ठाँटिकाँधका सवै वडामा मेलमिलाप केन्द्र गठन गरिने

मातृभूमी संवादाता । १९ फागुन दैलेख

यहाँकाे ठाँटिकाँध गाउँपालिकाका सवै वडाहरुमा मेलमिलाप केन्द्र गठन गरिने भएको छ । वडा अध्यक्षहरुको संयोजकत्वमा ५ सदस्यीय मेलमिलाप समिति गठन गरिने प्रावधान अनुरुप मेलमिलाप केन्द्र गठन गरिने भएको हो । गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजकको अध्यक्षतामा वडाहरुमा वडा स्तरिय मेलमिलाप केन्द्र गठन गर्ने व्यवस्था रहेको छ ।
प्रत्येक स्थानीय तहका वडामा आवश्यकताअनुसार मेलमिलाप केन्द्र गठन गर्न सकिने कानूनी व्यवस्था भए अनुरुप ठाँटिकाँध गाउँपालिकाका प्रत्येक वडाहरुमा मेल मिलाप केन्द्र गठन गरिने ठाँटिकाँध गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सुस्मीता सिंहले वताइन् । ‘अव केही दिनमा प्रत्येक वडाहरुमा मेलमिलाप केन्द्र गठन गर्ने कार्यक्रम रहेको छ’ संयोजक सिंहले भनिन्, ‘कार्यपालिका वैठकमा गठन वारे छलफल भएको र वडा अध्यक्षहरुलाई पनि समिति गठनवारे जानकारी गराइएको छ ।’
स्थानीय तहमा भइपरी आउने बाँध, कुलो, पानीको बाँडफाँड तथा उपयोग, घर झगडा कुटपीट, अर्काको बाली नोक्शानी गरेको सम्बन्धी बिवाद मेलमिलाप केन्द्रबाट निरुपण गर्न सकिने प्रावधान रहेको संयोजक सिंह वताउँछिन् । मेलमिलाप समितिमा वडा अध्यक्ष संयोजक र अन्य ४ जना निर्वाचित वडासदस्यहरु रहने छन् ।
स्थानीय तहको न्यायिक समितिमा मुद्दाको चाप कम गर्न र साना–साना विवाद वडास्तरमै निरूपण गर्न स्थानीय सरकार सञ्चालन ऐनले प्रत्येक वडामा मेलमिलाप केन्द्रको परिकल्पना गरे अनुरुप वडामा मेलमिलाप केन्द्र गठन गरिने संयोजक सिंहको भनाई छ ।
ठाँटिकाँध गाउँपालिकामा मेलमिलाप केन्द्र गठन संगै अव सानोतिनो झैझगडाका मुद्दालाई पनि प्रहरी कार्यालयतिरै दर्ता गराउनुपर्ने बाध्यता हट्ने छ । वडामा मेलमिलाप केन्द्र स्थापना नहुँदा नागरिकले स्थानीय तहको न्यायिक समितिसमक्ष नै मुद्दा दर्ता गराउनुपर्ने बाध्यता रहेका वेला वडा स्तरमै मेलमिलाप केन्द्र गठन गर्न लागिएको संयोजक सिंहको भनाइ छ ।
न्यायिक समितिको मातहतमा रहेर मेलमिलाप केन्द्र स्थापना भएकाले न्यायिक समितिलाई काममा केहि सहयोग पुग्ने देखिन्छ । स्थानीय स्तरमा आउने बिवादलाई वडामा नै समधान गर्ने उद्देश्यले वडा स्तरिय मेलमिलाप केन्द्र स्थापना गर्न लागिएको छ ।
सम्बन्धित वडा समितिले स्थानीय तीन जना कानुनका ज्ञाता राखेर मेलमिलाप केन्द्र निर्माण गर्नुपर्छ । स्थानीय विवाद निरुपण गर्न स्थानीय तहका प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गर्न सकिने कानुनी व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन भए नभएको वारेमा नियमन गर्न जरुरी रहेको सरोकारवाला वताउँछन् ।
संविधानको धारा २१७ मा गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति निर्माण गर्ने व्यवस्था छ । यही समिति अन्तर्गत मेलमिलाप केन्द्र रहने व्यवस्था गरिएको छ । स्थानीय स्तरका मुद्दा स्थानीय तहमा नै मेलमिलाप गरी निरुपण गर्नका लागि वडा तहमा मेलमिलाप केन्द्र गठन गर्ने कानुनी व्यवस्था गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *