विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना सम्वन्धी गोष्ठि दैलेखमा
मातृभूमी संवादाता । २८ फागुन दैलेख
प्रतिनिधिसभाका सदस्य सांसद पार्वती बिशुन्केले विकासले बिनास ल्याउन नदिन सचेत रहनुपर्ने आवश्यकता औल्याएकी छन् ।
लुथरन वल्र्ड फेडेरेसन नेपालको सहयोगमा समुदायमा आधारित संस्था महासंघ दैलेखको आयोजनामा मंगलवारदेखि सुरु भएको २ दिने जिल्ला स्तरीय विपद् पूर्वतयारी तथा योजना निर्माण कार्यशाला उद्घाटन कार्यक्रममा उनले यस्तो विचार राखेकी हुन् ।
सांसद बिशुन्केले दैलेख जिल्ला जलवायू परिवर्तनको असर र विपद संकटासनताको हिसावले उच्च जोखिमको गम्भीरता मनन् गरी कार्यशालाले योजना बनाउन सहभागीहरुलाई सुझाव दिएकी छन् ।
यस्तै नेपाली काँग्रेस दैलेखका कोषाध्यक्ष पूर्णबहादुर खत्रीले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय तहहरुले दूरदृष्टि राखेर भौतिक विकासका कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।
जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाको अध्यक्षतामा भएको कार्यक्रममा लुथरन वल्र्ड फेडेरेसन नेपालका कार्यक्रम अधिकृत मानध्वज खत्री र जिल्ला समन्वय समितिका स्थानीय समन्वय अधिकारी भक्तबहादुर कार्कीले कार्यशालाको महत्व विषयमा प्रकाश पारेका थिए ।
विपद् जोखिम रहेका स्थानीय तहका प्रमुख, विपद्को बेला उद्धार तथा राहतमा संलग्न हुने निकायका प्रतिनिधि र सरोकारवाला समेतको सहभागिता रहेको कार्यशालामा विपद् व्यवस्थापनका तवर तरिका, कानूनी व्यवस्था, पूर्वतयारी र प्रतिकार्य योजना विषयमा ऋतुवर्ण सिलवालले सहजीकरण गरिरहेका छन् ।
मंगलवार देखी सुरु भएको दुई दिने कार्यशाला गोष्ठिमा दैलेख जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनीधि र पत्रकार लगाएतको सहभागीता रहेको छ ।