तेल पेल्ने परम्परागत ‘कोल’ लोप हुँदै
मातृभूमी संवादाता । २ चैत्र दैलेख
ठाँटिकाँध लगायत दैलेख जिल्लाका समग्र गाउँ तथा नगरपालिकामा परम्परागत तेल पेल्ने कोल लोप हुन थालेका छन् । यातायातको विकाससँगै बजारको पहुँच गाउँसम्म पुग्न थालेपछि कुनै बेला यहाँका स्थानीयको तेल पेल्ने मुख्य माध्यमको रूपमा रहेका परम्परागत प्रविधिमा आधारित काठका कोल एकपछि अर्काे गर्दै लोप हुन थालेका हुन् ।
बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सजिलै पाइन थालेपछि यहाँका स्थानीयले कोललाई बेवास्ता गर्दै आएको ठाँटिकाँध गाउँपालिकाका स्थानीय कलम शाहीले बताए ।
उनले भने, ‘भनेको बेलामा जहाँ पनि तेल पाउन थालेको छ, दिनभरिको मेहनत लगाएर कसले कोल पेल्नु ?’ अब तेलका लागि कोल लोप हँुदै गएकोप्रति भने यहाँका बूढापाका चिन्तित हुन थालेका छन् । ठाँटिकाँध लगायत पहाडी जिल्लामा विशेष गरी तोरी खेती गरिन्थ्यो । अहिले तोरी खेतीमा पनि स्थानीय किसानको चासो दिनहुँ घट्न थालेको ठाँटिकाँध गाउँपालिका ३ का स्थानीय भिमवहादुर दशौंदिले बताए ।
उनले भने, ‘कुनै बेला आधा जमीनमा तोरी लगाउने हाम्रो ठाउँमा पछिल्लो समय कोल विस्थापित भएपछि र तेल सहजै पाउन थालेपछि किसान तोरी खेती गर्न छोडेका हुन् ।’ बजार तथा विद्युत् भएका ठाउँमा तेल पेल्ने आधुनिक मेशिन अर्थात् मिल आएपछि यहाँका परम्परागत कोल विस्थापित भएको कतिपयको बुझाइ छ ।
विगतको समयमा ठाँटिकाँध गाउँपालिकामा मात्रै दर्जनौंको संख्यामा रहेका यस्ता कोल अहिले अधिकांश लोप भइसकेका छन् । दुर्गम गाउँमा रहेका एक दुई वटा कोल पनि विस्तारै लोप हुँदै जाने क्रममा रहेको ठाँटिकाँध गाउँपालिका ४ का स्थानीय जौधरा वडुवालले बताईन् । उनले भनिन्, ‘कोलमा तेल पेल्नका लागि बढी जनशक्ति र शारीरिक श्रम बढी लाग्ने र बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसँगै तेलहन बालीको खेतीसमेत हराउँदै गएको हो ।’
काठवाट जडित यस्ता कोलहरु तेलहन वालि मात्र नभई किसानले लगाएको उखु पनि पेलेर खुदो वनाउने गरिन्थ्यो । आधुनिक प्रविधिका मिल गाउँगाउँसम्म पुग्नुले पनि कोल विस्तारै लोप हुँदै गएका हुन् । मिलमा छिटो छरितो काम हुने र कोलमा दिनभरी लाग्ने तथा जनशक्ति पनि धेरै लाग्ने भएकाले पनि कोल लोप हुँदै गएको स्थानीयको वुझाई छ ।