न्यायको लडाई अझै सकिएको छैन : अध्यक्ष केसी

मातृभूमी संवादाता । २७ श्रावण दैलेख
नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष चक्र केसीले तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले अपहरण गरी हत्या गरिएका पत्रकार डेकेन्द्र थापाका हत्याराहरु अझै फरार रहेकाले कानुनी कठघरामा ल्याउन सरोकारवाला पक्षलाई आग्रह गरेका छन् । स्वर्गीय पत्रकार डेकेन्द्रराज थापकोे १५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा वोल्दै अध्यक्ष केसीले हत्याराहरुलाई कानुनी कठघरामा नउभ्याएसम्म न्यायको लडाई जारी राख्ने वताएका हुन् ।
नेपाल पत्रकार महासंघ दैलेखद्धारा आयोजित कार्यक्रममा वोल्दै अध्यक्ष केसीले पत्रकार थापाका हत्याराहरु खुलेआम हिडिरहेका वेला सरोकारवाला निकायले चासो नदिएको प्रति दुख व्यक्त गरे । ‘हत्याराहरु पक्राउ नपरुन्जेल हाम्रो आन्दोलन जारी रहने छ’ अध्यक्ष केसीले भने, ‘सरोकारवाला पक्षले छिटो भन्दा छिटो हत्यारा पक्राउ गरी आम पत्रकारलाई न्याय दिलाउन सक्नुपर्छ ।’
नेपाल पत्रकार महासंघ दैलेखका पूर्व अध्यक्ष विष्णु शर्माले पत्रकार थापाका हत्यारालाई पक्राउ गरी छिटो भन्दा छिटो कारवाही पक्रिया अगाडि वढाउन आग्रह गरेका छन् । स्मृति सभामा पत्रकार अमर सुनार नारायण नगरपालिका दैलेखकी उपमेयर सावित्री मल्ल लगाएतले पत्रकार थापाका हत्यारालाई कारवाही गर्न माग गरेका थिए । पत्रकार थापालाई दैलेख बजारमा संचालित खानेपानीको पाईप लाईन काटेर खानेपानी अवरुद्ध गरेपछि खानेपानीको विषयमा छलफल गर्न गएको समयमा २०६१ साल असार १२ गते माओवादीले थापालाई अपहरण गरेका थिए ।
पत्रकार थापालाई माओवादी कार्यकर्ताद्धारा अपहरण गरेको ४८ दिन पछि दैलेखको साविकको द्धारी गाविसको नेरा निमाविमा निर्ममता पूर्वक हत्या गरिएको थियो । झण्डै ४ वर्ष पछि मानव अधिकारवादी संघ संगठन र नेपाल पत्रकार महासंघ दैलेखको पहलमा शव उत्खनन गरेर सांस्कृतिक दाह संस्कार पुरा गरिएको थियो ।
हत्यामा संलग्न मुख्य आरोपीत अझैपनि फरार छन् । दैलेखी संचारकर्मीहरुले पत्रकार थापाका हत्यारालाई कारवाहीको माग गर्दै आएका छन् । पत्रकार थापको स्मृति दिवसको अवसरमा सोमवार सदरमुकाममा प्रभातफेरी पश्चात डेकेन्द्र चोकमा रहेको स्वर्गीय पत्रकार थापाको शालिकमा सञ्चारकर्मी आम नागरिकहरुले माल्र्यापण गरी सम्झना गरिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *