हाते कागज उद्योग बन्द, संचालनमा आर्थिक समस्या
मातृभूमी संवादाता । १८ फागुन दैलेख
दैलेखको गुरासँ गाउँपालिका–७ ओखरेनीमा रहेको प्रेम नेपाली हाते कागज उद्योग बन्द भएको छ । गाउँपालिकामा रहेको एक मात्र उद्योग संचालनका लागि आर्थिक अभाव भएपछि उद्योग बन्द भएको हो ।
नेपाली हाते कागज बनाउनका लागि चाहिने कच्चा पदार्थको रुपमा रहेको लोक्ता प्रशस्त हुँदाहुँदै पनि आर्थिक अभावका कारण कागज उद्योग बन्द भएको जनाईएको छ । प्रेम नेपाली हाते कागज उद्योगका सञ्चालक प्रेमबहादुर रामजालीले आर्थिक अभावका कारण केही बर्षदेखि उद्योग बन्द गर्नुपरेको बताए ।
वि.सं. २०४९ सालमा दर्ता भई संचालनमा आएको उक्त उद्योग १० वर्षे शसस्त्र द्वन्द्वको कारण बन्द भएको थियो । अहिले उद्योगलाई संचालनमा ल्याउने सोच बनाएको छु तर, आर्थिक अभावका कारण उद्योग संचालन गर्न नसकेको संचालक राजमालीले बताए । ‘यस्ता उद्योग संचालनका लागि बैंकहरुले लगानी गर्ने सुनेर धेरै ठाउँ धाँए ।’ उनले भने, ‘म पुगेका ठाउँमा आम्दानी हुने कागजात र जग्गाको लालपूर्जा देखाउँदा समेत लोनको व्यवस्था भएन ।’ मैले नेपाली कागज उद्योग पुनःसंचालनका लागि ऋण लिन बैंक मात्र नभई सरोकारवाला कार्यालयहरुमा पुग्दा पनि सुनुवाई नभएको उनले बताए ।
अहिले उद्योग बन्द भएपनि आफुले दर्ता नविकरण र कर तिरिरहेको बताए । नेपाली हाते कागज उद्योग संचालन गर्न २० लाख रकम आवश्यक रहेको संञ्चालक रामजालीले बताए । उद्योग सञ्चालनमा आए स्थानीयहरुले उद्योगमै रोजगारी पाउनुका साथै कच्चा पदार्थ संकलनका लागि पनि धेरैले रोजगारी पाउने उनको भनाई छ ।
उद्योग संचालनमा आए १६ जनाले प्रत्यक्ष उद्योगमै रोजगारी पाउने छन् । कागज उद्योगबाट लेकाली भेगमा पाईले लोक्ताको लागि स्थानीयहरुलाई अग्रिम भुक्तानी दिएर लोक्ता मगाउनुपर्छ । उद्योगमा लोक्ता संकलनको लागि १ सय ५० मानिस र दाउराको लागि ५० जनाले आंशिक काम पाउने गरेका छन् ।
उद्योग नै बन्द भएपछि आफुहरु वेरोजगार बस्नुपरेको स्थानीय उद्योगमा काम गर्दैै आएका रत्नबहादुर घर्तीले बताए । गाउँपालिकाको एकमात्र उद्योग भएपनि उद्योग पुनः संचालनको लागि गाउँपालिकाले कुनै पनि पहल नगरेको संचालक रामजालीको गुनासो छ ।
हाते कागजको माग अन्र्तराष्ट्रिय बजारमा अत्याधिक रहेको छ । जापानमा नेपाली हाते काजगको माग बढी छ । नेपालमा प्रशोधन भएर तयारी अवस्थामा हाते कागज विक्रि हुने गर्दछ । दैलेखमा हाते कागजका उद्योगहरु नौमुले क्षेत्रमा नवज्योती हाते कागज उत्पादन समुह नामक उद्योग सञ्चालन भईरहेको छ । गुरासँ गाउँपालिकाले उद्योग सञ्चालनका लागि पहल गर्ने जनाएको छ ।