तीजलाई महँगो र भड्किलो नबनाऔँ

मातृभूमी संवादाता । १५ भाद्र दैलेख
नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तीज नजिकिँदै गर्दा यहाँका बजारमा सामान किनमेल गर्नेको भीडभाड बढ्न थालेको छ । विशेषगरी छोरी चेली यस पर्वको किनमेलका लागि गएको हप्तादेखि नै व्यस्त छन् । अहिले दैलेखका विभिन्न बजारमा विशेष गरेर कपडा, चुरा पोते, गरगहनादेखि खाद्यान्न जस्ता सामान किन्ने दिदीबहिनीको संख्या दिनप्रतिदिन बढेको यहाँका स्थानीय व्यापारी बताउँछन् ।
स्थानीय व्यापारीले पनि तीजलाई लक्षित गरेर काठमाण्डौ, नेपालगञ्ज र सुर्खेतबाट नै यस्ता सामग्री खरीद गरेको बताउँछन् । दैलेख सदरमुकाममा किराना पसल गर्दै आएका व्यापारीहरु आफूहरु पहिलेको भन्दा हिजोआज सामान बेच्न व्यस्त रहेको बताउँछन् ।
तीज पर्व नजिकिँदै गर्दा विभिन्न संघसंस्थामा आबद्ध रहेकाले दर खाने र तीज गीत प्रतियोगिता कार्यक्रम राखेर तीज मनाउन थालेका छन् । तर विगतका वर्षभन्दा यस वर्ष भने जिल्लामा तीज आउन कैयौँ समय बाँकी हुँदैदेखि गरिने दर खाने कार्यक्रममा राख्ने गरेको पाईन्छ । एक स्थानीयले भने, ‘विगतका वर्षहरुमो तिजको दिन छोरी चेलिहरु व्रत वस्नु पर्ने भएकाले तिजको अघिल्लो रात दर खुवाउने गरिन्थ्यो । अहिले त तिज आउन धेरै दिन वाँकि रहँदै गर्दा दरखाने गरिन्छ ।’
परापूर्वकालदेखि चल्दै आएको यो पर्वलाई धार्मिक संस्कृतिका रुपमा मनाउने प्रचलन रहे पनि पछिल्ला वर्षमा तीज मनाउने चलनमा फरक शैली भित्रिएको छ । धार्मिक मान्यता अनुसार भगवान् शिवजी र पार्वतीको सम्बन्धसँग सम्बन्धित यो पर्वलाई अविवाहित महिलाले सुयोग्य पति पाउँ भन्दै र विवाहिताले श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई चिरस्थायी र सुमधुर बनाउन तीजको व्रत बसी पूजा आराधना गर्ने प्रचलन रहेको
छ ।
तीजमा खाने विशेष खानालाई दर भन्ने गरिन्छ । यस्तो दर तीजको हप्तौँअघिदेखि नै खाने गर्नाले भने यसबाट नेपालमा तीज पर्वका नाममा विकृति पनि भित्रिन सक्ने भन्दै चासो व्यक्त हुने गरेको छ । ठाँटिकाँध गाउँपालिका वडा नं. ४ का ८२ वर्षीया गौरा वडुवालले तीज पर्वलाई सबैले साझा पर्वका रुपमा मनाउनुपर्ने बताउँछिन् । उनी भन्छिन् यस पर्वलाई देखासिकी र भड्किलो नभई सरल तथा सहज तरिकाले मनाउनुपर्छ ।
तीज आउन एक महीना अघिदेखि नै दरखाने नाचगान गर्ने कपडा तथा गहना प्रदर्शन गर्ने, होटल तथा रेस्टुराँमा गई दरखाने गरेका दृश्य टिभी, सामाजिक सञ्जालमा देख्दा चिन्तित भएको नारायण नगरपालिका वडा नं. ७ का स्थानीय नमराज थापाको भनाई छ । उनले भने, ‘तीज पर्वलाई विकृतिरहित पर्व बनाउन सबै लाग्नुपर्छ र त्यो अहिलेको युवा पिंढिले नै गर्नुपर्छ ।’
तीज पर्वलाई सहज तथा सरलरुपमा मनाउनुपर्ने बताउँछिन् नारायण नगरपालिका वडा नं. १ कि सपना प्रधान । उनी भन्छिन्, ‘तीज आउनुभन्दा कम्तीमा तीनदिनदेखि यस्ता सरल खाले कार्यक्रम आयोजना भए राम्रो हुने थियो ।’ तीजको नाममा धेरै खर्च गर्ने, श्रीमान्को आयु लामो हुन्छ भन्दै तीजको दिनमा व्रत बस्ने गरेकोे देखेकी छु उनले भनिन् । शिक्षण पेशामा रहेकी प्रधानले परापूर्वकालदेखि चलिआएको यो पर्वका सकारात्मक पक्षलाई जोगाउँदै आफू पनि एक दिन व्रत बस्ने गरेको बताउँछिन् ।
नारायण नगरपालिका वडा नं. ११ मनकुमारी सुनारले तीज आउनुभन्दा धेरै दिन अघिदेखि नै देशका विभिन्न बजार क्षेत्रमा गरिने दरखाने कार्यक्रम, कपडा तथा गहना प्रदर्शनले गर्दा कतै तीज हुन खानेको मात्र पर्व त हुने होइन भन्ने लाग्ने गरेको बताउँछिन् ।
उनी भन्छिन्, ‘बरु तीज पर्वमा चेतनामूलक, शैक्षिक, सरसफाइ, जागरणका गीत गाउने, बृहत् सरसफाइजस्ता कार्यक्रम गर्ने र नारी अधिकारका सिर्जनात्मक कार्यक्रम गर्ने गरिएको छ यो राम्रो पक्ष हो ।’ तीज पर्वलाई आफूले आत्मीय पर्वका रुपमा मनाउने गरेको उनी बताउँछिन् ।
तीज पर्वका सकारात्मक पक्षलाई अनुशरण गर्नुपर्ने विचार राख्छिन् नारायण नगरपालिका वडा नं. १ की तप्ता थापा । तीज पर्व आफ्नै विशेषता र महत्व बोकेको पर्व रहेको थापाको भनाई छ । उनले तीज पर्वका नाममा तडकभडक, खर्चिलो, देखासिकी, गरगहना प्रदर्शन गरेर मनाउनु गलत रहेकाले त्यसो गर्न नहुने बताइन् । विगतका वर्षहरुमा मनाई तिज र अहिले मनाईने तिजमा आकाशपातालको फरक रहेको उनको वुझाई छ ।
तीज पर्वका नाममा धेरै विकृति देखिन्छ यो रोक्नुपर्छ उनी भन्छिन् । तीजलाई हुनेखाने वर्ग र हुँदा खाने वर्गबीचको बढ्दो दूरी कम गर्दै आफ्नो मौलिक संस्कृतिलाई संरक्षण गर्न सबै लाग्नुपर्ने उनले जोड दिईन् ।