प्रधानाध्यापक घरमै लगाउँछन् विद्युतीय हाजिर

कालिकोट : कालिकोटको पचालझरना गाँउपालिका तिखाती-९ को कर्णाली आधारभूत विद्यालयका प्रधानाध्यापक बिरेन्द्रबहादुर शाहीले घरमै ल्याएर हाजिर गर्ने गरेका छन्।
सोमबार सोही विद्यालयका शिक्षक अमर तिरुवाले प्रधानाध्यापक शाहीको हाजिर लगाउन उनको घरतिर लाँदै गरेको बायोमेट्कि हाजिर बाटोमा स्थानीय युवाहरुले फेला पारेपछि घरमै विद्युतीय हाजिर लगाउने गरेको खुलासा भएको हो।
स्थानीय देवेन्द्र शाही र पवित्र शाहीले विद्युतीय हाजिर बाटोबाटै जफत गरेर वडा अध्यक्ष जोरे तिरुवालाई बुझाएका छन्। शिक्षकलाई विद्यालयमा नियमित बनाउन गाँउपालिकाले हरेक विद्यालयमा अनिवार्य विद्युतीय हाजिर प्रणाली लागु गरे पनि शिक्षकहरुले यसमा अनियमितता गर्ने गरेको स्थानीय देवेन्द्र शाहीले बताए। उनले घरमै हाजिर लगाउने प्रधानाध्यापकलाई कारबाहीको माग गर्दै वडा अध्यक्ष जोरे तिरुवालई हाजिरी मेसिन बुझाएको बताए।
प्रधानाध्यापक शाहीले सोमबार आफ्नो घरमा शिक्षकहरुको भोज भएकाले घरमै हाजिरी लगाउने मेसिन ल्याउन लगाएको स्वीकारेका छन्। उनले जिल्ला शिक्षा तथा समन्वय इकाइको अनुदान कोटा र गाँउपालिकाको अनुदान कोटामा नियुक्त गरिएका दुई जना शिक्षकहरुको आयोजनामा घरमा भोजको कार्यक्रम रहेकोले हाजिरी ल्याउन लगाएको बताए।
उनले भने, ‘विद्यालयमा कहिलेकाँही हाजिरी मेसिन चार्ज पनि हुँदैन। घरमा ल्याएर चार्ज गर्ने र घर नजिकै विद्यालय भएकाले कहिले काँही घरमै ल्याएर हाजिर पनि गर्ने गरेको छु।’
कालिकोट जिल्लाको पचालझरना गाँउपालिका, रास्कोट नगरपालिका, शान्नित्रिवेणी गाँउपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्युतीय हाजिरी प्रणाली लागु गरेका छन्। विद्यालयमा अनियमित हुने शिक्षको उपस्थितिलाई नियमित बनाउन विदुयुतीय हाजिर प्रणाली लागु गरेको पचालझरना गाँउपालिका उपाध्यक्ष तारा न्यौपानेले बताइन्। कर्णाली आधारभूत विद्यालयका प्रधानाध्यापकले घरमै लिएर हाजिरी लगाउने गरेको भन्ने विषयमा आफूहरुले सत्यतथ्य पाए कारबाही गर्ने उनले बताइन्।
अन्नपुर्णपाेष्टवाट