भौतिक पूर्वाधार विकास मन्त्रीमा दैलेखका सांसद थापाको चर्चा

मातृभूमी संवादाता । ९ भाद्र दैलेख
बैंकिङ कसुरमा अदालतको पक्राउ आदेशपछि तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री बर्खास्त गरिए । तत्कालका लागि उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैंले सम्हालिरहेका छन् ।
खत्री बर्खास्त भएसँगै रिक्त भएको मन्त्री पद हात पार्न नेकपाका सांसदको दौडधुप सुरु भएको हो । कर्णालीमा एकल सरकार सञ्चालन गरिरहेको नेकपाभित्र मन्त्री बन्न पूर्वएमाले सांसदबीच रस्साकस्सी नै छ । एकताका क्रममा भौतिक मन्त्रालय पूर्वएमालेको भागमा परेको थियो ।
त्यसकारण पनि खाली मन्त्रालयको नेतृत्व हात पार्न उनीहरूभित्रै दौडधुप बढी छ । मन्त्रीका लागि यतिबेला नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाह, सांसद करवीर शाही, चन्द्रबहादुर शाही र अम्मरबहादुर थापाको नाम चर्चामा छ ।
नेकपाको कर्णाली प्रदेशका सहसंयोजक रहेका यामलाल कँडेलका विश्वासपात्र मानिएका गुलावजंग नै भौतिक मन्त्री बन्ने नेकपाका एक सांसदले बताए । ‘पहिला पनि याम कमरेडकै जोडबलमा खत्री मन्त्री बनेका थिए’, ती सांसदले भने, ‘अब पनि उहाँ (कँडेल) ले चाहेको मान्छे नै मन्त्री बन्छ, त्यसका लागि उपयुक्त पात्र गुलावजंग नै हुन् ।’ गुलावजंगलाई मन्त्री बनाउँदा सरकारलाई लगाम लगाउन सकिने र आफू अनुकूल चलाउन सकिने दाउमा कँडेल पक्ष रहेको उनको भनाइ छ ।
मुगुबाट निर्वाचित सांसद चन्द्रबहादुर शाही पनि मन्त्रीको चर्चामा छन् । पूर्वएमालेभित्र माधव नेपाल पक्षले शाहीलाई मन्त्री बनाउने कसरत गरिरहेको छ । यसअघि प्रदेश सरकार गठन हुँदा अन्तिममा सांसद शाही मन्त्रीमा पर्न सकेका थिएनन् । त्यही झोंकमा उनले सांसद पदबाटै राजीनामा दिए । तर नेतृत्वले पछि अवसर दिने आश्वासन दिएपछि उनले फिर्ता लिएका थिए । त्यसैले पनि यही मौकामा सांसद शाही मन्त्री बन्ने दौडमा छन् ।
दौडमा जाजरकोटबाट निर्वाचित सांसद करवीर शाही पनि छन् । नेकपा स्रोत भन्छ, ‘जाजरकोटले यसअघि मन्त्री पाएको छैन, यसकारण पनि शाही मन्त्रीका लागि बलिया दावेदार हुन् । उनी (करवीर) को हकमा त मुख्यमन्त्री शाही नै सकारात्मक हुनुहुन्छ, सम्भवतः उहाँ नै मन्त्री बन्ने देखिन्छ ।’
पूर्वएमालेभित्र शाही माधव नेपाल पक्षका हुन् । तर उनलाई आफ्नो पक्षमा पारेर मन्त्री बनाउने तयारीमा अध्यक्ष केपी ओली पक्षका नेता नै लागि परेको स्रोतले जानकारी दियो । यसबाट शाहीको मन्त्री हुने लगभग पक्का भएको पूर्वएमालेभित्र चर्चा छ । मन्त्री बन्ने सम्भावना बलियो भएपछि सांसद शाही नेतृत्वसँग लबिङ गर्न काठमाडौंमा छन् । उनले भने, ‘मन्त्रीका लागि आकांक्षी त धेरै छन्, तर जाजरकोटले हालसम्म अवसर पाएको छैन । यसकारण मेरो दाबी हो, न्यायिक पनि यही हुन्छ ।
दैलेखबाट निर्वाचित सांसद अम्मरबहादुर थापा पनि दौडधुपमै छन् । यसअघि सरकार गठन हुँदा अन्तिममा उनी मन्त्री बन्न पाएका थिएनन् । त्यसबेला पूर्वएमाले भित्रको समीकरण मिलाउँदा अन्तिममा उनी बाहिर परेका थिए । ‘यसअघि उहाँ (थापा) मन्त्री बन्न नसकेपछि अहिले हामीसँग नजिक हुनुहुन्छ’, ओली पक्षका एक सांसद भन्छन्, ‘मन्त्रीका लागि गुलावजंगपछि थापाकै सम्भावना बलियो छ, शाह नभए थापा नै मन्त्री हुने पक्का हो ।’
मन्त्री बन्नेको चर्चा जारी रहँदा सांसद गुलावजंग शाहले भने, ‘सांसद भएपछि साथीहरूमा मन्त्रीको आकाक्षां हुनु स्वाभाविक हो, चर्चा हुन्छ नै । तर हामी संसदीय दलको बैठकबाट यसको टुंगो लगाउने छौं, सहमतिबाटै मन्त्री छनोट हुनेछ ।’ अव मन्त्रिको वाजी कस्ले मार्छ त्यो भने हेर्न वाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *