टाकटुके जात्रा सम्पन्न, आज गाईजात्रा मनाईदै
मातृभूमी संवादाता । ३१ श्रावण दैलेख
एक महिना लामो बर्षे मेला अन्र्तगत विहिवार दैलेख सदरमुकाममा टाकटुके जात्रा निकालिएको छ । खासगरी नेवारी समुदायले निकाल्ने टाकटुके जात्रा अहिले दैलेखका विभिन्न समुदायले पनि मनाउने भएपछि यो जात्रा दैलेखमा सबैको साझा जस्तै बनेको छ । जात्रामा बाजाका साथ अग्लो लिंगोमा मान्छेको आकृती बनाई सारी बेरेर लठ्ठी हान्दै यो मेला मनाईन्छ । प्राय नेपाली भेष भूषामा सजिएका यूवाहरुले यसको नेतृत्व गर्ने गर्दछन् भने बालबालिकाहरुले पनि यसलाई साथ दिदै जात्रामा थप उर्जा दिने गर्दछन् । विगतमा सदरमुकाममा मात्र मनाईने यो जात्रा अहिले माथिल्लो डुंगेश्वर, चुप्रा, दुल्लु, नौमुले लगाएतका ठाउँमा समेत मनाउने गरिन्छ । आज दैलेख सदरमुकाममा निकालिएको मेलामा सदरमुकाम आसपासका क्षेत्रका सर्बसाधारणले अवलोकन गरेका थिए ।
भगवती क्लब, न्यू ज्वाला क्लब, एभरेष्ट क्लव र सुनगाभा क्लवले यस वर्षको लाखे जात्रा निकालिरहेका छन् । परम्परालाई लोप हुन नदिन जात्रालाई थप आकर्षक बनाउदै लैजाने न्यू ज्वाला क्लबका अध्यक्ष विसाल सुनारले जानकारी दिए । नेवार समुदायको मेला भए पनि दैलेखमा भने यस मेलाले सबैको साझाँ मेलाका रुपमा पहिचान बनाएको अध्यक्ष सुनारले बताए । गाँठेमंगल अर्थात घण्टाकर्णको पुजाका दिन देखि शुरु हुने यो मेला अन्तरगत टाकटुके, गाईजात्रा, रोपाई जात्रा, बाग जात्रा र कृष्ण जन्माञ्टमीमा कृष्ण जन्माई कंश अर्थात लाखे मारे पछि यो जात्रा सकिन्छ । टाकटुके जात्रा खास गरीकन रक्षा बन्धनका दिन निकालिन्छ । साथै आज विभिन्न प्रजातिका टुसाएका अन्नको क्वाटी खाने चलन पनि रहि आएको छ ।
यस्तै आज (शुक्रवार) गाईजात्रा मनाईदै छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम सहित आरम्भ हुँदैछ । आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा आज पनि जारी छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देख्न सकिन्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।
व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै २०१७ पुस १ गतेको शाही कूपछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । संस्कृतिविद् सत्यमोहन जोशी २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्य व्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको बताउँछन् । हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने उनको भनाइ छ ।
जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् ।
आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ ।