घटित हुन थाल्नु मुलुकको संविधान, विधिको शासन तथा सम्पूर्ण लोकतान्त्रिक प्रक्रिया माथिकै चुनौती, चिन्ता र आपत्तिको विषय हो’, विवेकशील साझाका प्रवक्ता आचार्यले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना असंतुष्टि, मान्यता र गतिविधिलाई लोकतान्त्रिक विधि र प्रक्रियाद्वारा अभिव्यक्त गर्न पाइने संवैधानिक व्यवस्था हुँदा हुँदै हिंसा, हत्या र विध्वंसद्वारा समाजलाई आतंकित पार्ने जोसुकैले गरेका गतिविधि भए पनि विवेकशील साझा पार्टीले घोर निन्दा र भ्रत्सना गर्दै सामाजिक ध्वंसमा विश्वास राख्ने दल या समूहलाई चाँडो भन्दा चाँडो हिंसालाई त्यागेर लोकतान्त्रिक विधि र प्रक्रियामा विश्वास गर्न आह्वान गर्दछ।’

आचार्यले विस्फोटमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जलि दिँदै घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन्। त्यसैगरी विवेकशीलका प्रवक्ता पाण्डेले विस्फोटका घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। ‘हिंसात्मक घटनाप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘हामी विस्फोटको घटनामा संग्लनको यथाशक्य छिटो पहिचान गरी कानुनी कारबाही अघि बढाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ।’  पाण्डेले विज्ञप्तिमार्फत् घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग मागसमेत गरेका छन्।

‘आफ्ना माग शान्तिपूर्ण तवरबाट अघि सार्न हामी सम्बन्धित सबैलाई आग्रह गर्दछौँ। सरकारलाई पनि शान्तिपूर्ण असहमतिका आवजहरुलाई वार्ता र संवादद्वारा जिम्मेवार पूर्ण ढङ्गले सुनुवाइ गर्न अनुरोध गर्दछौँ’, विज्ञप्तिमा थप लेखिएको छ, ‘तर, फेरि यस्ता घटनालाई राजनीतिको संज्ञा दिएर, दोषीलाई राजनीतिक संरक्षण गरिनु विधिको शासनको वर्खिलाप हुने कुरा समेत दोहोराउन चाहन्छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *