सम्वन्धका ति आयाम

मोहन वन्जाडे
यी पनि उत्तर अर्घाखाँची र दक्षिण गुल्मीतिरका चालीस–पचास वर्षअघिका सम्झना हुन् । त्यो बेला जीवन कृषिमा आधारित भएकाले मानिसहरूबीच मूलतः कृषि सम्बन्ध थिए । गाउँमा अलिबढी खेतबारी हुनेको खेतबारीमा काम गर्न जाने चलन थियो । मौसम अनुसार हुने खेतीपातीमा गाउँलेले एकअर्कालाई सघाउँथे । खेतीपाती गर्दा कतै पर्म, कतै जिन्सी र कतै नगद र जिन्सी दुवैको चलन थियो । कसैकसैका घरमा दुई हलसम्म गोरु हुन्थे भने कसैका घरमा एक हल मात्र हुन्थे । कतै एउटा–एउटा गोरु पालेका हुन्थे र खेतीका बेला हल जोडेर आलोपालो खेतबारी जोत्ने–जोताउने गर्थे । एउटा गोरु पाल्नेलाई पाटे भने जस्तो लाग्छ । अलि हुनेखानेले गोरु किनेर कम खेतबारी र घरनजिक चौर हुनेलाई पाल्न दिन्थे ।
कसैको खेतबारी बाँझो राख्न दिनु हुँदैन भन्थे । खेती गर्दा जोत्ने, छेउकुना खन्ने र ठिगारे गर्ने काम पुरुषले गर्थे । बीउ काढ्ने र रोप्ने काम भने महिलाले गर्थे । खला वा बारीबाट अनाज, पराल, ढोड आदि बोक्ने काम दुवैले गर्थे । काम गर्न आउने भनी वचन दिएपछि वचन तोड्ने चलन थिएन । यसलाई ‘इमानजमान नछोड्ने’ भनिन्थ्यो । गाउँमा अधियाँमा खेत रोप्न दिने चलन पनि थियो । खेत रोप्ने काम आफ्नो खेत नहुनेले गर्थे। यसरी कृषि कार्य आपसी सम्बन्धको प्रत्यक्ष आयाम थियो । कृषि सम्बन्ध रोजगार मात्र थिएन, यो धर्म नै थियो । किनकि, खेतीकिसानीका बेला एकअर्कालाई सघाउनु पुण्य काम मानिन्थ्यो ।
पशुपालनका सम्बन्ध पनि सद्भावपूर्ण हुन्थे । अगाडि भनेजस्तै पाटेगोरु पाल्ने चलन छँदै थियो । पाको उमेरका वा विधवा र विधुरलाई बाख्रा किनेर पाल्न दिएको देखिन्थ्यो । पाल्न दिएका बाख्राको माउ पाल्न दिनेको हुन्थ्यो । पाठापाठी अधिया हुन्थे । यस्तै गाईभैंसी पाल्न दिने चलन थियो । गाईभैंसीका पाडीबाच्छी पनि अधिया हुन्थे । अधिया पशुपालन व्यवस्था एकअर्कालाई भरथेग गर्ने कुरा थियो ।
गाउँमा घर, गोठ, उरिम बनाउनेलाई कर्मी भनिन्थ्यो । कर्मी काठको काम गर्ने र गाह्रो (पर्खाल) को काम गर्ने गरी दुई किसिमका हुन्थे । त्यता सिकर्मी डकर्मी भनेको सुनिएन, कर्मी मात्र भनेको सुनियो । घरको सुर मिलाउने, सुरे ढुंगा काट्ने र झ्यालमा बुट्टा हाल्ने कर्मी अलि कम पाइन्थे र तिनको ज्याला अलि बढी हुन्थ्यो । घरगोठ खासगरी खर, टिन, ढुंगा (स्लेट) र झिँगटीले छाउने गर्थे । गोठ र कट्कुरा (दाउरा राख्ने सानो छाप्रो) सल्लीपिरलले छाएको पनि देखिन्थ्यो । घर छाउनेलाई मिस्त्री भनेको सुनिन्थ्यो । जुन थरको भए पनि त्यो बेला सीपको कदर भएको देखिन्थ्यो । यस्ता काम गर्दा निकै रमाइला हाँसीमजाक हुन्थे । पुराना लाहुरे भए तिनका कथा (बर्मा, नेफा आदिमा लडेका समेत) पनि सुनाउँथे । लडाइँ वा वीररसका कुरा लाहुरेले बडो अभिनयका साथ सुनाउने हुँदा सधैं उत्तिकै रमाइला लाग्थे ।
चाडपर्व र श्राद्ध आदिमा कुट्पिस गर्ने, बत्ती कात्ने र टपरी खुट्ने (गाँस्ने) काम अलिबढी गर्नुपथ्र्यो । प्रसाद बनाउन र रोटी पकाउन सिपालु महिलालाई बोलाउँथे । त्यस्तो समयमा महिला एकअर्काका घरमा गएर काम सघाउँथे । अलि टाढा घर हुनेहरू त्यहीं नै वास बस्थे । राति बसेर काम गर्दा सबाई भन्ने, कथा हाल्ने, गाउँखाने कथा भन्ने र भजन गाउने गर्थे ।
पूजाआजा, बिहे, व्रतबन्धमा जाँदा आफ्नो घरमा भएका तरकारी, फलफूल, दूध, कुराउनी आदि लिएर जाने चलन थियो । पूजामा जग्गे बनाउने, तोरण बाट्ने, खाना बनाउने, पाहुनापासाको रेखदेख गर्ने काममा प्रायः छिमेकी अघि सर्थे । कार्य हुने घरमा गएपछि मानिसहरू आआफैं सीपअनुसार काममा लाग्थे । अराउन खासै पर्दैनथ्यो ।
गाउँमा ठूला भाँडा सबैका घरमा हुन्नथ्यो । भोजभतेरका लागि उपयुक्त भाँडा हुनेका घरबाट मागेर काम चलाउने गरिन्थ्यो । भाँडा दिन्न भनेको र त्यसबापत भाडा मागेको थाहा भएन । जुठो निखारेर सफा गरी फिर्ता गरे पुग्थ्यो । गाउँमा मैन्टोल, बिहेको डाँडी वा उलिन काठ पनि मागेर काम चलाएको देखिन्थ्यो ।
गाउँमा लुगा सिलाउनेलाई सुजी, छालाको जुत्ता सिलाउनेलाई साँत, तामाको भाँडा बनाउनेलाई टोंटा र आरनको काम गर्नेलाई आरने, भारी बोक्नेलाई भरिया, खातीपातीमा हिँड्नेलाई खेतारा (खेताला) भनेको सुनिन्थ्यो । तर बोलीचालीमा भने ठाउँको नाम लिएर जेठा, माहिला, साहिँला, कान्छा (जस्तैः डाँडाघरे, पल्ला खर्के आदि) भन्ने चलन थियो । नेवार प्रायः व्यापारी हुन्थे र तिनलाई साहु भन्थे । बाहुनहरूलाई पन्नित (पण्डित), गुरु, पुरेत, वेदहा र क्षत्रीलाई काजी, बाउसाब भन्थे । मगरहरूलाई तिनको थर र जेठा, माहिला के हो त्यो जोडेर भनेको (जस्तैः सारु ठूला) सुनिन्थ्यो । महिलालाई माइती ठाउँसँग जोडेर जेठी, माहिली आदि भन्दै सम्बोधन गरेको पाइन्थ्यो । धेरैलाई धेरैको नाम नै थाहा हुन्नथ्यो ।
नामको पछाडि जुनसुकै थर भए पनि पाको उमेरकालाई बा र आफूभन्दा केही बढी उमेरकालाई दाइ भन्थे । काकाकाकी भनेको सुनिएन, जेठा बा, माहिला बा भन्थे । अर्को थरमा मीत र सैना लाउने व्यापक चलनले सम्बन्ध निकै नजिक्याएको देखिन्थ्यो । काम पर्दा मीत र सैना हाजिर भएको देखिन्थ्यो ।
बिहे आदि सामाजिक काममा सबै समुदायका मानिसको भूमिका देखिन्थ्यो । लुगा सिउन र बाजा बजाउन सुजीहरू, गाग्री, ताउला, पाला, अम्खोरा, बनाउन टोटा, जुत्ता सिउन साँत, बन्दुक पड्काउन क्षत्री, गहना बनाउन सुनार र कपडा किन्न नेवार र पूजा गराउन बाहुन प्रयोग भएको देखिन्थ्यो । अर्थात् सामाजिक र मांगलिक काम गर्दा–गराउँदा समाजका सबैजसो मानिसका पेसा प्रयोगमा आउँथे । अरू काम छाडेर पनि यस्ता काममा सबैले सहयोग गर्थे । समाज एक किसिमको अन्तरनिर्भरताबाट चलेको थियो ।
कोटमा हरेक साँझ सुजीहरूले दमाहा बजाउँथे । तीज र दसैंमा सुजीहरूलाई लुगा सिउन भ्याइनभ्याई हुन्थ्यो । सिरक, डसना र सिरानीका खोल सिउने (तग्ने) र पुराना लुगा टाल्ने, तुना गाँस्ने र फुड्किला (टाँकको सट्टा प्रयोग हुने कपडाबाट बनेको) बनाउने र फुड्किलाको घर (हालको टाँक घर) बनाउने काम सुजिनीहरू गर्थे । सुजीका उमेर पुग्दै गरेका छोराहरूले छेक्ने (नाप लिने) र ससाना लुगा सिउन कल चलाउने गर्थे।गाउँमा स्कुल खोलेपछि मास्टरजीहरू घरघर गएर बच्चा पढ्न पठाइदिन प¥यो भन्थे । गाउँका प्रायः मास्टरजी बनारसतिर पढेका हुन्थे । तिनीहरू पूजापाठ, बिहे, व्रतबन्ध लगायतका काममा पनि संलग्न हुने हुँदा तिनको मानमनितो हुन्थ्यो । त्यसैले गाउँलेहरू घाँसदाउरा गर्ने, गोठालो जाने आदि काम छाड्न लगाएर पनि केटाकेटीलाई स्कुल पठाउन तयार हुन्थे ।
केटाकेटी पढ्न गएपछि पनि केही समयपछि स्कुल आउन छाडेको पाइन्थ्यो । त्यस्तोमा मास्टरजीहरू आमाबुवालाई फेरि सम्झाउन जान्थे । यसरी जाँदा पढ्दै गरेका केही बच्चालाई पनि लगेको देखिन्थ्यो । आफू पढेलेखेको नभएर चिठी बाच्न नसकेको, चिठी बाच्न अर्काका घरमा जानुपरेको, पढेपछि सन्तान पनि बन्न सक्ने, पढेका मान्छेलाई अरूले ठग्न र हेप्न नसक्ने आदि भनेर सम्झाएको सुनिन्थ्यो । त्यसो गर्दा पनि नमाने फी माफ र कापी–किताब किन्न पर्दैन पठाइदिनू नत्र सन्तानले ठूला भएपछि सराप्लान् भनेर पनि सम्झाउँथे । गाउँमा त्यसबेला कसको स्कुलमा धेरै विद्यार्थी हुने भन्ने प्रतिस्पर्धा जस्तो नै हुन्थ्यो । त्यसबेला पढेलेखेका मानिसमा गाउँका सबै केटाकेटीलाई स्कुल पठाउन प्रेरित गर्ने चलन थियो । ‘ए तेरा छोराछोरीलाई त स्कुल पठाएको छैनस् रे किन नपठाको ? ’ भन्दै सोध्ने गरेको पनि सुनिन्थ्यो । केही दुकानदार र भद्र–भलाद्मीले होल फस्ट (स्कुल भरमा धेरै प्रतिशत ल्याउने) र कक्षामा प्रथम हुनेलाई कापीकलमको पुरस्कार दिन सहयोग गरेको पनि पाइन्थ्यो ।
दसैंका बेलामा मानिसहरू बाटोघाटो बनाउन र मर्मत गर्न जुट्थे । सबै मिलेर डहर सफा गर्ने, भल काट्ने गर्थे । कोट र मन्दिर सरसफाइ गर्थे । उतिबेला सामाजिक काम गर्न तँछाडमछाड नै हुन्थ्यो । पसलेले खुदेपानी खुवाउँथे । कसैकसैले अर्नी (खाजा) खुवाउँथे । विश्व खाद्य कार्यक्रमको चामल जानूपूर्व आफ्नो बाटो आफैं खन्ने चलन थियो । आफैंले आफ्नो बाटो खन्ने बेलाको भावना र भीड चामलले बढाउन सकेन । अरूले सित्तै दिएको खान नचाहने र घरमा खान पुग्नेहरू चामल वितरणपछि सामेल हुन छाडे । चामलले दाना त दियो तर भावना छिन्यो । मानिसहरू घरको आटोपिठो खाएर सामाजिक काम गर्न जति उत्साहित थिए, सित्तैको चामल पाएर त्यति खुसी थिएनन् । त्यसबेला अर्काको र सित्तैको नखाने भावना प्रबल थियो जस्तो लाग्छ ।
साउने संक्रान्तिपछि तीजका गीत गाउने मेलो खुल्थ्यो । जुन घरमा तीजका गीत गाउने हुन्, साँझदेखि नै मादल बजेको सुनिन्थ्यो । तीजमा पाको उमेरका महिलाले लामो भाकाका, धार्मिक, विरह र भोगेका कुरालाई गीत बनाएर गाउँथे । तीनतारा त्यहाँ पुगेछन् वा ध्रुवतारा त्यहाँ पुगेछ भन्दै उनीहरू सुत्न गएपछि युवतीहरू छिटा र चुट्के गीत गाउँथे । ठिटाहरू लाइट बाल्दै त्यहाँ पुगेका हुन्थे । मादल प्रायः पुरुषहरू बजाउँथे । केही अबेरसम्म नाचगान गरेपछि लाइट लिएर गएका पुरुषहरूले नातेदार र नजिकका महिला घरघर पु¥याउँथे । वरपरका मानिस जम्मा भएर गीत गाउने र नाच्ने काम तीजको पञ्चमीसम्म नै चल्थ्यो ।
तीज र पञ्चमीका दिन कोट, मन्दिर र खुला चौरमा तीजको गीत गाउने मेला लाग्थ्यो । मेलामा जुल्पी (जेरी) खान पाइन्थ्यो र व्यापार पनि चल्थ्यो । मेलामा नाच्न र गाउन जान्ने र रुचि हुने सबै महिला सम्मिलित हुन्थे । तीजमा पनि पिङ हालेको देखिन्थ्यो । नेवार बस्तीमा गाईजात्रा मनाइन्थ्यो । त्यसबेला उनीहरूले आफ्ना घरका बार्दलीमा गाउँका पाको उमेरका अरू मानिस बसेर हेर्ने व्यवस्था गरेका हुन्थे । बाटोबाटोमा रोपाइँ नाचेको निकै रमाइलो हुन्थ्यो । लाखे नाचलाई हिम्पई भनेको पनि सुनिन्थ्यो ।
तिहार अति रमाइलो पर्व हुन्थ्यो । तिहार दिदीबहिनीका हातबाट टीका लगाउने पर्व मात्र थिएन, गाउँगाउँमा नाच हुन्थे । मारुनी र पुर्सुङ्गे भएर घरघरमा नाच लिएर जान्थे । चलेका वा राम्रा मारुनी नाच बोलाएर नाच्न लगाउने चलन थियो । नाच हुने समयमा मानिस दलान, आँगन र ढिकमा बसेर हेर्ने गर्थे । राति हुने नाच हेर्न लाइट बालेर हिँड्थे । तिहारमा टीकामार्फत घरको र देउसरी (देउसी) भैलो र नाचमार्फत गाउँको सम्बन्ध प्रगाढ हुन्थ्यो । देउसी, भैलो र नाचको पैसाले मंसिरमा खाजा खाने र बाजा र नाचका लागि चाहिने सामग्री किन्ने गर्थे ।
त्यसबेला लाहुर जाने भन्ने चलन थियो । एक्कासि आफूले चिनेका अलिबढी उमेरका ठिटाहरू लाहुर गए अरे भन्ने सुनिन्थ्यो । आसामतिर गाई पाल्न गएकाले बोलाएर गएको, पहिले गएर कामधाममा लागेकाले बोलाएर गएको, घरमा नभनी भागेर गएको जस्ता कुरा सुनिन्थ्यो । लाहुर जानेले गाउँबाट सरसापट खोजेर वा ब्याजमा रकम लिएर जान्थे । एकदुई वर्षमा फर्कंदा गाउँमा उपहार पनि दिन्थे । प्रायः लाहुरेसँग रेडियो र घडी हुन्थ्यो । बास्ना आउने तेल लगाएका हुन्थे । ल्वाङ, सुकुमेल चपाउँदै हिँड्थे । लाहुरेहरू प्रायः दसैंका बेलामा घर फर्कन्थे । काठमाडौंतिर पढ्ने विद्यार्थीलाई तानसेनदेखि लाहुरेका गफ सुन्दै बाटो काट्न औधि रमाइलो हुन्थ्यो ।
गाउँमा त्यसबेला नगद त्यति धेरै हुँदैनथ्यो । पसलमा वही लेखेर (धारो) कपडा, नुन, मट्टीतेल आदि किन्थे । लाहुरेहरू गाउँमा आएपछि पैसाको मुख देख्न पाइन्छ भन्ने गरेको सुनिन्थ्यो । ऋण लिएर गएका लाहुरेले श्रीपञ्चमीमा ऋण चुकाउने गर्थे । आफू आउन नपाउनेले अरूमार्फत पनि पैसा पठाउँथे । लाहुरेका कारण गाउँमा दसैं र श्रीपञ्चमीमा अलिबढी नगद चल्थ्यो । लाहुरे आएपछि गाईभैंसी बाख्रा आदिको व्यापार चल्थ्यो । कमाइअनुसार उनीहरूले खर्यान (खरबारी), बारी र खेत पनि किन्थे ।
गाउँमा त्यसबेला खेतबारी, खर्यान भोगबन्धकी लिनेदिने चलन थियो । दृष्टिबन्धक राखेर, बही वा कपाली तमसुक लेखेर ऋण लिएको भन्ने पनि सुनिन्थ्यो । ऋण खासगरी खेतबारी खर्यान भैंसी किन्न लिने गरेको सुनिन्थ्यो । व्यापारीले पनि ऋण लिएर बाना मिलाउने गरी सामान राख्थे । जुवाडेलाई ऋण दिनु हुँदैन भन्थे । फलानाले खेत किन्न लगेको ऋण बाटैमा जुवा खेलेर फालेछ भन्ने पनि सुनिन्थ्यो ।
गाउँमा मानिसहरूले रक्सी खाएर होहल्ला गरेको सुनिँदैन्थ्यो । दसैं र तिहार तथा राम हेर्न जाँदा भने केही मानिसहरू ठुस्स गनाएको थाहा हुन्थ्यो । पसलमा रक्सी बेचेको देखिँदैनथ्यो । आफूले खान कसैकसैले रक्सी पार्छन् भन्थे । त्यसैले खान दिनेले पनि अड्कलेर खान दिने हुँदा होहल्ला, कुटपिट भएको सुनिँदैनथ्यो । अलिपछि गाउँमा ठेक्काको रक्सीपसल खुलेको देखिन्थ्यो । ती पसल खुल्दाको सुरुका दिनमा मानिसहरू रक्सीपसलको बाटो हिँड्दैनथे । हिँड्नै परे त्यता नहेरी हिँड्नु भनेको पनि सुनिन्थ्यो । पछि एउटा गाउँमा अर्को गाउँबाट आएका एकाथरी मास्टरले रक्सी खाने गरेका कुरा सुनिन्थे । एसएलसी फेल भएर घर बसेका विद्यार्थीलाई त्यस्ता मास्टरले बिगारे पनि भन्थे ।
गाउँघरमा अपराध भएको खासै सुनिन्नथ्यो । मानिसहरू आ–आफ्नै दुःखजिलो गर्ने भन्थे । मेलापर्वका ससाना खुसीमा रमाउँथे । तीज, दसैं, तिहार, फागु, गाईजात्रा निकै रमाइला हुन्थे । मानिसहरू निकै रमाइलो मानेर चाडपर्वमा सरिक भएको देखिन्थ्यो ।
त्यसबेला मानिसहरू गरी (काम गरेर) खानुपर्ने, सहयोग गर्नुपर्ने, कुभलो चिताउन नहुने, अर्काको खान नहुने, सित्तैको लिन नहुने र सक्नेले दान दिनुपर्ने भन्थे । मेला, पर्व र सामाजिक एवं सांस्कृतिक कार्यमा सहयोग गर्न अघि सर्थे । गाउँमा स्कुल, पोखरी, बाटाघाटा, चौपारी, सत्तल, पाटीपौवा बनाउन गच्छेअनुसार दान (धन वा श्रम) दिने गर्थे ।
वैद्यले ओखतीको पैसा माग्दैनथे । सुरुमा गुरुहरूले ज्याला, तलब खोज्दैनथे । बाँडचुँड, ऐचोपैंचो र पर्मले गर्जो टरिहाल्छ भन्थे । त्यसबेला पेसा, श्रम, लेनदेन, चाडपर्व, रामरमिता, संस्कृति, धर्म, सेवा र दानमार्फत पारिवारिक र सामाजिक सम्बन्ध कायम थिए । पछि गाउँमा ‘मतभेद’ छि¥यो रे भन्ने सुनियो । अलिपछि ‘मनभेद’ छि¥यो रे भन्न थाले । अचेल गाउँको सञ्चोबिसञ्चो कस्तो छ कुन्नि ? (अन्नपुर्णपोष्टवाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!