क्षयरोग सर्वेक्षण शिविरमा ६ सयले लिए सेवा
मातृभूमी संवादाता । १० चैत्र दैलेख
दैलेखको पश्चिममा पर्ने ठाँटिकाँध गाउँपालिका ३ मा क्षयरोग सम्बन्धि निशुल्क चेकजाँच तथा क्षयरोग सर्वेक्षण शिविर सम्पन्न भएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय क्षयरोग केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग र ठाँटिकाँध गाउँपालिका वडा नं. ३ को समन्वयमा शिविर सम्पन्न भएको हो ।
शिविरमा एकै दिन बुधबार ६०० सय जनाले क्षयरोगको चेकजाँच गराएको वडा नं. ३ का वडाअध्यक्ष कर्णवहादुर शाहीले जानकारी दिएका छन् ।
एक क्षयरोगीको बिरामिले करिब १० जनालाइ रोग सार्न सक्ने हुनाले यो रोग नियन्त्रणका लागि अघि बढेको शिविरमा संलग्न एक डाक्टरले वताए । एउटा क्षयरोगको बिरामिलाइ पुर्ण रुपमा निको बनाउन सरकारले ५ देखि ७ लाखसम्म खर्च गर्ने गरेको जानकारी दिदै उनले जनताले निशुल्क रुपमा पाइरहेको सेवाको सदुपयोग गर्न आग्रह गरे ।
कुनै व्यक्तिलाइ दुई साताभन्दा बढी समयदेखि खोकी लागेको लाग्यै हुने, कहिलेकाहीं खकारमा रगत देखिने, ज्वरो आउने तथा तौलमा कमी र खाना मिठो नहुने लगाएतका लक्षण देखापरेमा तुरुन्त स्वास्थ्य संस्थामा जचाउँन गैहाल्नु पर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
क्षयरोग लाग्दैमा आत्तिहाल्नु पर्ने अवस्था नभएकाले यसको औषधी स्वास्थ्य संस्थाबाट निःशुल्क पाइने र औषधी ६ देखि ८ महिना सम्म स्वास्थ्यकर्मीको रेखदेखमा पुरा औषधी खाएमा यो रोग निको हुने स्वास्थ्कर्मीहरु वताउँछन् ।
डाक्टरहरुका अनुसार क्षयरोग लागेका बिरामीलाई २ हप्ता वा सो भन्दा बढी सम्म लगातार खोकी लाग्नु, सांझको समयमा ज्वरो, पसिना आउनु, खकारमा रगत देखिनु, खाना खान मन नलाग्नु तथा वजन कम हुदै जानु, छाति दुख्नु र श्वास फेर्न गाह्रो हुनु, जीउ दुख्नु, कम्जोर हुनु लगाएतका लक्षणहरु देखा पर्दछन् ।
क्षयरोग एक प्रकारको सरुवा रोग भएको र यो सबै उमेर, समुहका व्यक्तिलाई लाग्ने जिल्ला स्वास्थ्य कार्यालय दैलेखका डा. निराजन पन्तले वताए । डा. पन्तले भने ‘खकारमा क्षयरोगका जिवाणु देखिएका व्यक्तिहरुको श्वासप्रश्वासबाट, तथा संक्रमित व्यक्तिले चलाएका सामाग्री जस्तै भाडाँ वर्तन, लत्ताकपडा, आदीको प्रत्यक्ष सम्पर्कबाट अर्को स्वस्थ्य व्यक्तिलाई क्षयरोग सर्दछ ।’
स्वास्थ्यकर्मी भगवती मल्लले क्षयरोगका विरामीले आराम गर्ने, पोषणयुक्त खाना खाने, मद्यपान र धुम्रपान नगर्ने, हरियो सागपात, फलफुल, माछा–मासु प्रशस्त खाने, पोषिलो तरल खानाहरु सेवन गर्नु पर्ने सुझाव दिईन् ।
यस्तै ठाँटिकाँध गाउँपालिकाका अध्यक्ष धिरवहादुर शाहीले सर्ने र नसर्ने रोगहरु सम्वन्धी जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको वताएका छन् ।