भगवतिमाई गाउँपालिकामा श्रम बैंक स्थापनाको तयारी

मातृभूमी संवादाता । २८ असार दैलेख
भगवतीमाई गाउँपालिकाले डोजरबाट हुने विकास निर्माण रोक्न श्रम रोजगार बैंक स्थापनाको तयारी गरेको छ । गाउँपालिकाका अनुसार विकास निर्माणका नाममा हुने विकृति र वातावरणीय क्षति न्यूनीकरणका लागि डोजर प्रयोग कम गर्न लागिएको हो । विकासका नाममा हुने डोजरको प्रयोगलाई निरुत्साहित गर्न र स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्न श्रम रोजगार बैंक स्थापना गर्न थालिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए ।
‘असारे विकासको चटारोमा डोजरको प्रयोग गर्दा विनाश निम्त्याएको छ,’ उनले भने, ‘डोजर प्रयोगकै कारण सामान्य पानी परे पनि गाउँहरू पहिरोको उच्च जोखिममा पर्न थालेका छन् ।’ डोजरको विस्थापनसँगै बेरोजगार युवाले गाउँमै रोजगार पाउने उनको भनाइ छ । गाउँपालिकाका सम्पूर्ण योजनामा वडाबाट छनोट भएका श्रमिक परिचालन गरिने उनले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले १८ देखि ४० वर्ष उमेर समूहका बेरोजगार युवायुवतीलाई उच्च प्राथमिकतामा राखी रोजगारी दिने योजना बनाएको हो । सबै वडाबाट छनोट भएका श्रमिकको समूह बनाएर विकास निर्माणका काममा परिचालन गरिने गाउँपालिका अध्यक्ष थापाले जनाए ।
प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खडकाले श्रम रोजगार बैंक स्थापना गरेपछि युवालाई गाउँपालिका बाहिरका विकास निर्माणका काममा समेत लगाउन सकिने जनाए । ‘अन्य स्थानीय तहलाई आवश्यक परेको खण्डमा सम्झौता गरी श्रमिक उपलब्ध गराउन सकिनेछ,’ उनले भने, ‘वार्षिक नीति तथा कार्यक्रम अनुसार बैक स्थापनाको तयारी थालेका छौं ।’ रोजगार बैंक स्थापनापछि १ वडामा २० बेरोजगारले रोजगारी पाउने उनले जानकारी दिए । कार्यक्रम अनुसार गाउँपालिकाका १ सय ४० जनाले रोजगार पाउने उनको भनाइ छ ।
श्रम रोजगार बैंक स्थापनापछि रोजगारी खोज्दै भारतका विभिन्न ठाउँमा जानुपर्ने बाध्यताको अन्त्य हुने स्थानीयको भनाइ छ। भगवतीमाई ५ का गोविन्द थापाले यसअघि करोडौं रकम डोजर प्रयोगका नाममा बाहिरिएको बताए । ‘अब स्थानीयस्तरमै रोजगारीका अबसर सिर्जना हुने अपेक्षा छ,’ उनले भने, ‘श्रम रोजगार बैंकले विकासमा हुने विकृति रोक्नसमेत भूमिका खेल्नेछ ।’
‘गाउँपालिकाको समृद्धिको आधार, सामाजिक विकासमा हरेक पक्षमा युवाहरूको हात’ नारासहित कार्यक्रम सञ्चालन गर्न लागिएको हो । गाउँपालिकाका इन्जिनियर शैलेश शर्माले आगामी आवमा अप्ठ्यारो स्थानमा मात्र डोजरको प्रयोग गरिने जानकारी दिए । उनका अनुसार गाउँपालिकामा जुनसुकै काम पनि छनोट भएका श्रमिकबाट गराउने योजना छ । सडक, कुलो, पर्खाल, नालीजस्ता काममा स्थानीय जनशक्ति परिचालन गरिने उनी बताउँछन् ।
श्रम रोजगार बैंकको सदस्य भएपछि गाउँपालिकाले चाहेको खण्डमा आवश्यकीय, निःशुल्क र सशुल्क, सुरक्षा सेवा, प्रकोप न्यूनीकरणजस्ता कामहरू गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत खड्काले जनाए । उनका अनुसार बैंकलाई व्यवस्थित गर्न कार्यविधि समेत बनाएको छ ।
श्रम रोजगार बैंकमा अन्य श्रमिक वडाबाट छनोट गरे पनि अध्यक्ष र मुख्य व्यवस्थापक भने गाउँपालिकाले छनोट गर्ने कार्य्विधि बनाइएको छ । ‘प्रत्येक वडामा २० जनाको समूह बनाइनेछ, जसमा एकजना प्राविधिक र व्यवस्थापक अनिवार्य हुनेछन्,’ उनले भने, ‘श्रमिकका लागि १० लाख रुपैयाँको बिमा गर्ने हाम्रो तयारी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *