नौमूलेमा संविधान दिवस भव्यताका साथ मनाइयो

मातृभूमी संवादाता । ४ भाद्र दैलेख
नौमूले गाउँपालिकामा चौथो संविधान दिवस भव्यताकासाथ मनाइएको छ । ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्सोल्लासका साथ मनाऔं, घर–घरमा राष्ट्रिय झण्डा फहराऔं घर–घरमा दिपावली मनाऔं’ भन्ने नाराका साथ नौमूले गाउँपालिकाको आयोजनमा चौथो संविधान दिवस भव्यताकासाथ मनाइएको हो ।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा वोल्दै काँग्रेस नेता तथा पूर्व संविधानसभा सदस्य राजिव विक्रम शाहले संविधान जारी भएको यो दिन सवैको दिन सवै दलको दिन भएकाले यसलाई देशभर हर्सोल्लासका साथ मनाइएको वताए । देशका लागि संविधानलाई वचाउन सफल वनाउन सवै एकवद्ध हुन जरुरी रहेको नेता शाहले वताए ।
पूर्व स्थानीय विकास राज्यमन्त्री गणेशबहादुर खड्काले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै संविधानको रक्षा गर्नु आम नेपाली जनताको दायित्व भएको बताए । पूर्व स्थानीय विकास राज्यमन्त्री खड्काले संविधानको रक्षा गर्दै मुलुकको आर्थिक सामाजिक विकास गर्न सवैं एक भएर लाग्न आग्रह गरेका छन् ।
दिवसको अवसरमा आयोजित कार्यक्रमको स्वागत मन्तव्य राख्दै नौमूले गाउँपालिकाकी उपाध्यक्ष अमृता सिंहले यो संविधानले सवैलाई समेटेको वताउँदै संविधानको पालना गर्न सवैको दायित्व रहेको औंल्याइन् । कार्यक्रमका सभपाति तथा नौमूले गाउँपालिकाका अध्यक्ष भदे वुढा मगर (भविराम)ले नेपालमा जारी गरिएको संविधान कुनै पार्टी व्यक्तिको नभई सम्र्पूण आम नेपाली जनताको भएकाले यसको संरक्षको दायित्व सवैको भएको वताए । सवैको एकतामा यसलाई सफल बनाउन जरुरी देखिएकाले सवैको एकता पनि आवश्यक रहेको उनले बताए ।
देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२“लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो । संविधान दिवस संविधान जारी भएको दिनको सम्झनामा मनाइने दिवस हो । नेपालमा हालसम्म विभिन्न समयमा गरी ६ वटा संविधानहरू लागू भएका छन् । त्यस अनुसार नै संविधान दिवस मनाइएको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *