‘साहो’को बजेटमा बन्छन् पौने चार सय नेपाली चलचित्र

मातृभूमी संवादाता । ९ भाद्र काठमाण्डाै

बहुप्रतिक्षित हिन्दी चलचित्र ‘साहो’ यही साता रिलिज हुँदैछ । ‘साहो’ विग बजेटको चलचित्र हो । ‘साहो’ ३५० करोड भारतीय रुपियाँमा बनेको चलचित्र हो । ३५० करोड भारतीय रुपियाँको नेपाली रुपैयाँ पाँच अर्ब ६० करोड हुन्छ । नेपालमा औसत डेढ करोडमा नेपाली चलचित्र बन्दै आएका छन् । ‘साहो’ निर्माणमा खर्चिएको पाँच अर्ब ६० करोड रुपैयाँमा नेपालमा औसतमा ३७३ वटा चलचित्र बन्छन् । यो संख्या हिसाब गर्दा नेपालमा पौने चार वर्षमा बन्ने चलचित्र बराबर हो । नेपालमा बर्सेनि करिब एक सयवटा चलचित्र निर्माण हुन्छन् । गत वर्ष ९६ वटा चलचित्र हलमा रिलिज भएका थिए ।
हिन्दी चलचित्र र नेपाली चलचित्र एकै समय नेपालमा प्रदर्शन हुने गरेका छन् । एउटै चलचित्र घरमा नेपाली र हिन्दी चलचित्र उही टिकट दरमा प्रदर्शन हुन्छ । त्यसैले नेपाली चलचित्रकर्मी बिग बजेटमा बनेका हिन्दी र अंग्रेजी चलचित्रसँग नेपाली चलचित्रको तुलना गर्न नहुने बताउँदै आएका छन् । नेपाली चलचित्रलाई निर्माण र प्रदर्शनमा सहुलियत दिनुपर्ने उनीहरुको तर्क छ ।
‘साहो’मा साउथ सुपरस्टार प्रभास र श्रद्धा कपुर मुख्य भूमिकामा छन् । चलचित्रको थिएट्रिकल राइट्स ३२० करोडमा बिक्री भइसकेको छ । यसमा स्याटेलाइट्स र वेब प्लाटफर्मको राइट्सको कमाइ जोडिएको छैन । स्याटेलाइट्स र वेब प्लाटफर्मको राइट्स बिक्री हुन बाँकी नै छ । यी दुई राइट्स बिक्री हुँदा ‘साहो’ले रिलिज अगाडि नै लगानी उठाएर नाफा गरिसकेको हुने छ ।
चलचित्र ‘साहो’ यो वर्षको सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बन्ने भारतीय सञ्चारमाध्यमले अनुमान गरेका छन् । ‘साहो’मा प्रभासले एक सय करोड पारिश्रमिक लिएका छन् । यो पारिश्रमिक भारतमा हालसम्मकै सबैभन्दा धेरै हो । प्रभास भारतमा सबैभन्दा महँगा अभिनेता बनेका छन् । यद्यपि एक अन्तर्वार्तामा प्रभासले एक सय करोड पारिश्रमिक नलिएको बताएका छन् । एक्सन चलचित्र ‘साहो’को ट्रेलरमा देखाएका फाइट, भीएफएक्स, स्टन्ट सिन आकर्षक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *