भैरवीको वाणगंगामा खानेपानी, स्थानीय खुसी
मातृभूमी संवादाता । १२ फागुन दैलेख
दैलेखको भैरवी गाउँपालिका ३ वाणगंगामा खानेपानी सुविधा पुगेसंगै स्थानीय खुसी भएका छन् । भैरवीगाउँपालिका÷ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा वाणगंगामा खानेपानी पुगेको हो ।
जलस्रोत गुरुयोजना अन्तरगत खानेपानी आयोजना सञ्चालन भएको हो । कुल २७ लाख २५ हजार ४ सय ७५ रुपैयाँको लागतमा खानेपानी योजना सम्पन्न भएको हो ।
वाणगंगा खानेपानी तथा सरसफाई योजनाका अध्यक्ष मोतिलाल अधिकारीका अनुसार खानेपानी योजनाको काम समयमै सम्पन्न भएपछि स्थानीय खुसी भएका छन् ।
आयोजनाले मुहानदेखि करिब १० किलोमिटर पाईप विस्तार गरि गाउँमा १० वटा धारा निर्माण गरेको छ । मुहान रहेको वाणगंगाको पुरातात्विक महत्व भने छुट्टै रहेको छ । पवित्र पानी गाउँमा आएपछि स्थानीयमा खुसीयाली छाएको छ । घर नजिकै खानेपानीका धाराहरुबाट सेवा पाएपछि स्थानीयहरु खुसी भएका हुन् ।
स्थानीयहरु गाउँमा आएको खानेपानीलाई लामो समयदेखी टिकाई राख्न चनाखो भएका छन् । खानेपानी आयोजनाबाट स्थानीय ७ सय १२ घरधुरी लाभान्वित भएका छन् ।
ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना भैरवी गाउँपालिकाका प्रमुख चक्र भण्डारीले फिनल्याण्ड सरकार तथा ईयु, नेपाल सरकार, गाउँपालिका लगायतको अनुदान रहेकोले निर्माण गरिएका धाराहरु लामो समय स्थानीयहरुले नै टिकाई राख्न जिम्मेवार हुनुपर्ने बताए । गाउँको विकासमा सवैको सहकार्य आफुहरुले खोजेको गाउँपालिका अध्यक्ष प्रेम बुढाले बताए ।
गाउँमा १० किलोमिटर टाढाबाट ल्याएको पानी झारिएपछि स्थानीयहरु निकै हर्षित छन् । विगतमा खानेपानीको निकै दुःख कष्ट थियो, निकै टाढा जानुपर्ने बाध्यता थियो अहिले यस्तो समस्या हटेको खानेपानी समितिका अध्यक्ष मोतीलाल अधिकारीले बताए ।
अहिले खानेपानीदेखी सरसफाईसम्म घरमै जोडिएको धारामै निर्भर छन् । धारामा चौविसै घण्टा पानी आउने गर्दछ ।