राजनीतिक अग्रसरता खाँचो : साँसद बिशुन्के
मातृभूमी संवादाता । २७ फागुन दैलेख
प्रतिनिधिसभा सदस्य साँसद पार्वती बिशुन्केले महिला मुक्तिका लागि राजनीतिक अग्रसरताको खाँचो औल्याएकी छिन् । संकल्प नेपालको साझेदारीमा दलित महिला संघ दैलेखले सोमवार दुल्लूमा आयोजना गरेको सामाजिक अभियानकर्ता समायोजन कार्यशाला गोष्ठीमा उनले सो कुरा बताएकी हुन ।्
महिलाहरुलाई सक्षम बनाउन आर्थिक उपार्जन जरुरी हुन्छ तर त्यसको लागि राजनीतिक चेतना र शैक्षिक ज्ञानको अवसर पनि परिवारले दिनुपर्ने उनको धारणा थियो ।
साँसद बिशुन्केले समता पहुँच र समता अधिकार कार्यक्रम अन्तरगत कार्यरत सामाजिक अभियानकर्ताले महिला हिंसा, जातीय विभेद लगायतका सामाजिक विकृति हटाउन गरेको प्रयास र उहाँहरुको ज्ञान, सीपलाई स्थानीय तहले प्रयोग ल्याउन सुझाव दिइन् ।
त्यसबखत दुल्लू नगरपालिका उपप्रमुख बिष्णु थापाले महिलाहरुले संविधान र देशको नीति नियमले दिएको अधिकार प्रभावकारी रुपमा उपभोग गर्न नपाएको बताउदै सचेत महिलाहरुको दवावबाट मात्र महिलाहरुका लागि अवसर सिर्जना हुन सक्ने बताइन् ।
कार्यक्रममा द्रोणाचल क्याम्पसका प्रमुख नरेन्द्रबहादुर बोहरा, दुल्लू नगरपालिका वडा नं. ७ का वडाध्यक्ष लालबहादुर बस्नेत, नेकपाका प्रतिनिधि डिलबहादुर थापा, नेपाली काँग्रेसका नगरसभापति टंक रिमाल र सहजकर्ताहरुका तर्फबाट सुशीला योगीले पनि बोलेका थिए ।
संकल्प नेपालको साझेदारीमा दलित महिला संघ दैलेखले साविकको भैरीकालिकाथुम, बडलम्जी, पादुका, दुल्लू र गमौडी गाविसमा सञ्चालन गरेको समता पहुँच र समता अधिकार कार्यक्रम अन्तरगत सन् २०१३ देखि ६ वर्षसम्म ४५ वडामा सामाजिक अभियानकर्ताहरु कार्यरत थिए ।
सामाजिक अभियानकर्ताहरुले कुरीति हटाउन खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी कार्यक्रम र क्रियाकलापहरुमा अभियानकर्ताहरुलाई अवसर दिलाउने विषयमा उपस्थिति जनप्रतिनिधि र सरोकारवालाहरुले प्रतिवद्धता जनाउनुभएको थियो ।