अपेक्षा भन्दा धेरै मुद्धा दर्ता

मातृभूमी संवादाता । ३ चैत्र दैलेख
दैलेख जिल्ला अदालतले अपेक्षा गरेको भन्दा धेरै मुद्दा दर्ता भएका छन् । चालू आर्थिक वर्षमा २ सय २५ वटासम्म मुद्दा दर्ता होलान भन्ने अनुमान थियो, दोश्रो चौमासिक अवधि फागुन मसान्तसम्म २ सय २९ मुद्दा दर्ता भएको जिल्ला न्यायाधीश सनतचन्द्र लवटले जानकारी दिए ।
जिल्ला अदालतले आज आयोजना गरेको पत्रकार सम्मेलनमा न्यायाधीश लवटले त्यो जानकारी दिएका हुन् । उनले थपे ‘यो हिसावले बाँकी ४ महिनामा कम्तीमा एक सय मुद्दा अरु थपिन सक्छन् ।
न्यायालयप्रतिको बिश्वास र सामाजिक सचेतनाले मुद्दाको चाप बढेको अदालतका श्रेस्तेदार अधिकृत प्रेमप्रसाद पौडेलले टिप्पणी गरे ।
अदालतका प्रवक्ता बिनोद आचार्याले चालू आर्थिक वर्षमा परेका २ सय २९ वटा मुद्दा, अघिल्लो वर्षबाट जिम्मेवारीमा सरेका ५२ र अदालतमा परेका साधारण निवेदन ४ समेत कुल २ सय ८५ वटा मध्ये १ सय २६ वटा मुद्दा फैसला भइसकेका र १ सय ५९ मुद्दा चाहिं फैसला हुन बाँकी रहेको जानकारी दिए ।
पत्रकारहरुले अदालतले दिने निःशुल्क कानूनी सहायता विपन्न समुदायको पहुँच बढाउदै न्यायिक सहजता दिलाउन अझ बढी व्यवहारिक बनाउन र अदालतबाट फैसलाहरु भएकै दिन पत्रकारलाई सहजै सूचना उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरेका थिए ।
त्यसबखत पत्रकारहरुले दैलेख जिल्ला अदालतले न्यायिक निष्पक्षताका निम्ति गरेका सकारात्मक प्रयासको प्रशंसा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *