गौहत्या प्रकरण : प्रहरी निरीक्षक सहित दुईजना पक्राउ

मातृभूमी संवादाता । २० भाद्र दैलेख
सुर्खेतमा भएको गौहत्या प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । सुर्खेत प्रहरीले गौहत्याको घटनामा संलग्न रहेको भन्दै प्रहरी निरीक्षक सहित दुईजनालाई पक्राउ गरेको हो । बाँके प्रहरीको सहयोगमा उनीहरुलाई नेपालगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विक्की भनिने सत्रिप्तसिंह श्रेष्ठलाई पक्राउ गरिएको हो । उनीहरु दुबैलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको सुर्खेतका एसपी बसन्त रजौरेले जानकारी दिए ।
यही भदौ १२ गते नेपालगञ्ज उपमहानगरले दैलेख लैजाने भन्दै पठाइएका दुई सय ९१ वटा गाई–गोरु सुर्खेतमा भीरबाट खसालिएका थिए । भीरबाट खसालिएका कारण हालसम्म ४० वटा गाई मरेका छन् । यस्तै दर्जनौं गाई–गोरु घाइते भएका थिए । सोही घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका बोगटीको नेतृत्वमा नेपालगञ्ज नगर प्रहरीको टोलीले आठ वटा ट्रकमा छाडा गाई सुर्खेतमा ल्याएर अलपत्र छाडेको प्रहरीको भनाइ छ । यस्तै गाई ढुवानीमा संलग्न रहेको भन्दै चितवन ट्रान्सपोर्टका सञ्चालक श्रेष्ठलाई पक्राउ गरिएको हो ।
उनीहरु दुबैमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गौहत्या प्रकरणमा यसअघि सातजना पक्राउ परिसकेका छन् । गाई लोड गरिएका पाँचवटा ट्रक र तिनका चालक र सहचालक गरी सातजनालाई यसअघि नै पक्राउ गरिएको थियो ।
अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको देखिएकाले प्रहरी निरीक्षक बोगटी र ट्रान्सपोर्टका सञ्चालक श्रेष्ठलाई नेपालगञ्जबाट नियन्त्रणमा लिइएको एसपी रजौरेले बताए ।
उनले भने, ‘हालसम्म नौजना पक्राउ परेका छन्, घटनाको मसिनो गरी अनुसन्धान गरिरहेका छौँ । दोषी उम्कन पाउँदैनन् ।’ गाई ढुवानीमा प्रयोग भएका अरु तीनवटा ट्रकको खोजी भइरहेको प्रहरीको भनाइ छ । यस्तै गौहत्याको घटनामा छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन टोलीले दैलेख र सुर्खेतमा पनि स्थलगत अध्ययन गरेको छ ।
छानबिन टोलीले सुर्खेतमा भीरबाट गाई खसालिएको स्थान र दैलेखमा जिल्ला समन्वय समिति, नारायण नगरपालिका र अन्य सरोकारवालासँग पनि छलफल गरेको हो । यो घटनाको छानबिनका लागि मात्र तीन वटा समिति गठन भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय र यो घटनामा मुछिएको नेपालगञ्ज उपमहानगरपालिकाले पनि छुट्टाछुट्टै छानबिन समिति गठन गरेका हुन् । यी समितिहरुले पनि काम गरिरहेका छन् ।
यसअघि नेपालगञ्ज उपमहानगरले रातारात दैलेख लैजान लागिएका गाई सुर्खेतमा अलपत्र छाडिएपछि दैलेखका स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले आफूहरुले गाई नमगाएको बताइसकेका छन् ।
तर जिल्ला समन्वय समितिले रातारात नक्कली पत्र तयार पारेर गाई आफूले मगाएको दाबी गरेपछि घटना थप रहस्यमय बन्दैगएको छ । यस विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । सुर्खेतमा अलपत्र छाडिएका करिब दुई सय गाई नेपालगञ्ज नै फिर्ता गरिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!