चामुण्डामा लैङ्गिक उत्तरदायी सम्बन्धि प्रशिक्षण

मातृभूमी संवादता । जेष्ठ १६ चामुण्डा (दैलेख)
चामुण्डाविन्द्रासैनी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरुका लागि लैङ्गिक उत्तरदायी बजेट सम्बन्धि तीन दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । विहिबार जम्बुकाँधमा महिला प्रशिक्षण केन्द्र सुर्खेतको सहयोग र चामुण्डाविन्द्रासैनी नगरपालिकाको आयोजनामा तीन दिने प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाहीले महिलाहरु चुलोचौकोमा मात्र सिमित नरहि अब क्षमता अभिवृद्धि गरि मुलुकको नेतृत्व गर्न आग्रह गरे । उनले भने ‘हाम्रो समाजमा महिला असक्षम छन्, महिलाले कुनै पनि निर्णय गर्न सक्दैनन् र महिलालाई नेतृत्वमा बसाल्न हुदैन भन्ने रुढिवादी सोच छ । त्यो गलत सोच हो । समाजमा कायम रहेको यस्तो रुढिवादी सोच विचार भन्दा माथि उठेर नगरपालिका र देशको नेतृत्वमा गर्नुपर्छ ।’
नगर–प्रमुख शाहीको अध्यक्षतामा भएको कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक विक, वडा नं. ३ का वडाअध्यक्ष निरकबहादुर शाही, कार्यपालिका सदस्य खजुरा नेपाली, मानकुमारी विक र धनकुमारी शाहीको उपस्थिति रहेको थियो । नगरपालिकाका सबै वडाका महिला जनप्रतिनिधि कर्मचारी तथा सरोकारवाला गरी करिव ३६ जना सहभागि रहेको कार्यक्रममा गंगाराम दाहाल र चामुण्डाविन्द्रासैनी नगरपालिका विषय विज्ञ रविन्द्रबहादुर शाहीले प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *