आज होली पर्व मनाइँदै
मातृभूमी संवादाता । ६ चैत्र दैलेख
दैलेख सहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।
असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । होली पर्वका अवसरमा विभिन्न संघसंगठनहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन् । नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलि पल्ट होली पर्व मनाउने गरिन्छ । विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई तीन दिनसम्म होली मनाउने चलन छ ।
होलीमा रङ खेल्दा होस पुर्याउनोस्
होली अथवा फागूपूर्णिमा रङहरुको चाडकारुपमा चिनिन्छ । थरीथरीका रङहरु एकापसमा दलेर बालबालिकादेखि वृद्धवृद्धासम्मले यो पर्व उल्लासका साथ मनाउने गर्दछन् । तर, होली खेल्दा प्रयोग गरिने रङले विभिन्न रोग निम्त्याउने खतरा हुने चिकित्सकहरु बताउँछन् ।
वसन्त ऋतुको सुरुआतमा सामूहिकरुपमा भेला भएर मैत्रीभावका साथ एकार्कालाई रङ दलेर मनाइने फागू वा होली पर्व रङहरूको चाड हो । आपसी रिसइबीलाई बिर्सेर उत्साह र उमंगका साथ मनाइने यो पर्व देशभर उल्लासमय ढंगले मनाइन्छ ।
होली खेल्दा सप्तरंगी रङहरु प्रयोग गर्ने गरिन्छ । होलीमा एकार्कालाई रङ दल्ने र पानीमा रङ घोलेर एकार्कामाथि फाल्ने चलन पनि छ । तर, यसरी रङ खेल्दा भने सावधानी अपनाउनु जरुरी हुने चिकित्सकहरुको सुझाव छ । रङले हाम्रो मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । तर, पछिल्लो समयमा रङहरुमा हानिकारक रसायनको प्रयोग बढेकाले त्यस्ता रसायनले स्वास्थ्यमा असर पुर्याउने वरिष्ठ छालारोग विशेषज्ञ अनिलकुमार झाले बताए ।
खस्रो र टल्कने रङहरुले छालालाई नोक्सान गर्नुका साथै गाढा रङहरुले पनि नकारात्मक असर गर्ने डा. झा बताउँछन् । रसायनयुक्त रङहरुले छालासँगै आँखा, नाक, कान लगायतका अंगहरुमा पनि असर गर्छ । त्यसैले होलीमा यस्ता रङहरुको सकेसम्म प्रयोग नगर्न उनको सुझाव छ ।