कालापहाड जाने युवाशक्तिलाई गाउँमै रोजगार दिने गाउँपालिकाको तयारी : वडाअध्यक्ष विश्वकर्मा
मातृभूमी संवादाता । २७ वैशाख दैलेख
परिवार पाल्नकै लागि भारतका विभिन्न ठाउँमा पसिना बगाउन बाध्य दैलेख पश्चिमका युवा गाउँमै बसेर काम गर्न पाउँदा निकै खुसी भएका छन् । तर कामकै लागि भारतका विभिन्न ठाउँमा मजदुरी गर्दै जीवन बिताएका दुर्गम गाउँका अधिकांश युवा आफ्नै ठाउँमा रोजगारी नपाइने भएपछि अझै पनि कालापहाडमा भारी बोकी गुजारा चलाउन बाध्य छन् ।
भारतमै मजदुरी गरेर आधा जीवन बिताएका दैलेखका कासे कामी आफूले पराई मुलुकमा पाएको दुःख सम्झँदै भन्छन्, ‘आधा जीवन कालापहाडमै बिताएँ, अहिलेको जस्तो गाउँमै केही काम पाएको भए परिवारबाट टाढा रहेर अर्काको मुलुकमा पसिना बगाउनुपर्थेन, अब कालापहाड जानुभन्दा गाउँकै बारीमा पसिना बगाउँछौँ ।’
संघीयतापछि स्थानीय सरकार स्थापना भएसँगै क्षेत्र विकास कोषको २५ लाख बजेटमा ठाटीकाँध गाउँपालिका २ को प्याडुली भैरवस्थान हुँदै गाउँपालिकाका सदरमुकाम ठाटीकाँध बजारसम्म पुग्ने प्रशासकीय सडकमा दुई सय ५० जना भन्दा स्थानीय महिला र पुरुषले काम गरिरहेकाे ठाँटिकाँध गाउँपालिका २ का वडा अध्यक्ष रूपमलाल विश्वकर्माले वताए ।
उनले अबका दिनमा कालापहाड जाने सबै युवा जनशक्तिलाई गाउँमै रोजगारी दिने लक्ष्यका साथ गाउँपालिकाले काम गरिरहेको बताए । उनले भने ‘स्थानीय स्तरमै रोजगारी दिएपछि असिना पीडितलाई पनि निकै ठूलो राहत हुन्छ । ‘ गत चैतमा आएकोे असिना पानीले यस क्षेत्रका स्थानीयको बालीनालीमा ठूलो क्षति गरेको थियो ।
बिहान बेलुकी घरको काम र दिउँसो सडक खन्ने काम गरिरहेका स्थानीय परिवारसँगै सडक खन्ने काम पाउँदा खुसी छन् । हातमा गैटी वेल्चा लिएर आफ्नै सुरमा काम गरिरहेकी सोही ठाउँकी एकल महिला काली सुनार भन्छिन्, ‘कमाउने मान्छे नहुँदा हातमुख जोर्न हम्मे-हम्मे हुन्थ्यो, अहिले स्थानीय सरकारले गाउँमै काम दिएपछि जिविका चलाउन केही सहज भएको छ ।’ उनले दिनको सात घण्टा काम गरेर पाँच सय कमाउने र कमाएको पैसाले नुनतेल किन्न पुगेको बताइन् ।
स्थानीय दलबहादर सुनारले पराई मुलुकमा काम गर्दा गाउँघर आफन्त सम्झेर कैयौँ पटक रोएको बताए । उनले भने, ‘परदेशमा काम गर्न सजिलो छैन । अब कालापहाडको भारी बोक्नु भन्दा आफ्नै खेतबारीमा काम गर्छु, कालापहाड त नाम जस्तै कालो हुँदो रहेछ ।’