दैलेखका अधिकांस स्थानीय तह अझै भाडाको घरमा

मातृभूमी संवादाता । १६ भाद्र दैलेख
दैलेखका अधिकांश स्थानीय तह भाडाकै घरबाट सञ्चालन भइरहेका छन् । स्थानीय सरकार गठन भएको दुई वर्ष बितिसक्दा समेत गाउँका सिंहदरबार भनिने यहाँका अधिकांश स्थानीय तहको आफ्नै भवन नहुँदा बर्सेनि लाखौं रकम भाडामै खर्च हुने गरेको छ ।
दैलेखका ११ वटा स्थानीय तह मध्ये ८ वटा स्थानीय तहले भाडाकै घरबाट सेवा प्रवाह गरिरहेका छन् । दैलेखका ११ स्थानीय तहमध्ये ३ वटा तहको आफ्नै भवनवाट सेवा दिईरहेका छन् भने ८ वटा तहले भाडाको घरबाट कार्यसम्पादन गर्दै आएका छन् । यहाँका ११ स्थानीय तहका ९० वडा कार्यालय मध्ये अधिकांस वडा कार्यालय भाडाकै घरबाट सञ्चालित छन् ।
भाडाको घरमा बस्ने हरेक स्थानीय तहले वार्षिक कम्तीमा पाँच लाखभन्दा बढी रकम भाडा तिर्नुपर्ने बाध्यता छ । आफ्नो भवन नबनेका कारण स्थानीय तहले कार्यालय व्यवस्थापन र कर्मचारी आवासका लागि घर भाडामा लिँदै आएका छन् । स्थानीय तहको आफ्नै भवन नबन्दा भाडाका साँघुरा घरबाट सेवा प्रवाह गर्नु परेको नौमुले गाउँपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए ।
उनका अनुसार गाउँपालिकाले तीन वटा घर भाडा लिएको छ । प्रशासनिक भवन, कर्मचारी आवास र न्यायिक समितिका लागि छुट्टा–छुट्टै भवन भाडामा लिएको हो । गाउँपालिकाका लागि आवश्यक पूर्वाधार निर्माण अलमलमा परेको नौमुले गाउँपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत कोइरालाको भनाइ छ ।
यस्तै, चामुण्डा विन्द्रासैनी नगरपालिकाले भाडामा लिएको भवन अपुग हुँदा विद्यालय भवन हडपेर दैनिक कार्य सम्पादन गर्दै आएको छ । भैरवी गाउँपालिकाका इन्जिनियर हीरासिंह थापाका अनुसार सबै वडाको भवन निर्माणका लागि एक करोड ८६ लाख रकम विनियोजन गरिएको छ । तर, जिल्लाका नारायण, दुल्लु नगरपालिका र महाबु गाउँपालिकाको आफ्नै भवन छन् ।
उता डुङ्गेश्वर गाउँपालिकाले साविक डाँडापराजुर गाउँ विकास समितिले निर्माण गरेको गाविस भवनवाट दैनिक कार्य सम्पादन गर्दै आईरहेको छ । यस डुङ्गेश्वर गाउँपालिकाले पनि विद्यालयको भवन हडपेको छ । साविकको डाँडापराजुल सिंगो गाविस हालको सिंगो वडा नं. ५ हो यसरी गाउँपालिकाले प्रयोग गर्दै आईरहेको भवनवाट वडा नं. ५ ले कार्य सम्पादन गर्नु पर्नेमा वडा नं. ५ पनि भाडाकै भवनमा छ ।
दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले जग्गा नहुँदा भवन बनाउन नसकिएको बताए । जग्गाको टुंगो लागेपछि मात्र भवन निर्माणको योजना बन्ने उनको भनाइ छ । यो गाउँपालिकाले कार्यालय भाडाबापत वार्षिक आठ लाख रुपैयाँ तिर्दै आएको छ । ‘गाउँपालिकाको केन्द्रमा गतिला घर छैनन्’, अध्यक्ष शाहीले भने, ‘जीर्ण घरबाटै गुजरा चलाइरहेका छौं, जग्गा भेटिएपछि आफ्नै भवन बनाउने सोच छ । कमिसनका लागि होइन, बाध्यताले भाडामा बसेका हौं ।’
यस्तै दैलेखका आठविस नगरपालिका, भैरवी गाउँपालिका, भगवतिमाई गाउँपालिका नौमूले गाउँपालिका, गुराँस गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकाले भाडाका साँघुरा र जिर्ण घरवाट कार्यसम्पादन गर्दा दैनिक कामकाजमा समस्या हुने गरेको कर्मचारीहरु वताउँछन् ।
एक स्थानीयले नाम नछाप्ने सर्तमा भने ‘गुराँस गाउँपालिका र नौमूले गाउँपालिकाका प्रशासनिक भवन गाउँपालिकाका अध्यक्षकै घरमा छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *