प्रदेश सभा सांसदको अपहरण
मातृभूमी संवादाता । २४ फागुन बझाङ
यहाँकाे निर्वाचन क्षेत्र नं. ख बाट प्रदेश सभामा विजयी प्रदेश सभा सदस्य देवकी मल्ललाई नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले अपहरण गरेका छन् ।
तीन चारजनाको समूहमा आएका विप्लवका कार्यकर्ताले सांसद मल्लाई जयपृथ्वी राजमार्गको बित्थड र बागथलाबीचबाट शुक्रबार दिउँसो अपहरण गरेका हुन् ।
उनी बझाङस्थित बुगल नगरपालिकामा महिला भलिबल खेलकुद प्रतियोगिता उद्घाटनका लागि जाँदै थिइन् । त्यही क्रममा उनी अपहरणमा परेकी हुन् । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले सांसद मल्ल अपहरणमा परेको पुष्टि गरेका छन् ।
उनका बुवा धनबहादुर मल्ल र भाइ भरत मल्ल पनि विप्लवकै कार्यकर्ता हुन् । सांसद मल्लका बुवा विरामी भएर काठमाडौँमा उपचाररत छन् । भाइ भरत भने गाउँमै रहेका थिए ।
भाइ नै विप्लवका कार्यकर्ता भएकाले मल्ललाई केही नहुने विश्वास मन्त्री शाहले गरेका छन् ।
सांसद मल्ल प्रहरीको सम्पर्कमा
नचिनेका मान्छेको समूहको अपहरणमा परेकी सुदूरपश्चिम प्रदेशकी सांसद देवकी मल्ल प्रहरीको सम्पर्कमा आएकी छन् । बझाङका प्रहरी नायव उपरीक्षक प्रविण धितालले प्रदेश सांसद मल्ल अहिले आफूहरुको सम्पर्कमा आएको वताए ।
मल्ललाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले अपहरण गरेको बताइएको छ । शुक्रबार बिहान सांसद देवकी मल्लको सैसुबाट अपहरण भएको थियो ।
केही दिन अघि मात्रै विप्लव समर्थक अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला सम्मेलनमा राज्यले अवरोध पुर्याएको, महिला सांसद भएर पनि निर्मला हत्या प्रकरणमा आवाज नउठाएको र नेकपाकी केन्द्रीय अध्यक्ष बिन्दु चन्दलाई गिरफ्तार गरेको र उनलाई तत्काल रिहाइ गर्नु पर्ने भन्दै सांसद मल्ललाई अपहरण गरेको विप्लव निकट स्रोतले जनाएको छ ।
तर सांसद मल्ललाई कसले र किन अपहरण गर्यो भन्नेबारेमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक धितालले बताए । मल्ल विथ्थड चिर गाँउपालिकाले आयोजना गरेको नारी दिवसको कार्यक्रममा सहभागी हुन विथ्थडचिर गाँउपालिकाको सैसु भन्ने ठाँउ जाने क्रममा अपहरणमा परेकी हुन् ।