घटना रहस्यमय, जवाफ गैरजिम्मेवार, आफन्त जोगाउन नक्कली पत्र

मातृभूमी संवादाता । १९ भाद्र दैलेख
दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको प्रष्ट वुझिएको छ । जिल्ला समन्वय समिति दैलेखले नेपालगन्ज उपमहानगरपालिकालाई गाई उपलव्ध गराई दिनका लागी पठाएको पत्र र वाँके जिल्ला प्रसाशनले चौपाय व्यवस्थापनका लागी भनेर काटिएको पत्रमा एकै मिति हुनुले रातारात नक्कली पत्र तयार पारिएको प्रष्ट वुझिएको हो । यस घटनाको छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगन्ज उपमहानगरपालिकासँग गाई मगाएको नक्कली पत्र तयार पारेको वुझिएको हो ।
नेपालगन्ज उपमहानगरले आठवटा ट्रकमा पठाएका दुई सय ९१ वटा गाई गएको भाद्र १२ गते राति सुर्खेतको कटकुवा नजिक भीरबाट खसालिएका थिए । त्यहीक्रममा ४० वटा गाईगोरु मरेका थिए । यस्तै दर्जनौं गाईगोरु घाइते छन् । दैलेखको श्रीस्थान क्षेत्रबाट माग भएको भन्दै नेपालगन्ज उपमहानगरले ति गाईगोरु पठाएको थियो । दैलेखका सबै स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले यसअघि नै ति गाईगोरु आफूहरूले नमगाएको स्पष्ट पारिसकेका छन् । त्यतिन्जेल सम्म चुपचाप रहेको जिल्ला समन्वय समिति दैलेखले एकाएक गाई मगाएको पत्र वाहिरीएपछि घटना अन्तै मोड्न खोजिएको भन्दै संकाउपसंका श्रृजना भैरहेको छ ।
भदौ १३ गते बिहान सुर्खेतको कट्कुवामा भएको भनिएको ‘गौहत्या’ घटनामा सन्दर्भमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेललाई सजिलो पार्न जिल्ला समन्वय समिति दैलेखले पहिलेकै मितिमा गाई माग भएको पत्र लेखेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयरलाई सम्बोधन गरिएको पत्र गृह मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा गठित गौहत्या छानबिन समितिलाई नेपालगञ्ज पुगेको दिन मंगलबार जिसस दैलेखको यो पत्र बुझाएबाट त्यही दिन दैलेखबाट पत्र पठाइएको बुझिएको छ ।
एक स्थानीयले नाम नछाप्ने सर्तमा भने ‘जिल्ला समन्वय समितिले दैलेखले भाद्र ८ गते नेपालगन्ज उपमहानगरपालिकालाई पत्र लेखेको छ ।, पत्र कार्यालय समयमा लेखिएको हुनुपर्छ ।, यदि कार्यालय समयमा पत्र लेखिएको हो भने सोहि दिन वाँके प्रसाशनले कसरी पत्र काट्यो । यो रहस्यमय छ ।’ हुन पनि दैलेखवाट विहान १०÷११ वजे नेपालगन्जका लागी हिड्यो भने नेपालगन्ज वस तथा हाईसले झण्डै ५÷६ घण्टामा नेपालगन्ज पु¥याउँछ । ५÷६ घण्टामा नेपालगन्ज पुग्दा साँझको भण्डै ५÷६ वजे मात्रै पुगिन्छ अनि कसरी पत्र प्रसाशन कार्यालयमा पुग्यो र सोहि दिन अर्काे पत्र वन्यो । यो भने रहस्यकै गर्भमा छ । जिल्ला समन्वका निमित्त समन्वय अधिकारी पदम सापकोटाले पत्र ईमेल र हुलाक नभई सरोज थापा भन्ने व्यक्ति मार्फत पठाएको वताएका छन् ।
हाम्रो तेस्रोआँखाले यसवारेमा वुझ्दा निमित्त समन्वय अधिकारी सापकोटाले पत्र कसले लग्यो भन्ने विषयमा मित्र प्याकुरेलसँग वुझ्न भनेका छन् । पहिला निमित्त समन्वय अधिकारी सापकोटाले हामीसँग मित्र प्याकुरेलले वाईक पठाएर मान्छे पठाए अनी उनैले पत्र लगेर गाडीमा गएको वताए पनि हामीले निरन्तर फ्लोअप गर्दा उनले कतिखेर असोक थापाले लगेको हो, कतिखेर सरोज थापाले लगेको हो भन्ने जवाफ दिने गरेका थिए । हाम्रो टिम जिल्ला समन्वय समिति दैलेखमा पुग्दा उनले ओ.सी. (oc) मा नाम लेखेको छ । हेर्नुहोस् भनेपछि हामीले ओ.सी. (oc) मा हेर्दा सरोज थापाले पत्र वुझेको उल्लेख छ । तर सरोज थापा को हो ? कहाँ को हो ? उसको ठेगाना कहाँ हो ? मोवाईल नम्वर कति हो ? केहि पनि आफुहरुसँग नभएको भन्दै उनले गैरजिम्मेवार जवाफ दिएका थिए ।
तर घटनाको एक साता पुग्नै लाग्दा जिल्ला समन्वय समिति दैलेखले उपमहानगरसँग गाई मगाएको नक्कली पत्र तयार पारेपछि घटना थप रहस्यमय बनेको हो । नेपालगन्ज उपमहानगरले गठन गरेको छानबिन टोली दैलेख आई टोली फिर्ता भएपछि जिससले उपमहानगरसँग गाई मगाएको पत्र सार्वजनिक भएको हो । जिससको नाममा रातारात पत्र बनाएर गाई मगाइएको देखाएपछि दैलेखका स्थानीय तह पनि आश्चर्यमा परेका छन् । नेपालगन्जवाट गाई मगाएर दैलेखका धार्मिक स्थलहरु कोटिला, नाभिस्थान, श्रीस्थान, धुलेस्वर र पादुका लगाएत अन्य स्थानीय तहमा पाल्न लागी दिने भन्ने पत्रमा उल्लेख छ । तर कुनै पनि स्थानीय तह र मन्दिर व्यवस्थापन समितिसँग समन्वय नै नगरी सिधै गाई मगाएको पत्र सार्वजनिक गर्नु निकै रहस्यमय भएको एक जनप्रतिनिधीले वताए ।
घटनाको एक सातासम्म केही नबोलेको जिससले एकाएक गाई मगाइएको पत्र सार्वजनिक गरेपछि घटनामा मिलेमतो भएको स्थानीयको आरोप छ । यतिसम्म की गाई मगाइएको भन्ने पत्र सार्वजनिक भएपछि जिससका सदस्य र कर्मचारी नै आश्चर्यमा छन् । जिसस दैलेखले भदौ ८ गते उपमहानगरलाई गाई माग्दै पत्र पठाएको देखिन्छ । पत्रमा जिससका प्रमुख प्रेमबहादुर थापा र उपप्रमुख लक्ष्मीदेवी शाहको हस्ताक्षर छ । जबकी अरुबेलामा यस्ता पत्रमा जिल्ला समन्वय अधिकारीले हस्ताक्षर गरी पठाउँथे । तर यसमा प्रमुख र उपप्रमुख दुबैले हस्ताक्षर गरेकाले पनि यो पत्र रातारात तयार पारिएको
देखिन्छ ।
भदौ ६ गते मात्र जिससको बैठक बसेको थियो । उक्त बैठक र त्यसअघिका कुनै पनि बैठकमा नेपालगन्जबाट गाई मगाउनेबारे कुनै छलफल, प्रस्ताव र निर्णय नभएको जिसस सदस्य ललित माझीले बताए । उनले भने, ‘जिससको बैठकमा गाई ल्याउने एजेण्डामा छलफल भएकै थिएन, तर एक्कासी गाई मगाएको भन्ने पत्र सार्वजनिक भयो । खै हाम्रा प्रमुखले के गर्नुभएको हो, हामीलाई त थाहा छैन् ।’
जिससको पत्रमा नारायण नगरपालिका र अन्य स्थानीय तहमा व्यवसायिक गाईपालनका लागि गाई उपलब्ध गराउन भनिएको छ । तर नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्का भन्छन्, ‘हामीले गाई मागेकै थिएनौं, जिससले पनि हामीलाई जानकारी दिएको थिएन । एकाएक गाई ल्याउन किन खोजियो ?’ नाम नछाप्ने सर्तमा एक स्थानीयले भने ‘जिससले वनाएको जस्तै चिठ्ठि नारायण नगरपालिकालाई पनि वनाउन भनिएको थियो तर नगरपालिकाले सो कुरा नमानेको वुझिएको छ ।’ यस अघि नै नारायण नगरपालिकाले आफुहरुको कुनै संलग्नता नभएको भन्दै प्रेस विज्ञप्ती जारी गरिसकेको छ । जिससले गाई मगाएको भन्ने पत्र सार्वजनिक भएसँगै स्थानीय तहका पदाधिकारी र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले जिससका पदाधिकारीले व्यक्तिगत स्वार्थ पूरा गर्न नक्कली पत्र तयार पारेको आरोप लगाएका छन् ।

सवै पत्रको मिति एउटै

यो घटनासँग सम्बन्धित पत्रको मिति एकैदिन छ । जिसस दैलेख, नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेले एकैदिन पत्र काटेका छन् । जिसस दैलेखले भदौ ८ गते, नेपालगन्ज उपमहानगरपालिकालाई स्वच्छ र पाल्नयोग्य गाई उपलब्ध गराउन भन्दै पत्र काटेको छ । सोहीदिन नै उपमहानगरले जिल्ला प्रशासन कार्यालय बाँकेमा गाई जिल्लाबाहिर लैजान अनुमति मागेको छ । भदौ ८ गते जिल्ला प्रशासन बाँकेले पनि उपमहानगरलाई दैलेख गाई लैजान अनुमति दिएको छ । तीन वटै निकायको पत्र एकैदिन काट्नुले पनि घटना नियोजित भएको र जिसस दैलेखको पत्र नक्कली भएको स्थानीयको दाबी छ ।
अर्कोतर्फ जिसस दैलेखको चलानी पुस्तिकामा पनि शंका गर्ने ठाउँ छ । चलानी दर्तामा जिससले भदौ ८ गते नै उपमहानगरलाई पत्र पठाएको देखिन्छ । तर भदौ ११ गतेपछि ८ गतेका केही पत्र चलानी गरिएका छन् । भदौ ५ गतेसम्म क्रमिकरूपमा रहेको चलानी पुस्तिकामा भदौ ८ पछि चलानी भएका पत्रको दर्ता मिति तलमाथि गरी राखिएकाले पनि गाई मगाईको पत्र रातारात तयार गरेको पुष्टी हुने जिससकै एक कर्मचारीले बताए ।

जेठान बचाउन नक्कली पत्र

नेपालगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत हरि प्याकुरेललाई गौ हत्या प्रकरणबाट बचाउन उनकै आफ्नै जेठान दैलेख जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाले पत्र लेखेको आरोप लागेको छ । प्रदेश प्रहरी कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका, तथा गृह मन्त्रालयको छानविन समितिलाई प्रभावमा पारेर जेठान जोगाउन पत्र लेखिएको आरोप लागेको हो ।
प्रेम थापाले प्याकुरेलकी वहिनीलाई कान्छी श्रीमतीको रुपमा भित्राएका थिए । अहिले जेठानलाई बचाउन यस्तो प्रपञ्च रचिएको दैलेख बजारमा हल्ला चलिरहेको छ । गाई मरिसकेको केहि दिनपछि अर्थात १७ गते नेपालगञ्ज उपमहानगरपालिकाको छानविन टोली दैलेख पुगेको थियो । उक्त टोलीले जिल्ला समन्वय समितिसँग पनि छलफल गरेको थियो । टोली नेपालगञ्ज फकिएपछि उक्त पत्र सामाजिक सञ्जालमा १८ गते भाइरल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *