सञ्चारमा महिला आकर्षण, नीति नहुँदा निरन्तरता भएन

भिम सिजापति, दैलेख ।

(दोस्रो जनआन्दोलन २०६२-६३ पछि नेपालमा सञ्चार माध्यमहरू धमाधम खुलेका छन् । दैलेख जिल्लामा एफ.एम., दैनिक पत्रिका र अनलाइन प्रशस्तै छन् । पछिल्लो समयमा मिडिया पनि व्यवसायिक बन्दै गएका छन् । मिडिया प्रति युवाहरूको आकर्षण पनि रामै्र छ । तर, पत्रकार महिला पत्रकारितामा टिक्न सकेका छैनन् ।)

पाँच वर्ष सक्रिय पत्रकारिता गरेकी दैलेख नारायण नगरपालिकाकी रत्ना थापा मगर अहिले पत्रकारितामा छैनन् । दैलेखमै करिब चार वर्ष भन्दा बढि पत्रकारिता गरेकी सिमा कुमारी चन्द अहिले नेपाल प्रहरीमा कार्यरत छन् । दैलेख पत्रकार महासंघको साधारण सदस्य नविना हिरोजक हाल गृहिणी छन् ।

२०७० सालको फागुन महिनामा भएको नेपाल पत्रकार महासंघ दैलेख शाखाको निर्वाचनबाट कार्य समिति सदस्यमा विजयी भएकी गिता थापा र लामो समय रेडियो धु्रवतारा एफ.एम.मा कार्यरत चन्द्रा बोहोरा अहिले व्यवसाय गरिरहेका छन् । रत्ना, सिमा, नविना, गिता र चन्द्राले लामो समयसम्म मिडियामा काम गरिसकेका छन् । पत्रकारिता पेसाबाट पलायन हुनु उनीहरूको रहर नभई बाध्यता देखिन्छ । पेसागत असुरक्षा र महिलालाई पत्रकारिता पेसामा टिकिरहन प्रोत्साहन गर्ने सरकारी नीतिको अभाव नै पत्रकारितामा महिला टिक्न नदिने कारणको रुपमा देखिएका छन् ।

तर यतिबेला पत्रकारितामा नरहेका उनीहरूको पत्रकारिता प्रति रुचि भने मरेको छैन । पेसाबाट पलायन भएका पत्रकार महिलाहरू पेसामा नटिक्नुको मुख्य कारण आर्थिक हो । पेसागत सुरक्षाको अभावमा पेसाबाट पलायन उनीहरू सञ्चार गृहले काम अनुसारको दाम दिए फेरि यहि पेसामा फर्किन चाहन्छन् ।

पत्रकारिता छोडेर व्यवसाय गरिरहेकी गिता थापा पत्रकारितालाई निरन्तरता दिने बिचारमा छिन् । भन्छिन् ‘मिडियामा नहुँदा आफै समाचार बनिरहेकी छु । साथीहरू देख्दा काम सुरु गरिहालौं जस्तो लाग्छ । तर मेसो मिलेको छैन ।’

तिन वटा सामुदायिक एफ.एम., चार वटा दैनिक, पाँच वटा साप्ताहिक पत्रिका, र ६ वटा अनलाईन सञ्चालनमा रहेको दैलेखमा मिडियामा आउने महिलाको संख्या पनि धेरै छ । थोरै कामले पनि छिट्टै चर्चा पाइने भएकाले छापा भन्दा रेडियोमा आकर्षण बढी छ । स्थानीय ध्रुवतारा सामुदायिक एफ.एम.मा कार्यरत सञ्चारकर्मी रजनी योगी भन्छिन् ‘रुचि भएर मात्रै पनि पेसामा टिक्न नसकिदो रहेछ । रुचिका साथै आर्थिक रुपमा सम्पन्न, सामाजिक र पारिवारिक सपोर्ट हुँदा मात्रै पत्रकारितामा टिकिरहन सजिलो रहेछ । नत्र समस्या छ ।’ उनले विवाहपछि महिलाहरूलाई पत्रकारिता गर्न समस्या हुने बताइन् ।

पुरुष सरह महिलालाई खुलेर काम गर्ने वातावरण नभए पनि एक्काइसौँ शताब्दीका महिलाहरूले अब पनि कसैसँग डराएर, लजाएर पछि हट्न नहुने तर्क गर्छन् । भन्छन् ‘कुकुर भुक्दै गर्छ हात्ती लम्किदै गर्छ भने जस्तै समाजका अनावश्यक टिका टिप्पणी र तुच्छ आलोचनासँग महिलाले डराएर होइन सामना गरेर काम गर्नुपर्छ ।’ महिलाको अर्थपूर्ण सहभागिता बिना पत्रकारिता पेसा मर्यादित, व्यवस्थित, समावेशी र विविधतायुक्त हुन नसक्ने भन्दै पत्रकारितामा महिलालाई टिकाउनका लागि विभिन्न खालका प्रोत्साहनमूलक कार्यक्रमको आवश्यकता रहेको पनि शर्मा औंल्याउछन् ।

विवाह नहुँदासम्म पत्रकारिता गर्नेहरूले विवाहपछि पेसा छोडेका उदाहरण दिदै रजनीले भनिन्, ‘खासगरि अरु पेसामा जस्तो बिहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म मात्रै काम गर्नुपर्ने अवस्था पत्रकारितामा हुदैन । काम गर्नुपर्ने समयको निश्चितता नहुदा धेरैले पारिवारिक दबाबमा पेसा छोड्ने गरेको छन् ।’

‘बिहान १० देखि पाँच बजेसम्म काम गर्ने पेसा नै छोरी बुहारीका लागि फिट मानिन्छ’ रजनीले भनिन्, ‘यो पेसामा काम गर्दा समयको सीमा नहुने भएकाले पनि छोरी बुहारीहरू पत्रकारितामा लागुन् भन्ने चाहना धेरैको नहुने उनले बताइन् ।

चार बर्षदेखि दैलेखमा सक्रिय पत्रकारिता गर्दै आएकी पत्रकार ज्योति कटुवालको विचारमा पत्रकारिता लहडमा चल्ने पेसा होइन । ‘मेहनत धेरै गर्नुपर्ने तर आश गरे जस्तो प्रतिफल नमिल्न पनि सक्ने पेसा रहेछ । आर्थिक समस्याले गर्दा पनि यो क्षेत्रमा पत्रकार महिला टिक्न गाह्रो रहेछ’ उनले अनुभव सुनाइन् ।

ज्योतीको विचारमा समाजले अझै आफ्ना छोरी बुहारीलाई घरबाट एक्लै कतै जाँदा कहा जान्छे ? के गर्छे ? कोसँग गई ? त्योसँग किन बोली ? त्यसको त्योसँग के सम्बन्ध छ ? भन्ने स–साना कुरामा प्रश्न गर्नु, शंका गर्नु र पेसा प्रतिको जिम्मेवारीलाई नबुझिदिदा पनि पत्रकार महिलाहरूले दिक्दार भएर पेसा छोड्ने निधो गरेका छन् ।

एकातिर सबै थरिका मान्छेसँग बोल्नुपर्ने, उनीहरूबाट समाचार लिनुपर्ने पेसागत जिम्मेवारी अर्कोतिर तिनै व्यक्तिसँग बोलेका कारण सामाजिक रुपमा लाग्ने आरोपबाट आजित भएर पनि केहिले पेसा छोडेका छन् । तर अरुले नबुझेर लाउने आरोपलाई ठुलो रुपमा नलिएर आफुले सुनेको नसुने झैँ गरेर अगाडी बढेकाले आफु नेपालको प्रतिष्ठित मिडिया कान्तिपुर दैनिकको दैलेख समाचारदाता बन्न सफल भएकोमा उनले गर्व गरिन् ।

२०७० सालमा तिनचुले साप्ताहिक पत्रिकाबाट पत्रकारिता सुरु गरेकी ज्योति पत्रकारितामै जमेकी छन् । उनको विचारमा पत्रकारितामा जति मेहनत गर्न सक्यो त्यनि फाइदा पनि छ । ‘मैले साप्ताहिक पत्रिकाबाट पत्रकारितामा प्रवेश गरेँ । त्यसैमा चित्त बुझाएर बसेको भए यहाँसम्म पुग्दैनथे होला,’ ज्योति भन्छिन्, ‘मेरो मेहनतमा मेरो परिवारले पनि निकै साथ दिएको छ । अझैँ अगाडि बढ्ने चाहना छ । नाम पनि छ दाम पनि । तर, खट्नु चाही धेरै पर्छ ।’

दैलेखमा कुनै पनि सञ्चार संस्था खुल्ने बेलामा पुरुषसँगै महिला पनि सञ्चारकर्मीको रुपमा प्रवेश गर्छन् । तर सञ्चार माध्यम पुराना हुँदै जाँदा सञ्चारकर्मी महिलाको संख्या भने बिस्तारै घट्दै जाने गरेको नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष चक्र केसीले बताए ।

सञ्चार माध्यमहरू आफैमा आर्थिक रुपमा सक्षम नहुनु र व्यवसायिक हुन नसक्नु पनि महिलाहरू पत्रकारिताबाट पलायन हुने कारण हुन् । केसी भन्छन्, ‘कार्यरत सञ्चार गृहबाट मेहनत अनुसार पैसा आउदैन । आए पनि समयमा आउदैन । समय बढी दिनुपर्ने तर समय र आवश्यकता अनुसार पैसा नआउदा मानसिकता कमजोर हुँदै जान्छ । बाध्यतावस उनीहरू पेसै छोडेर जान्छन् ।’

धेरैजसो पत्रकार पुरुषहरूले एक भन्दा बढी सञ्चार माध्यममा काम गर्छन् । तर त्यो अवसर हत्तपत्त महिलालाई जुट्दैन । पुरुषहरू सञ्चार माध्यम बाहेक एनजीओ-आइएनजीओमा पनि काम गर्छन् । उनीहरूको राजनीतिक, सामाजिक पहुँच पनि बढी नै हुन्छ । त्यसले पनि महिलाको तुलनामा पुरुषलाई पेसामा टिकिरहन मद्यत पुर्याउछ भन्छन्, केसी ।

साथै स्कुल पढ्दै गरेका महिलाहरू यो पेसामा आउने र उच्च शिक्षा र विवाहको सिलसिलामा अन्यत्रै जानाले पनि महिला सञ्चारकर्मी केही दिनका लागि मात्र हुने गरेको केसीको अनुभव छ ।

दैलेखमा करिब ५० जना भन्दा बढि पुरुष सञ्चारकर्मी छन् भने महिला सञ्चारकर्मी लगभग १५ जना मात्रै छन् । यी मध्ये अधिकांश पत्रकार महिलाहरू कार्यालय भित्रैको काममा मात्रै सिमित छन् । बढिजसो महिलाहरू व्यवस्थापन, समाचारवाचन, कुनै कार्यालयका कार्यक्रम उत्पादन र सांगितिक कार्यक्रममा सिमित छन् । आफ्नै साधनको अभाव र पुरुष साथीहरूसँग हिड्दा पनि समाजले कुरा काट्ने भएकाले समाचार संकलनमा प्रायः पत्रकार महिलाहरू पुरुष सहकर्मीसँग हिड्दैनन् ।

नेपाल पत्रकार महासंघ दैलेखबाट हालसम्म ११ जना महिलाहरूले सदस्यता पाएका छन् ति मध्ये अधिकांस पत्रकार महिलाहरू अहिले पत्रकारितामा छैनन् ।

२०६६ सालमा रेडियो धु्रवतारा सामुदायिक एफ.एम. सञ्चालन गर्दा ११ जना महिला सञ्चारकर्मी थिए भने पञ्चकोशी एफ.एम.मा १९ जना पत्रकार महिलाहरू थिए । दैलेखको पहिलो पत्रिका धमाका दैनिकमा मात्रै १३ जना पत्रकार महिलाहरू कार्यरत थिए । दैलेखमा सञ्चालन भएका विभिन्न मिडिया हाउसमा २०७३ सालसम्म झण्डै १७÷१८ जना महिला सञ्चारकर्मी थिए । तर, अहिले मुस्किलले ९-१० जना पत्रकार महिला जिल्लामा कार्यरत छन् ।

दैलेखका पत्रकार विष्णु शर्मा फलानोले यस्तो भन्यो, अरुले के भन्छन् जस्ता कुरालाई मनमा राखेर काम गर्न सजिलो नहुने बताउछन् । पुरुष सरह महिलालाई खुलेर काम गर्ने वातावरण नभए पनि एक्काइसौँ शताब्दीका महिलाहरूले अब पनि कसैसँग डराएर, लजाएर पछि हट्न नहुने तर्क गर्छन् । भन्छन् ‘कुकुर भुक्दै गर्छ हात्ती लम्किदै गर्छ भने जस्तै समाजका अनावश्यक टिका टिप्पणी र तुच्छ आलोचनासँग महिलाले डराएर होइन सामना गरेर काम गर्नुपर्छ ।’ महिलाको अर्थपूर्ण सहभागिता बिना पत्रकारिता पेसा मर्यादित, व्यवस्थित, समावेशी र विविधतायुक्त हुन नसक्ने भन्दै पत्रकारितामा महिलालाई टिकाउनका लागि विभिन्न खालका प्रोत्साहनमूलक कार्यक्रमको आवश्यकता रहेको पनि शर्मा औंल्याउछन् ।

पत्रकारिता जतिबेला जे आई पर्छ गर्न तयार छु भन्ने आँट भएकाले मात्रै गर्ने पेसा भएकाले विभिन्न खाले जोखिम व्यहोर्न सक्ने आँट र क्षमता भएका मान्छे मात्रै पत्रकारितामा टिक्न र बिक्न सक्छन् भन्छन्, शर्मा । तर यसका लागि पनि सञ्चार गृह र सरकारको महिला टिकाउने नीति र सहयोग आवश्यक रहेको उनी बताउछन् ।

पत्रकार महिलाहरूलाई पेसामा टिकाइ राख्ने खालको राज्यको नीति नहुनु, आफ्नो सञ्चार माध्यमलाई समावेशी बनाउन सञ्चार गृहको आफ्नै पनि नीति नहुनु, सञ्चार माध्यमहरूले समयमा उचित पारिश्रमिक नदिनु, पत्रकार महिलाहरूलाई पत्रकार पुरुषसरह समाजमा स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने, संगत गर्ने छुट नहुनु, आर्थिक रुपमा विपन्न हुनु, उच्च शिक्षाको लागि जिल्ला बाहिर जानु, विवाह, पारिवारिक बोझ लगायतका कारणहरू पनि महिलाहरू पत्रकारिता पेसामा टिकिरहन नसक्नुका कारण हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!