ढुक्क भएर काम गर्नुहाेस् : प्रदेश प्रहरी प्रमुख शाह

मातृभूमी संवादाता । २७ फागुन दैलेख
विप्लव नेतृत्वको नेकपाले देशैभर विभिन्न आतंक मच्चाईरहेका वेला दैलेखमा पनि सुरक्षा चुनौति देखिएको छ । सोमवार दैलेख सदरमुकाममा भएको एक अन्तरक्रियामा स्थानीय सरकारका प्रमुखहरूले विप्लव माओवादी समूहसँग सुरक्षा चुनौती देखिएको बताएका छन् ।
स्थानीय सरकारका प्रमुख–उप्रमुख लगायत वडा अध्यक्ष सम्मलाई पदबाट राजीनामा दिन पत्राचार गर्दै चन्दा मागेर धम्की दिएको खुलेको छ । फोनबाट समेत चन्दाको बारेमा कुराकानी गर्ने गरेपछि सुरक्षा चुनौती थप बढेको भन्दै दैलेखका स्थानीय सरकार प्रमुखहरूले कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहलाई सुरक्षा चुनौती देखिएका संवेदनशील स्थानहरुमा सुरक्षा बल बढाउन आग्रह गरेका छन् ।
कर्णाली प्रदेश प्रहरी प्रमुखसँग गुनासो गर्दै एक गाउँपालिका उपाध्यक्षले भनिन्, ‘हामी अनुगमनमा जाँदै थियौँ फोन आयो राम्रोसँग योजना अनुगमन गर्नुहोला कामको प्रभावकारी मूल्यांकन गर्नुहोला स्टिमेटका आधारमा काम भएको छ कि छैन् हेर्नुहोला ।’ उनले अगाडी भनिन् ‘तपाँई को हो भन्दा विप्लव हो हामीलाई चन्दा अनिवार्य दिनुपर्दछ नत्र राम्रो हुँदैन भन्नेसम्मका फोनहरु आउने गरेका छन् ।’
यस्ता धम्कीहरु अहिले दैलेखका ११ वटै स्थानीय सरकारका प्रमुख–उपप्रमुख र वडा अध्यक्ष सम्मलाई आएको दैलेखका स्थानीय सरकार प्रमुखहरूले बताईरहँदा कर्णाली प्रदेशका प्रहरी प्रमुख महेश बिक्रम शाहले दैलेखका ११ वटै स्थानीय सरकारका प्रमुखहरूलाई ढुक्क भएर काम गर्न आग्रह गरेका छन् ।
उनले भने, ‘तपाँईहरु जनताबाट निर्वाचित जनप्रतिनिधिहरू हुनुहुन्छ ढुक्क भएर काम गर्नुहोस् अराजक गतिविधि गर्ने जो कोहीलाई प्रहरीले विशेष ढंगले खोजी गरिरहेको छ ।’ मुलुक समृद्धितर्फ अगाडि बढ्ने महान् अभियानलाई कसैले पनि अवरोध गर्न नहुने र संविधान विपरीत कार्य गर्ने सबैलाई कारबाही गर्न सरकार तयार रहेको बताएका छन् ।
कर्णाली प्रदेश प्रहरी प्रमुख शाहले भने, ‘विप्लवका गतिविधिहरूलाई सबै मिलेर निस्तेज पार्न सकिन्छ ।’ संविधान विरुद्ध अहिले विप्लव समूह अगाडि बढेको उनको भनाइ छ ।
बम विस्फोट हत्या जस्ता गतिविधिहरूमा विप्लप समूह सक्रिए भएकोले संविधानले निषेध गरेका कुराहरू गर्ने राजनीतिक समूह नभएर आपराधिक समूह भएकोले प्रहरीले यस्ता गतिविधिहरुको नियन्त्रण गर्न र यस्ता गतिविधिहरुमा संलग्नलाई पक्राउ गरी कारबाही प्रक्रियाका लागि कडा कदम चाल्ने शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *