श्रीमति हत्याको अभियुक्तलाई जन्मकैद

मातृभूमी संवादाता । २६ फागुन दैलेख
श्रीमतिको हत्या गरेको ठहर गर्दै दैलेख जिल्ला अदालतले नौमूले गाउँपालिका–७ पैतिका ५४ वर्षीय दलबहादुर बस्नेतलाई २० वर्ष कैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट आज उक्त फैसला भएको दैलेख जिल्ला अदालतका प्रवक्ता बिनोद आचार्य जानकारी दिए । २०७४ साउन २ गते कान्छी श्रीमति त्यतिबेला ५६ वर्षकी हरिकला बस्नेतलाई कुटपिट गरी ज्यान गइसकेपछि बार्दलीमा झुण्ड्याएको भन्ने प्रहरी अनुसन्धान, शरीरमा घाउचोट देखिएको रंगीन फोटो र बिशेषज्ञ चिकित्सकको प्रतिवेदनबाट अभियोग पुष्टी भएको फैसलामा लेखिएको छ ।
झुण्डिएर ज्यान गएको भन्ने दैलेख जिल्ला अस्पतालको पोष्टमार्टम रिपोर्ट र दलबहादुरले हत्या गरेको आरोप अस्वीकार गरे पनि घटनास्थमा खिचिएको रंगीन फोटो, टेलिफोन सम्वादको कल रेकर्ड र विधिविशान प्रयोगशालाको बिशेषज्ञ चिकित्सकको प्रतिवेदनले हत्यापछि झुण्ड्याइएको फैसलामा व्याख्या गरिएको छ ।
घटनामा दलबहादुर बस्नेतकी जेठी पत्नी ५७ वर्षीया रामसरा बस्नेतको समेत संलग्नताको आरोप लगाइए पनि अदालतले उनको संलग्नता नपाइएको भन्दै सफाई दिएको छ । प्रहरी अनुसन्धानको क्रममा २४ दिन हिरासतमा बसे पनि थुनछेक बहसपछि नै रामसरालाई तारेखमा छोडेको थियो, दलबहादुर भने पुर्पक्षका लागि कारागारमा थुनामा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *