दुनियाँमा नयाँ कार अवधारणा

एजेन्सी ।

कारको दुनियाँमा तीब्र प्रतिस्पर्धा देखिएको छ। ग्राहकको मन जित्न कार कम्पनीहरू कारको स्पेसिफिकेसन र फिचर्समा नवीनता दिँदै आक्रमक ढंगमा प्रस्तुत भएका हुन्। पछिल्लो समयमा कार आवतजावतको साधन मात्र बनेको छैन। त्यसैले ग्राहक पनि नयाँ नयाँ फिचर्सका कारमा बढी आकर्षित देखिन्छन्।

कारको अवधारणामै परिवर्तन आएको छ। विश्व प्रख्यात सवारी कम्पनीहरूले सामान्य मानिसको कल्पना र सोच बाहिरका सवारीसाधनको अवधारणा सार्वजनिक गरेका छन्। स्वीट्जरल्यान्डको जेनेभामा जारी ‘जेनेभा मोटर सो २०१७’ मा विभिन्न कम्पनीले कन्सेप्ट कार सार्वजनिक गरेका हुन्। जेनेभा मोटर्स शोमा सोकेसको रूपमा नयाँ ‘कन्सेप्ट कार’ हरू सार्वजनिक गरिए। ‘कन्सेप्ट कार’ भन्नाले भविष्यमा बन्न सक्ने कार हो। सवारी उत्पादकहरूले कन्सेप्ट कारलाई परीक्षणको रूपमा समेत सार्वजनिक गर्ने गरेका छन्।

सवारी उत्पादकहरू कन्सेप्ट कार न त बिक्रीबारे चिन्तित हुन्छन्, न त त्यो सवारीको व्यावहारिकता बारेमा। कन्सेप्ट कार केवल सवारी उत्पादकका लागि भविष्यको परीक्षण मात्र हो। एउटा कारको कन्सेप्ट आएपछि त्यो कार नबने पनि त्यसले अर्को कन्सेप्टसमेत उत्पन्न गराउनेमा समेत उनीहरू विश्वस्त छन्।

जेनेभा सोमा आएका १० कन्सेप्ट कार

एयर बस पोप–अप

एयर बसले उड्ने कार पोप–अप बनाउने भएको छ। कम्पनीले यो कदमलाई ‘परिवर्तन’ को संज्ञा दिएको छ। एयर बसको यो कार इलेक्ट्रोनिक्स हुनेछ। दुई सिट क्षमताको पोप–अप ड्रोनको सहायताले उड्ने छ। पोप–अप सिस्टममा आधारित यो कार एक सय किलोमिटरको दूरी तय गर्न सक्ने कम्पनीले जनाएको छ।

पोप–अप ड्रोनबाट सहजै उत्रिएर आफ्नो उडान तय गर्न सक्ने गरी विकास गरिने कन्सेप्ट सार्वजनिक भएको हो। यसमा प्रयोग हुने अटोनोमस ड्रोनको पावर ८ रोटर्स हुनेछ।

फक्सवागन सेड्रिक

फक्सवागनले जेनेभा मोटर सोमा सार्वजनिक गरेको कन्सेप्ट कार स्वचालित हुनेछ। सेड्रिक नाम दिइएको फक्सवागनको यो कन्सेप्ट कारमा प्रयोग हुने आर्टिफिसियल इन्टेलिजेन्सले कार कहाँ पार्किङ गर्ने भन्ने कुरा पत्ता लगाउने गरी विकास गरिने उल्लेख छ। यो कारमा विशाल ओएलईडी आइजसहितको उच्च प्रविधियुक्त विन्डसिल्ड हुनेछ।

ब्ल्याक स्वीङ डोर हुने यो कारमा चालकको नियन्त्रण हुने छैन। कारमा एउटा एक्सटर्नल बटन हुनेछ, जसले कार धनी आफ्नो कारमा प्रवेश गर्न सक्ने बताइएको छ।

टोयोटा आई–टीआरआईएल

जापानी कार निर्माता कम्पनी टोयोटाले आफ्नो कन्सेप्ट कार आई–टीआरआइएललाई पहिलोपटक जेनेभा मोटर सोमा सार्वजनिक गरेको हो। टोयोटाले यो कन्सेप्ट कारलाई मोटरसाइकलको विकल्पको रूपमा प्रयोग हुन सक्ने बताएको छ।

यो कारलाई पब्लिक ट्रान्जिटका रूपमा पनि उपयोग गर्न सकिनेछ। टोयोटा आई–टीआरआइएलमा प्रयोग हुने एक्टिभ लिन प्रविधिले यसको पांग्रा सवारीको गतिका आधारमा एडजस्ट हुनेछ। यो कार दुई सय किलोमिटरसम्म कुद्नेछ।

क्रिस्लर पोर्टल

फियाट क्रिस्लरले पनि जेनेभा मोटर सोमा आफ्नो कन्सेप्ट कार सार्वजनिक गरेको छ। कम्पनीले उच्च प्रविधिमा आधारित हुने कन्सेप्ट कार सोमा प्रस्तुत गरेको हो। हेराइको हिसाबमा भने यो कार त्यति सुन्दर नहुने कम्पनीले उल्लेख गरेको छ। यो कारमा पनि लेभल थ्री अटोनोमस ड्राइभिङ प्रणाली हुनेछ। स्वचालित भए पनि यो कारमा भने मानिसको निगरानी आवश्यक हुने गरी विकास हुने कम्पनीको भनाइ छ। यो इलेक्ट्रिक कारले २ सय ५० माइलसम्मको दूरी तय गर्नेछ। डीसी फस्ट चार्जरमार्फत यो कारमा २० मिनेटभित्रै ५० प्रतिशतभन्दा धेरै चार्ज गर्न सकिनेछ।

रिन स्पीड ओएसीस

रिन स्पीडले आफ्नो कन्सेप्ट कार ओएसीस सीईएसमा समेत सार्वजनिक गरेको हो। यो कारमा वास्तविक बगैंचा नै हुनेछ, जसमा बोन्साइ रुख रहने कल्पना गरिएको छ। यो कारमा अधिक टच स्क्रिन हुनेछ, जसले मानिसको आवाज र हाउभाउका आधारमा कारलाई नियन्त्रण गर्नेछ। कार गुडिरहेको बेला अप्ठ्यारो अवस्था आइपरे कारको स्क्रिनमा हात ठड्याएको संकेत आउने कल्पना गरिएको छ।

होन्डा एमइयू–भी

होन्डाले एमइयू–भी कन्सेप्ट कारको टिजर इमेज गत डिसेम्बरमा सार्वजनिक गरेको थियो। तर यो कन्सेप्ट कारको औपचारिक सार्वजनिक सीईएसमा गरेको थियो। जेनेभा मोटर सोमा समेत होन्डाले यो कन्सेप्ट कारलाई प्रस्तुत गरेको छ। होन्डाको यो कार विद्युतीय र सेल्फ ड्राइभिङ हुनेछ। तर यो कारले कुनै पनि विस्तृत कुरा देखाउने छैन। होन्डा एमइयू–भीमा पनि आर्टिफिसियल इन्टेलिजेन्स हुनेछ, जसले मानिसको इमोसन अध्ययन गर्न सक्ने कल्पना गरिएको छ। यसले सवारीको स्वचालनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

फक्सवागन आइडी–बुज

जर्मन सवारी निर्माता कम्पनी फक्सवागनले जेनेभा मोटर सोमा सार्वजनिक गरेको अर्को कन्सेप्ट हो आइडी–बजु। यो उच्च प्रविधियुक्त क्लासिक माइक्रोबस हुनेछ। यो विद्युतीय सवारी एकपटक चार्ज गरेपछि चार सय ३४ किलोमिटर कुद्ने कल्पना गरिएको छ। कम्पनीका अनुसार, यो सवारीमा लिडर, रेडार, क्यामेरा तथा अल्ट्रासोनिक सेन्सरलगायत प्रविधि हुनेछन्। उक्त प्रविधिले सवारीलाई पूर्व स्वचालित बनाउने कल्पना गरिएको छ। यो कार चालकले आफ्नो स्मार्टफोनले समेत खोल्न सक्ने गरी विकास गरिनेछ।

टोयोटा कन्सेप्ट–आई

टोयोटाले सार्वजनिक गरेको कन्सेप्ट कार कन्सेप्ट–आई जोकोहीको पनि बेस्ट कार हुन सक्ने दाबी गरिएको छ। यो कारमा एआई असिस्टेन्ट छ, जसको नाम यू ई हुनेछ। यसले सवारीमा हुनेलाई कुनै न कुनै रूपमा केही काममार्फत व्यस्त गराइरहने छ। यसले चालकलाई समेत सवारी चलिरहेका बेला सतर्क गराउँछ। टोयोटाको यो कन्सेप्ट कारमा कुनै टचस्क्रीन हुने छैन।

बीएमडब्लू आई इनसाइड फ्यूचर

बीएमडब्लूले भविष्यमा सवारी निर्माताहरूले कारको इन्टेरियर डिजाइनबारे समेत सोच्नुपर्ने गरी कन्सेप्ट सार्वजनिक गरेको छ। यो कार पूर्ण स्वचालित हुनेछ। बीएमडब्लू आई इनसाइड फ्यूचरमा अत्यधिक स्पेस र घरको जस्तै इन्टेरियर हुने कल्पना गरिएको छ। कारमा बुलसेल्फका लागि छुट्टै रुम हुनेछ। यो कारमा अधिकतम डिस्प्ले हुनेछ, जसले कार गुडिरहँदा आरामसँग बसेर डिस्प्लेमा हेर्न सकिनेछ।

सिट्रोन सी–एयरक्रस

२०१७ को फेब्रुअरीमा सिट्रोनले सी–एयरक्रस कन्सेप्ट कार सार्वजनिक गरेको थियो, जुन जेनेभा मोटर सोमा समेत प्रस्तुत गरेको छ। यो कन्सेप्ट कार एसयुभी सेगमेन्टको हो। सी–एयरक्रस बडी पूर्ण मोडर्न हुनेछ। यो कारमा फूल–कलर हेड्स–अप डिस्प्ले र सिंगल स्पोक स्टेरिङ ह्वील हुने कल्पना गरिएको छ। यो कारमा यस्तो क्यामेरा राखिने कल्पना गरिएको छ, जसले सबैतिरको दृश्य सिधै रिभ्यु मिररमा देखिने कम्पनीले दाबी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *