महिला विश्वकप छनोट : ६ खेलमा ५ जित तर असफल

एजेन्सी : आईसीसीको आयोजनामा थाइल्यान्डमा जारी महिला विश्वकप छनोट प्रतियोगिता अन्तर्गत अन्तिम खेलमा  नेपालले कुवेतमाथि ३० रनको जित निकालेको छ । ६ खेलमा ५ जित निकाले पनि नेपाल विश्वकपको अन्तिम चरणको छनोटमा स्थान बनाउन भने असफल भयो।

कुवेतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाली महिला टोलीले २० ओभरमा ७ विकेट गुमाएर ११६ रनको योगफल खडा गरेको थियो । ११७ रनको विजयी लक्ष्य पछ्याएको कुवेतको महिला टोली २० ओभरमा ९ विकेट गुमाएर ८६ रनमै सीमित भयो।

जित निकाल्ने क्रममा नेपालका लागि करुणा भण्डारी र रुबिना क्षेत्रीले ३–३ विकेट लिए भने नेरी थापा र कविता कुँवरले १–१ विकेट लिए।  ब्याटिङतर्फ बिन्दु रावलले सर्वाधिक २८ रन बनाइन् । कप्तान रुबिना क्षेत्रीले २२, नेरी थापाले १९ रन बनाउँदा काजल श्रेष्ठले १८ रनको योगदान गरिन।

२० ओभरको यो प्रतियोगिता सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने महिला टीट्वेन्टी विश्वकप र सन् २०२१ मा न्युजिल्यान्डमा आयोजना हुने एक दिवसीय विश्वकप दुवैका लागि एसियाली छनोट प्रतियोगिताका रहेको थियो । यस प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली मात्रै विश्वकपको अन्तिम चरणको छनोटमा जानेछ ।

नेपाल, थाइल्याण्ड, युएई, हङकङ, कुवेत, मलेसिया र चीन गरी सात राष्ट्रका महिला टोली सहभागी प्रतियोगितामा नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ । ५ खेलबाट नेपालको १० अंक छ। एक खेल खेल्न बाँकी रहेको आयोजक थाइल्यान्डको पनि १० अंक नै भएपनि रनरेटमा नेपालभन्दा निकै माथि छ।

केहिछिन पछि थाइल्यान्ड र यूएई प्रतिस्पर्धा गर्दैछन् । यस खेलमा थाइल्यान्डले जिते नेपालले दोस्रो स्थान प्राप्त गर्नेछ, यूएईले जिते तेस्रो स्थानमा सीमित हुनेछ। थाइल्यान्ड र यूएईको खेलमा थाइल्यान्डले जितेमा १२ अंक हुनेछ, शीर्ष स्थानमा कायम रहने छ ।  रनरेटमा पनि निकै अगाडी भएका कारण थाइल्यान्ड हार व्यहोरेमा पनि शीर्ष स्थानमै कायम रहने सम्भावना देखिन्छ ।

यूएईले जितेमा तीनै टोलीको अंक बराबरी त हुन्छ तर रनरेटमा अहिले नै अगाडी भएका कारण नेपाललाई पछि पार्ने पक्का छ।

मलेसिया, यूएई, चीन, हङकङ र कुवेतमाथि जित निकालेको नेपाली महिला टोली आयोजक थाइल्यान्डसँग पराजित हुँदा छनोटको अर्काे चरणमा पुग्न बञ्चित भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!