अघोषित लोडसेडिङले दैलेखवासीमा मारमा
मातृभूमी संवादाता । २० जेष्ठ दैलेख
दैलेखवासीले अघोषित लोडसेडिङको मार खेप्नु परेको छ । लोडसेडिङ नभए पनि छिनछिनमा विद्युत जाने समस्याले उपभोक्ताले निकै हैरान भएका छन् । लोडसेडिङ छैन, तर विद्युत पनि छैन । यस्तै समस्याको मारमा छन् दैलेखका बासिन्दा । कतिबेला विद्युत आउँछ । कतिबेला जान्छ, ठेगान नै हुँदैन नारायण नगरपालिका ७ का नमराज थापाले भने,’ ‘सामान्य हावा चल्ने वित्तिकै बत्ती जान्छ कति बेला आउँछ पत्तै हुँदैन ।’
विद्युत प्राधिकरणले न उपभोक्तालाई विद्युत जाने सूचना दिन्छ न आउने नै । छिनछिनमा विद्युत जाँदा सरकारी कर्मचारी र संचारकर्मी निकै मारमा छन् । अहिले दैलेखमा पटक पटक विद्युत अवरोध लोडसेडिङले नभई प्राविधिक समस्याले भएको विद्युतका कर्मचारी बताउछन् । विद्युत प्राधिकरण दैलेख वितरण केन्द्रको फोन नं. ०८९४१०१३० मा फोन गर्दा ‘सिस्टममा आएको खराबीले समस्या देखिएको र कोहोलपुरवाटै समस्या आएको हो भन्ने जवाफ पाईने गरेको नारायण नगरपालिका २ का टोपेन्द्र थापाले वताए ।
दैलेखका साथै सुर्खेत, जाजरकोट, सल्यान र पश्चिम रुकुमको कुनै पनि ठाउँमा विद्युतमा कुनै खराबी आए सिधैं कोहलपुर स्टेशनबाटै विद्युत बन्द हुने गरेको छ । जसका कारण पनि यी पाँच जिल्लाका वासिन्दा अघोषित लोडसेडिङ्गको सास्ती खेप्न बाध्य छन् ।’
कतिपय अवस्थामा मर्मतमा ढिलाई हुने र कतिपय अवस्थामा सिस्टमले नै काम नगर्दा समस्या हुने गरेको छ । हिजोआज दैलेखमा दैनिक २० औं पटक विद्युत अवरुद्ध हुने गरेको छ । दैलेखको ठालुडाँडामा सबस्टेशन बनाउने कार्य भइरहेको भएपनि निर्माणमा ढिलासुस्ती हुँदा थप समस्या भएको छ ।