सरकारको बेथितिका विषयमा प्रतिपक्षले गर्नै पर्ने बिरोध गर्न नसकेको टिप्पणी

मातृभूमी संवादाता । १० जेठ दैलेख
नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य चक्रप्रसाद शर्माले सत्तारुढ पार्टीको बेथिति विषयमा प्रतिपक्षले गर्नै पर्ने बिरोधका कार्यक्रम गर्न नसकेको टिप्पणी गरेका छन् । मोहन वैद्य नेतृत्वको सो पार्टीका पोलिटव्यूरो सदस्य हर्कबहादुर शाहीको ४५ औं थितिको अवसरमा बिहीवार दैलेखमा भएको स्मति सभामा बोल्दै उनले सो धारणा राखेका हुन् ।
‘निर्मला पन्तको बलात्कार पछि हत्या घटना, वाइडबडी घोटाला, ३३ किलो सुन काण्ड, मिडिया काउन्सिल विधेयक लगायतका विषयमा प्रतिपक्षले संसदमा जोडदार आवाज उठाएको भए सडकबाट आफ्नो पार्टी सरकारलाई सच्याउन सकिन्थ्यो’ केन्द्रीय सदस्य शर्माले व्याख्या गरे ।
शर्माले अगाडि भने मिडिया काउन्सिल विधेयकबारे सरकारका मन्त्रीहरु भने रे ‘अमेरिकामा गलत समाचार लेखे १० लाख डलर सजायँ हुने व्यवस्था छ ।’ अनि चीनमा भ्रष्टाचार गर्नेलाई फाँसी दिने सजायँ छ यो किन नभनेका ? दुईतिहाईको सरकारले आफू अनुकूलको व्याख्या गरेर मात्र बस्ने होइन ।
कार्यक्रममा पूर्वराज्य मन्त्री गणेशबहादुर खड्काले दैलेखी कम्यूनिष्ट आन्दोलनको अग्रज हर्कबहादुर शाहीले जीवनकालमा गरेको राम्रा कामको अनुशरण गर्न निर्वाचित जनप्रतिनिधिहरुलाई सुझाव दिए । उनले स्थानीय तहका जनप्रतिनिधिहरु सुविधा भोगी भएको टिप्पणी गरे ।
त्यस बखत प्रतिनिधिसभाका सदस्य पार्वतीकुमारी बिशुन्केले पठाएको सन्देश पढेर सुनाइएको थियो । सन्देशमा साँसद विशुन्केले स्वर्गीय शाहीले पञ्चायती व्यवस्थामा जिल्लाको कम्यूनिष्ट आन्दोलनलाई संगठित गर्दै जनपक्षीय जनप्रतिनिधिको रुपमा उपेक्षित, उत्पीडित समुदायको चेतना उठाउन गर्नुभएको योगदान प्रशंसनीय रहेको उल्लेख गरेकी छिन् ।
संविधान सभाका पूर्वसभासद भरतकुमारी रेग्मीले हर्कबहादुर शाही दैलेख कम्यूनिष्ट आन्दोलनको अभिभावक भएको बताइन् । कार्यक्रममा पूर्व जिविस सभापति टेकबहादुर खाँणले स्वर्गीय शाहीले गर्नुभएको योगदान इतिहास लेखिनु पर्ने सुझाव दिए ।
हर्कबहादुर शाही स्मृति प्रतिष्ठानका अध्यक्ष एवं नेकपाक्रा न्तिकारी माओवादीका केन्द्रीय सदस्य दीपकबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वजिविस उपसभापतिहरु सूर्यबहादुर शाही, खड्गबहादुर सिजापती, राजनीतिक नेताहरु मणीराम रेग्मी, लक्ष्मीकुमार बिक, केहरसिंह बुढा, बीरेन्द्र शाही, शिवसुन्दर शाही, अम्मरबहादुर नेपाली, निमित्त समन्वय अधिकारी पदम सापकोटा, सामाजिक सेवा केन्द्रका अध्यक्ष हीरासिंह थापा लगायतले स्वर्गीय शाहीको राजनीतिक योगदानबारे प्रकाश पारेका थिए ।
स्वर्गीय शाहीको देहवसान पछि ५ दिनमै क्रिया सकेको विषयमा पारिवारिक र सामाजिक आलोचना खेप्नु भएका नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य दीपकबहादुर शाहीले बुबाको इच्छा स्वास्थ्य विज्ञानमा अन्वेषणका लागि अस्पताललाई लास दिनू भन्नुभएको थियो तर हिन्दू संस्कार अनुसार काजक्रिया गर्दा पनि अपजस भोग्नु परेको टिप्पणी गरे ।
स्मृति सभामा हर्कबहादुर शाही स्मृति प्रतिष्ठानका अध्यक्ष दीपकबहादुर शाहीले स्मृतिसभामा स्थानीयतह र प्रदेशसभाका जनप्रतिनिधिहरुले बेवास्ता गरेको प्रति रोष प्रकट गरे । ‘जिल्लाको कम्यूनिष्ट आन्दोलनमा हर्कबहादुरकै चेला हुँ भन्नेहरु नआएकोमा दुःख लागेको छ’ उनले भने ।
प्रस्तावित हर्कबहादुर शाही स्मृति प्रतिष्ठानले चामुण्डामा बालविकास केन्द्र स्थापना, दाङ्गमा अध्ययरत बालबालिकाहरुलाई छात्रबृति दिइएको र कृषि क्षेत्रमा अन्वेषणको काम गर्न लागिएको छ । २००२ साउन १५ गते चामुण्डाबिन्द्रासैनी नगरपालिका ४ मा जन्मेका शाहीको गत चैत २६ गते काठमाण्डौंमा निधन भएको थियो ।
२०४३ सालमा जनपक्षीय उम्मेदवार भई चामुण्डा गाउँ पञ्चायतको प्रधानपञ्चभएको बेला दैलेखमा मदिरा बिरुद्ध जिल्लाव्यापी आन्दोलन चलिरहेको बेला पञ्चायत बिरुद्ध लागेको भन्दै उनी लगायतलाई १९ दिन प्रहरी हिरासतमा राखिएको थियो ।
२०६४ को संविधानसभा निर्वाचन पछि नेपाल मजदूर किसान पार्टीको केन्द्रीय सदस्य छोडेर तत्कालिन नेकपा माओवादी पार्टीमा प्रवेश गरेका शाही २०६९ असारमा मोहन बैद्यको नेतृत्वमा गठन भएको नेकपा (क्रान्तिकारी) मा जुटेकोमा त्यसको २ वर्ष पछि विप्लव समूह छुट्टिए पछि पनि बनाइएको नेकपा (क्रान्तिकारी माओवादी) मा उनले निरन्तरता दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *